|

काठमाडौँ: बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशनको २१औँ दिनमा उनको समर्थनमा सडकमा उर्लेकाहरू नेताका निवासमा प्रदर्शन गर्न थालेका छन्। यसै क्रममा आइतबार शिक्षण अस्पतालका चिकित्सक, रेजिडेन्ट डाक्टर तथा विद्यार्थीहरूले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले शिक्षण अस्पताल महाराजगञ्जदेख लाजिम्पाटसम्म डा. केसीको समर्थनमा विभिन्न नारा लगाउँदै प्रदर्शन गर्दै र्‍याली निकालेका थिए। उनीहरूले 'कान खोली सुन, ओली देउवा प्रचण्ड : तिम्रो माफिया मोहले देश हुन्न सम्पन्न', 'माफियाहरू देश घेर्दै : ६०१ के हेर्दै?', 'भ्रष्टाचारको अन्त्य गरौँ : सदाचारको सुरुवात गरौं', 'सर्वसाधारण जनताका छोराछोरीले मेडिकल शिक्षामा पहुँच पाउनुपर्छ'लगायतका नारा लगाएका थिए।

आफ्नो निवासमा र्‍यालीसहित प्रदर्शनमा आएका चिकित्सक र विद्यार्थीलगायत डा. केसीका समर्थकसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू सधैँ डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका थिए। 'काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ', उनले भने, 'यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ।'

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा डा. केसीले उठाएका माग सम्बोधन गर्न सकारात्मक पहल गरेको तर कानुनी र प्रशासनिक जटिलताका कारण पूरा गर्न नसकेको बताए। उनले भने, 'अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्नुपर्छ र अनसन तोडाउनुपर्छ। आज (आइतबार) नै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर अनसन तोडाउन पहल गर्छु।'

प्रदर्शनकारीको प्रतिनिधिमण्डलले माओवादी अध्यक्ष प्रचण्डलाई डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनसन तोडाउन पहल गर्न आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.