|

विराटनगर : लगातारको वर्षापछिको बाढीका कारण डुबानमा परेको मोरङ पानी सुकेको ठाउँमा कुरुप देखिएको छ। केही स्थानमा भने अझै पानी बाँकी छ। विराटनगरको वडा नम्बर ६ का अधिकांश भू-भाग अझै डुबानमा छन्। पानीको सतह केही घटे पनि स्थानीयको दिनचर्या सामान्य बन्न सकेको छैन।

पक्की घरबाहेक फुस र माटोका अघिकांश घर भत्केका छन्। आपूर्तिमन्त्री शिवकुमार मण्डलले त्यस ठाउँको अवलोकन गर्दै गुनासो सुनेका छन्। स्थानीयले भने समस्या पर्दाभन्दा समस्याको टर्दै गएपछि सरकारको उपस्थिति भएको भन्दै आक्रोश पोखेका छन्।

विराटनगर- ६ का केही तस्बिरः

लोहन्द्रा खोलाले लग्यो पुल

विराटनगरबाट झण्डै ३० किलोमिटर टाढा नेताचोकबाट कर्सिया जाने बाटोमा बनेको पुल लोहन्द्रा खोलाले भत्काएको छ। बेलबारी- ५ मा पर्ने उक्त पुल र त्यसको पूर्वतर्फ सिंचाईका लागि लगिएको सुनसरी-मोरङ सिंचाई आयोजनाको नहरसमेत भत्किएको छ। जसका कारण उक्त नहरबाट सिंचाई हुँदै आएको हजारौं हेक्टर क्षेत्रफलको खेतमा बाली सुक्ने अवस्था आएको छ।

मोरङका अधिकांश खोला किनारका घरहरु बगेका छन्। खेती बगाएको छ। केहीले परिवारका सदस्य गुमाएका छन्। घरमा राखेको अन्नबाली पुरिएको छ। पैसा तथा धनसम्पत्ती नष्ट भएको छ। सयौं विगाहा जमिनमा लगाएको धानबाली लेदोले पुरिएको छ। स्थानीय किसानले सरकारसँग हारगुहार गरिरहेका छन्।

मोरङको केराबारी-९ को लोहन्द्रा खोला किनारका बासिन्दाको पीडाका दृष्यहरु :

मारियामा बक्राहाले कटान गरेको क्षेत्र

सुनवर्षी नगरपालिकामा पर्ने साविकको कदमाहा गाविसको मारियामा बक्राहा खोलाले धार परिवर्तन गरेको छ। जसका कारण त्यहाँका सयौं विगाहा जग्गामा लेदो भरिएको छ। त्यतिमात्रै होइन बक्राहाले धार परिवर्तन गरेर त्यहाँ एउटा टापुसमेत निर्माण भएको छ। टापुमा बसोबास गर्ने स्थानीयको उद्धार गरिए पनि आफ्नो घर जान उनीहरु अझै पाएका छैनन्। 

विस्थापितको विचल्ली

विराटनगरका कतिपय स्थानमा राखिएका विस्थापितका लागि संयुक्त मेस सञ्चालन गरिएको छ। स्कुल तथा विभिन्न खाली सटरमा राखिएका उनीहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने खतरा बढेको छ। ती ठाउँमा स्वास्थ्य टोली गएका छैनन्। सरकारी निकायको उपस्थिति नगन्य छ। स्थानीय समाजसेवी र अगुवाहरुले आ–आफूले सकेको अन्नपानी जोडजाड गरेर पीडितलाई खुवाइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.