दमक : शुक्रबार राति रतुवा खोलाले घर खेत बगाउँदा कमल गाउँपालिका ७ झर्काका ७५ वर्षका थातर धिमालले १७ वर्षअघिको घटना सम्झिए। २०५७ साउन १९ गते राति यसरी नै गाउँमा रतुवा खोला पसेर घर छोडेर भाग्न बाध्य भएका थिए उनी। त्यतिबेला उनको घर तत्कालिन कोभरा गाविसमा पर्थ्यो।
त्यसबेला पनि एक विगाह खेती बगाएर उनलाई खोलाले सुकुम्बासी बनाएको थियो। ‘खोलाले यसरी नै धान बगाएर लग्यो, अनि म सुकुम्बासी भएँ’ उनी भन्छन्,‘ पछि छोराले दुख गरेर एक कठ्ठा जग्गा किनेको थियो यो पनि खोलाले बगायो।’
यतिबेला उनी गौरादह ५ को जनता माध्यमिक विद्यालयमा शरण लिएर बसिरहेका छन्। धिमाल भन्छन्,‘२०५७ सालमा हामी खोला आउँदा भागेर डाँडामा गएर बसेका थियौं, पछि लुथरन भन्ने संस्थाले पाडाजुँगी मास्तिर पेल्टिमारी मालग्यो र पाल टाँगेर सबै बाढी पीडितलाई राख्यो।’ उनी त्यहाँ ५ दिन बसेपछि गाउँमा फर्के र अर्काको अधियाँ कमाउन थाले। उनी भन्छन्,‘ यस पटक पनि त्यस्तै भयो खोला यहाँसम्म आउँछ भनेर सोचेका पनि थिएनौँ, करिब एक किलो मिटर जति खोला पूर्व धार परिवर्तन गरेर आयो धन्न बाँच्यौं।' धिमाल ५ जनाका परिवारसहित राति नै उक्त विद्यालयमा आउन सफल भए। भन्छन्,‘ छोरा, बुहारी, दुईजना साना नानी र म रातिनै यहाँ आयौं, राती ११ बजे सुत्न मात्र लागेका थियौं खोलो गड्केर आयो।’
धिमालसहित गौरादह ५ स्थित बालुबथानका करिब एक सय घर बाढी पीडितसंगै जनता माध्यमिक विद्यालयमा बस्दै आएका छन्। रतुवा खोलाले नै पिडित बनेकी गौरादह ५ कि धनमायाँ लावती, ७१ लाई यत्रो बाढी आएको खासै सम्झना छैन। २०५७ सालमा अलि अलि आफ्नो खेतमा पानी आए पनि खेत भने बगाएको थिएन। उनी भन्छिन्,‘ अहिलेसम्म त यत्रो खोला आएको थाहा छैन, २०५७ सालमा आएको थियो तर त्यतिबेला खेत बगाएन, एक वर्षलाई खान पुग्छ भनेर लगाएको एक विगाहको खेत पनि लग्यो अब के खाने?’
२०५७ सालको बाढीमा पीडित बनेकालाई उद्दार गर्न आफू पनि गएको उनलाई सम्झना छ। 'त्यतिबेला पल्लो गाउँ डुबानमा परेको थियो, हामी पनि मान्छे निकाल्न गएका थियौँ, अहिले आफै परियो’ उनले भनिन्।
शुक्रबार राति त उनलाई अब खोलाले बगाउँला जस्तै लागेको थियो। ‘राति १० बजेसम्म टीभी हेरेर सुत्यौं, राति एकैचोटी हिलो गन्हायो, उठेर हेर्दा बाढीले घरको भुईँतला भरिएको रहेछ, बाहिर पनि निक्लन सक्ने अवस्था थिएन मरियो जस्तो लागेको थियो’, उनी भन्छिन्,‘ तर शनिबार दिउँसो गाउँका केटाहरु आएर हामीलाई बोकेर निकाले।’
उनले सरकारले राहत दिएमा खान पाउने नभए भोकै बस्ने अवस्था रहेको बताइन्। धनमायाले भनिन्,‘ हामीसंग भएको खाने कुरा सबै बगायो, एक वर्षका लागि भनेको खेत पनि बगायो अब सरकारले खाना दिए भने बाँचिन्छ होला नभए के हुने हो, काम गरौँ भने पनि सकिदैन।’
२०५७ सालमा खोला ठूलो आए पनि अहिलेको जस्तो ठूलो पानी चाहिँ नआएको गौरादह ५ कै रणबहादुर खत्री, ८४ बताउँछन्। उनी भन्छन्,‘ त्यतिबेला खोलाले क्षति चाहिँ पुर्याएको हो, तर अहिले जस्तो ठूलो पनि चाहिँ आएन, त्यतिबेला पहाडमा पनि आएर खोला आएको थियो, पानी नआएकाले घरमा क्षति भएपनि बाहिर बस्न सजिलै थियो, अहिले तर लगातार पानी आइरहेकाले स्कुलमा बस्न पानी गाह्रो छ।’
पहिला भन्दा अहिले त केही राहत पनि पाउन थालिएको गौरादह ५ बालुबथानकै मनबहादुर भण्डारी, ७० को बुझाइ छ। उनी भन्छन्,‘ अहिले पानी परिरहेकाले खासै कोही आएका छैनन्, तर पहिलाको जस्तो जमाना छैन, प्रविधिका कारण धेरै टाढासम्म पनि थाहा हुन्छ र राहत दिन आउँछन्, पहिला त सरकारी टोलीले मात्र दिन्थ्यो त्यो पनि एक छाकलाई पुग्ने मात्र।’
भण्डारीले आफूहरुले पटक–पटक खोलाको बाढीको पीडा खपेकाले अब सरकारले खोलामा दह्रो तटबन्ध बनाउनुपर्ने बताए। उनले भने,‘पटक पटक हाम्रो खेत खोलाले बगाएको छ, अब सरकारले छिटो तठबन्ध गरिदिनुपर्छ।’
गौरादह ५ बालुबथानका बाढी पीडितहरुले आफ्नो पशु चौपाया पनि जनता माध्यमिक विद्याललयमा ल्याएर राखेका छन्। आइतबार वर्षा रोकिएपछि पशु चौपायालाई उक्त विद्यालयसम्म ल्याएर राखिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।