|

बाँकेः पूर्व–पश्चिम राजमार्गको कोहलपुर–लमही सडक खण्डमा यातायात सेवा सुचारु हुन नसक्दा सयौँ यात्रु दुई दिनदेखि अलपत्र छन्। उक्त सडक खण्डको खोलामा रहेका दुईवटा पुलमा बाढीले क्षति पुर्‍याएको छ। खोलामा पानीको सतह कम नभएका कारण डाइभर्सन बनाउन नसकेपछि अवरुद्ध यातायात सेवा सुचारु नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

डाइभर्सनका लागि टोली परिचालन भए पनि खोलामा पानीको सतह नघटेकाले संभव हुन नसकेको बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए। उनले सशस्त्र प्रहरीको टोली डाइभर्सन निर्माणका लागि खटिए पनि बाढीका कारण रोकिएको बताए। ‘काम तीव्र गतिमा भइरहेको छ, पानीको बहाव कम भए सोमबार बिहानसम्म यातायात सुचारु हुनेछ’, उनले भने। 

बिरामीलाई उपचारमा समस्या
सडक अवरुद्ध भएपछि सयौँ यातायातका साधन बीच बाटोमै अलपत्र परेका छन्। समयमा डाइभर्सनको काम नभएका कारण बिरामी उपचार सेवाबाट समेत बञ्चित भएका छन्। दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठानलगायत जिल्लाका बिरामीहरू समेत बीच बाटोमै रोकिएका छन्।

बिरामी र अशक्तलाई प्रहरीले खोला पार गर्न सहयोग गरिरहेका छन्। बिरामी र अशक्तलाई खोला पार गराएर प्रहरीले उपचारमा सहयोग गर्दै आएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए। 

कोहलपुर-सुर्खेत सडक खण्ड भने आइतबार बेलुकीबाट सुचारु भएको छ। स्काभेटरको सहायताले पहिरो हटाएपछि बेलुकाबाट सडक सुचारु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.