|

काठमाडौं : उपक्षेत्रीय क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सन् २०१७ मा आयोजना नहुने भएको छ। बिमस्टेक शिखर सम्मेलनको आयोजक मुलुक नेपालले आन्तरिक राजनीतिक परिस्थितिअनुकूल नरहेको कारण देखाउँदै बिमस्टेक शिखर सम्मेलन तत्काल गर्न नसकिने जवाफ दिएको छ।

बिमस्टेकका विदेशमन्त्रीको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल यतिबेला प्रान्तीय र संसदीय चुनावको तयारीमा व्यस्त रहेकाले बिमस्टेकको शिखर सम्मेलन तयारी गर्न समय अपुग हुने जानकारी गराएका हुन्।

नेपालले शिखर सम्मेलन आयोजना गर्न असमर्थता जनाएपछि बिमस्टेक मन्त्रीस्तरीय बैठकको निर्णयमा नेपालले बिमस्टेकको चौथो शिखर सम्मेलन सदस्य राष्ट्रसँग सल्लाह गरी सबै सदस्य राष्ट्रलाई अनुकूल हुने मिति नेपालले प्रस्ताव गर्ने उल्लेख छ। यद्यपि, अघिल्लो साता मात्रै परराष्ट्रमन्त्री महराले बैठकमा नेपालले चौथो शिखर सम्मेलन आयोजनाको मिति प्रस्ताव गर्ने बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि मन्त्री महराले शुक्रबारको बिमस्टेक मन्त्रीस्तरीय बैठकमा सन् २०१७ भित्र बिमस्टेक शिखर सम्मेलन आयोजना गर्न नसकिने बताएका हुन्। ‘माघभित्र दुईवटा महत्ववपूर्ण चुनावको गृहकार्यमा छौं। संविधान कार्यान्वयन गर्न यी दुई चुनाव तोकिएकै मितिमा गर्नुपर्ने हाम्रो बाध्यता छ', महराले विदेशमन्त्रीहरूसँग भने।

बैठकका निर्णय जानकारी दिन परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले नेपालले सन् २०१७ भित्र शिखर सम्मेलन आयोजना गर्न नसक्नुको बाध्यता सदस्य मुलुकलाई गराएको जानकारी दिए।

‘दुईवटा चुनावको तयारीमा नेपाल व्यस्त हुनुपर्नेछ। हाम्रो यो बाध्यताबारे बिमस्टेक सदस्य मुलुकलाई अवगत गराइएको छ', महराले भने। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बिमस्टेक सन् २०१७ भित्र हुन नसक्ने परिस्थितिका पछि अन्य सहायक कारण पनि खुलाए। उनका अनुसार प्रधानमन्त्री देउवा भारतपछि संयुक्त राष्ट्रसंघीय महासभा र चीन भ्रमणमा जाने योजनामा रहेको र ती उच्चस्तरीय भ्रमण तयारीमा परराष्ट्र मन्त्रालयलगायत सरकारी एजेन्सी व्यस्त हुने हुँदा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्न सम्भव नदेखिएको हो।

‘त्यसका अलावा दसैं, तिहारजस्ता ठूला चाडबाडमा सरकारी विदा पर्छन्। जसले गर्दा हामीसँग बिमस्टेक शिखर सम्मेलन तयारीका लागि समय नै हुने देखिएन', उनले भने। तीन वर्षअघि बिमस्टेकको अध्यक्षता ग्रहण गरेयता बिमस्टेक शिखर सम्मेलन गर्न नेपालले असमर्थता जनाएको यो दोस्रो पटक हो। नेपालले पहिलोपटक सन् २०१६ भित्रै बिमस्टेक शिखर सम्मेलन आयोजना प्रतिबद्धता बिमस्टेक सदस्य मुलुकसँग गरेको थियो।

संविधान जारी भएपछि उत्पन्न संकट, भारतीय नाकाबन्दी र भूकम्पपछिको पुनर्निर्माणमा व्यस्त हुनुपरेको जनाउँदै नेपालले सन् २०१६ का प्रस्तावित बिमस्टेक बैठक सन् २०१७ का लागि सार्ने निर्णय लिएको थियो। सन् २०१७ भित्र बिमस्टेक बैठक आयोजना गर्ने तयारी गरेको सरकारले बताउँदै आएको थियो। सरकारले २०७४-२०७५ को बजेटमा पुसभित्र बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो। बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.