|

काठमाडौं : प्रस्तावित मनमोहन मेडिकल कलेजका सञ्चालकहरुले आफ्नो कलेज सरकारलाई नबेच्ने बताएका छन्।

मंगलबार काठमाडौंमा रिपोर्टस क्लबले गरेको कार्यक्रममा मनमोहन मेडिकलका सञ्चालक समितिका सचिव डा. रामकुमार अधिकारीले पहिले सरकारले नै नकिन्ने भनिसकेकाले अब आफूहरु बेच्न तयार नभएको बताएका हुन्।

'हामी कलेज सञ्चालकहरुले २०७२ माघ २८ गते बैठक बसेर कलेज सरकारलाई बेच्ने निर्णय गरेका थियौं, तर पछि सरकारले नकिन्ने भनिसकेको छ।  त्यसैले अब हामी कलेज बेच्दैनौं' उनले भने।

डा. अधिकारीले २४ सय सेयरधनीको सानो सानो लगानीमा खोलिएको कलेजलाई माफियाको लगानी भनिएकोमा आपत्ति जनाए। उनले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीले मनमोहन मेडिकल कलेजलाई सञ्चालन गर्नबाट रोक्नकै लागि पटक पटक अनशन बस्ने गरेको समेत आरोप लगाए। उनले भने ‘यो देशमा १९ वटा निजी मेडिकल कलेज छन्। तर खुल्दै नखुलेको मेडिकल कलेजलाई चिकित्सा शिक्षा विगार्न लागेको बताइयो। २४ सय सेयर धनीले गरेको सानो सानो लगानीबाट सहकारीको नाममा खोलिएको कलेजलाई माफियाको लगानी भनियो, डा. केसी मनमोहन कलेजलाई रोक्नकै लागि अनशन बसेका हुन्।'

डा. केसीले केदारभक्त माथेमा संयोजकत्वको कार्यदलले दिएको सुझाव अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने व्यवस्था समावेश गरेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने मुख्य माग राखेर ११ औं पटक अनशन बसेका छन्। गत साता संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयकमा माथेमा कार्यदलको सुझाव नसमेटी विधेयक पारित गरेको भन्दै डा. केसीले अनशन तोड्न मानेका छैनन्।

मंगलबार नै आयोजित साक्षात्कार कार्यक्रममा डा. केसीको मागका विषयमा छलफल गर्न सरकारले गठन गरेको वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले तत्काल प्रस्तावित मनमोहन मेडिकल कलेज किन्न कानुनी अड्चन रहेको बताए। उनले भने 'अहिलेकै कानुनले मनमोहन कलेज सरकारले किन्न सक्दैन, फेरि सरकारले मनमोहन कलेज किन्ने नै हो भने पनि अरु चार वटा कलेजप्रति पनि सरकारको उतिनै दायित्व हुन्छ। त्यता पनि विचार पुर्‍याउनुपर्ने हुन्छ।'

सोमबार थाहाखबरसँगको कुराकानीमा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले मनमोहन मेडिकल कलेजकै कारणले डा. केसीको अनशन अन्त्य हुन नसकेको बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.