काठमाडौं : लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएका वन्यजन्तु समेत मरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तु बाढी र डुबानका कारण मरेको जानकारी दिए।
चितवनमा एकसिङ्गै गैंडाको दुई वर्षको बच्चालाई नारायणी नदीले बगाएपछि मृत्यु भएको छ भने बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रका तीन दर्जनभन्दा बढी कृष्णसारलई बाढीले बगाएको छ। चिवनमा नारायणी र राप्ती नदीमा आएको बाढीले अझ बढी वन्यजन्तु मरेको हुन सक्ने विभागले अनुमान गरेको छ।
बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र जान सक्ने अवस्था नरहेकाले त्यहाँभित्र कति वन्यजन्तु मरे भन्न सक्ने अवस्था अझै नरहेको निकुञ्जका अधिकारीहरूले बताए। चितवनमा दर्जनौं मृग, हरिण, जरायो, बँदेल लगायतका वन्यजन्तु बगाएर मरेका हुन सक्ने आशङ्का गरिएको छ। सौराहामा डुबान हुँदा हात्तीसारका हात्तीलाई पनि सुरक्षित स्थानतर्फ लगिएको छ।
कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोत्तम शर्माले बाढीले ३० देखि ४० वटा कृष्णसार बगाएको जानकारी दिए। त्यहाँ दुई सय ७५ वटा कृष्णसार रेकर्ड गरिएको थियो। बाढीले बगाउनु केही दिनअघि त्यहाँ चितुवाले तीन वटा कृष्णसार खाएको थियो। कृष्णसार नेपालको संरक्षित जनावर हो भने यो जनावर नेपालको बर्दियामा मात्र संरक्षण गररे राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।