|

काठमाडौं :  तराईका बाढी पीडित  मध्ये ८० प्रतिशतको स्वास्थ्य जोखिममा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था’ बारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सेवा विभागले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भिम आचार्यले २१ हजार ५ सय ६९ बाढी पीडितमध्ये ८० प्रतिशत जनता महामारीको जोखिममा रहेको जानकारी दिए।

बाढीबाट पीडित भएका ३० जिल्लाका २१ हजार ५ सय ६९ जना मध्ये ८० प्रतिशत मानिस हाल स्वास्थ्यको हिसाबले जोखिममा रहेका छन्,' उनले भने। बाढी प्रभावित तराइका करिब ३० जिल्लामा डुबान लगत्तै माहामारी फैलिन सक्ने सम्भावनाले गर्दा उनीहरुको स्वास्थ्य अवस्था जोखिममा परेको हो।

स्वास्थ्य विभागका महानिर्देशक डा. राजेन्द्र प्रसाद पन्तले डुबान पश्चात्त ती क्षेत्रमा महामारी फैलन सक्न भन्दै सजग रहन आग्रह गरेका छन्। ‘अहिले बाढीग्रस्त क्षेत्रमा डुवानको अवस्था छ। महामारी फैलिसकेको छैन। तर अब महामारी हुन सक्ने भएकोले शुद्ध पानी र स्वस्थ खाना खान निकै जरुरी छ। यति भए ९९ प्रतिशत मानिस माहामारीबाट बच्न सक्छन्,’ उनले भने।

बाढी र पहिरोले गर्दा पानीको मुहानहरु फोहर हुन्छन्। जसले पानी दूषित भई झाडापखाला, आँउजस्ता पानी जन्य संक्रमण हुने गर्दछ। अशुद्ध पानीका कारण धेरै फैलिने रोग झाडापखाला हेपाटाइटिइटिस 'ए' र 'ई' को जोखिम बढ्ने, ज्वरो आउने, बान्ता हुने, खान मन नलाग्ने आदि हेपाटाइटिस 'ए' र 'ई' जस्ता संक्रमण देखिने भएकाले खानेपानीमा विशेष ध्यान दिनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भिम आचार्यले  बताए।

बाढी र डुबानपछि खाल्टाखुल्टीमा पानी जम्ने भएकाले डेंगु, कालजार, मलेरिया, चिकनगुनियाँ जस्ता रोग लाग्ने गर्छ। त्यस्तै बाढीका क्रममा मरेका मुसामा रहेको ब्याक्टेरियाका कारण लेप्टोस्पाइरोसिस भन्ने रोग फैलने खतरा समेत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा भिम आचर्यले  जानकारी दिए।

गृह मन्त्रालयको तथ्यांकअनुसार तराईका ३० जिल्लामा बाढी प्रभावित रहेकोमा हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ भने ३२ जना बेपत्ता छन्। त्यस्तै ३८ जना गम्भीर घाइते छन्। २१ हजारभन्दा बढी बिस्थापित भएका छन्।

के गर्दैछ सरकारले ?

स्वास्थ्य विभागले प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले भने, “पूर्वका रौतहट, महोत्तरी र पश्चिममा बाँकेका कतिपय स्वास्थ्य संस्थामा पानी पसेको भएपनि सेवा अवरुद्ध भएको छैन, कतिपय स्वास्थ्य संस्थालाई विद्यालयमा सारेर पनि उपचार गर्न सुरु गरिएको छ।”

सबै स्थानमा औषधि र चिकित्सक पुगिसकेको र कुनै स्थानमा विद्युत् अवरुद्ध भएकाले सम्पर्क हुन गाह्रो परिरहेको विभागले जनाएको छ। प्रभावित जिल्लाका अस्पतालले ७ दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा दिइरहेको विभागले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले गत आइतबार नै बाढी प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाई सकेको छ। विराटनगर, जनकपुर, रौटहट, सप्तरी र नेपालगन्जमा खटिएका टोलीले आसपासका जिल्लामा समेत बाढी पीडितको स्वास्थ्य अवस्था बुझ्नेछन्।

मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१—४१००१८७, ०१—४२६२२६८ र मोबाइल नं ९८५१०९६०८९ मा सम्पर्क गरी सहयोग समन्वय गर्न पनि सबैमा आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.