|

काठमाडौं : कृषि विकास मन्त्रालयले बाढीपहिरोबाट कृषि क्षेत्रमा झण्डै ४ अर्बको क्षति पुगेको बताएको छ। मन्त्रालयले मुलुकका ५ वटै विकास क्षेत्रमा हालैको बाढीले अन्नबाली, तरकारी बाली तथा माछा खेतीमा गरी ३ अर्ब ६४ करोड ३४ लाख मुल्य बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी गराएको हो।

सबैभन्दा बढी मध्यमाञ्चलका १० जिल्लामा बाढीले २ अर्ब ६५ करोड १४ लाखको अन्नबाली, तरकारी, माछा पालन लगायतमा क्षति पुगेको छ। त्यसैगरी पूर्वाञ्चलमा ६५ करोड ५० लाख, सुदुर पश्चिमाञ्चलमा १० करोड ८३ लाख, मध्यपश्चिमाञ्चलमा २१ करोड ४९ लाख तथा पश्चिमाञ्चलमा ५७ लाख बराबरको क्षति पुगेको छ।

मन्त्रालयका अनुसार १ लाख ९८ हजार ६९८ हेक्टरको धानखेती, २९ हजार १३७ हेक्टरमा लगाएको तरकारी खेती, ३ हजार ५६१ हेक्टरमा गरिएको माछा पालन, ८ हजार ३५२ हेक्टरमा लगाएको मकै बाली तथा १ हजार १११ हेक्टर क्षेत्रफलको दलहन, केरा ५३ हेक्टर, बदाम १५ हेक्टर, तेलहन १५ हेक्टर, माछाका भुरा १५ हेक्टर, तथा १ दशमलब ३४ हेक्टर क्षेत्रफलमा लगाएको कोदो बालीमा क्षति पुगेको मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ।

त्यसैगरी १२ करोड रुपैयाँको सञ्चित खाद्यान्नमा क्षति पुगेकोछ । यसैबीच कृषि विकास र पशुपंक्षी विकास मन्त्रालयलले एक साताभित्र कृषिमा पुगेको क्षतिका लागि कृषकलाई राहत प्याकेजको व्यवस्था गर्ने बताएका छन्। मन्त्रालयले कृषि क्षेत्रमा अर्बौँ रुपैयाँको क्षति पुगेको भएपनि आफुहरूसँग राहतका लागि छ्ट्याइएको रकम अत्यन्तै न्यून भएको भन्दै अर्थ मन्त्रालयलाई तत्काल आवश्यक बजेटको व्यवस्था गर्न माग समेत गरेका छन्।

मन्त्रालयले मध्यमाञ्चलका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुर, पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा तथा सुदुर पश्चिमाञ्चलका बझाङ, दार्चुला, बैतडी, कैलाली, डोटी, मध्यमाञ्चलका दाङ, बाँके, बर्दिया तथा पश्चिमाञ्चलका म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवलपरासीमा बाढीले अन्नबाली, तरकारी बाली, तेलहन तथा माछापालनमा पुर्‍याएको क्षतिको प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.