राष्ट्रपति जाने कार्यक्रम स्थगन, पुष्पवृष्टि पनि नगरिने

|

विराटनगर : श्रीकृष्णजन्माष्टमीको अवसरमा हरेक वर्ष विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको रुट परिवर्तन गरिएको छ। निरन्तरको वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि रथयात्राको रुट परिवर्तन गरिएको हो।

रथयात्रा तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरू भएर ट्राफिक चोक, महेन्द्र चोक, शनिमन्दिर, बरगाछी हुँदै मन्दिर परिसरमा ल्याएर टुंग्याउने चलन थियो। परिवर्तित रुट तीनपैनीबाट ट्राफिक चोक हुँदै महेन्द्र चोकबाट पुनः ट्राफिक चोकबाट हुँदै तीनपैनी ल्याइनेछ। झाँकीहरू भने महेन्द्र चोकबाट शनिमन्दिरको हनुमानदास सडक, जलजला चोक हुँदै तीनपैनी ल्याइने आयोजक समितिले जनाएको छ।

५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवका रूपमा यो वर्ष विशेष रथयात्रा निकाल्ने तयारी भए पनि दैवी प्रकोपका कारण प्रभावित भएको हो। रथयात्रामा राष्ट्रपति आउने, हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने र घोडासहितको विशेष बग्गी ल्याउने कार्यक्रम तय गरिए पनि बाढीका कारण स्थगन गरिएको आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। 

रथयात्राकै लागि भनिएको भण्डारा कार्यक्रम पनि स्थगन गरिएको छ। भण्डाराका लागि तयारी अवस्थामा राखेको खाद्यान्न सामग्री बाढीपीडितलाई उपलब्ध गराउने निर्णय गरेको ओझाले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.