|

काठमाडौं : नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघबीच तालमेल भएको छ। तीन संगठनको 'लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धन' ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघको भावी नेतृत्वका लागि पदाधिकारीमा उम्मेदवारहरू घोषणा गरेका छन्।

गठबन्धनको तर्फबाट महासंघको अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार बनेका छन्। उपाध्यक्षमा विपुल पोखरेल र समावेशी उपाध्यक्षमा दिलिप थापामगर उम्मेदवार छन्। यस्तै महासचिवमा रमेश विष्ट उम्मेदवार छन्। 

६ सचिवमध्ये ४ जनामात्र घोषणा गरिएको छ। दुई सचिवसहित अन्य पदका उम्मेदवार बिहीबार घोषणा गर्ने महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले जानकारी दिए। खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, जनजाति सचिवमा उदय जिएम र मधेसी सचिवमा सितल महतो उम्मेदवार बनेका छन्। यस्तै कोषाध्यक्षमा राजेश मिश्र उम्मेदवार छन्।

माओवादी केन्द्र निकट प्रेस सेन्टरले अध्यक्ष र महिला सचिव पाएको छ भने दुई उपाध्यक्ष, महासचिव, ४ सचिव र कोषाध्यक्ष कांग्रेस निकट युनियनले पाएको छ। यता मशाल निकट प्रगतिशील पत्रकार संगठनले जनजाति सचिव पाएको छ।  

महासंघको २५ औँ महाधिवेशन भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ। महासंघको अध्यक्षमा प्रेस चौतारी नेपाल नेतृत्वको गठबन्धनबाट अन्य स‌ंगठन समेतको समर्थनमा तीर्थ कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने महासंघका वर्तमान महासचिव उजिर मगरले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। चौतारी नेतृत्वको प्यानलले अध्यक्षबाहेक अन्य पदमा उम्मेदवारी घोषणा गरिसकेको छैन।

महाधिवेशनको सबै तयारी पूरा

नेपाल पत्रकार महासंघले महाधिवेशनका लागि सबै तयारी पूरा भएको जनाएको छ। महासंघका अध्यक्ष महेन्द्र विष्टले तोकिएको समयमै महाधिवेशन हुने गरी सबै तयारी पूरा भएको बताए।

भदौ ३ गते मनोनयन, ४ गते उद्घाटन र बन्द सत्र गर्ने तथा ५ गते भोटिङ गर्नेगरी महासंघले तयारी गरेको छ। देशका सबै जिल्ला र प्रतिष्ठानबाट १ हजार ५०५ जना प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ।

त्यसबाहेक १० जना सभासद् केन्द्रीय समितिले मनोनयन गर्ने भनिए पनि मनोनयन अझै गरिएको छैन। सभासद् मनोनयनदेखि महाधिवेशनको अन्तिम तयारीका लागि भदौ १ गते केन्द्रीय समितिको बैठक बोलाइएको महासचिव उजिर मगरले जानकारी दिए।

महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने तयारी छ।

उपत्यकाका तीन जिल्लाबाहेक बाहिरबाट आउने एक हजार प्रतिनिधिका लागि सुन्धारामा खाने बस्ने व्यवस्था मिलाइएको महासचिव मगरले बताए। महाधिवेशन सम्पन्न गर्नका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने र सोहीअनुसार व्यवस्थापन गरिएको पनि महासचिव मगरले जानकारी दिएका छन्।

४७ सदस्यीय केन्द्रीय समिति

महासंघमा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, ६ सचिव र कोषाध्यक्ष गरी ११ जना पदाधिकारी हुन्छन्। यसबाहेक महासंघमा ३६ जना सदस्य हुन्छन्। महासंघको केन्द्रीय समिति ४७ जनाको हुन्छ। महासंघको नेतृत्व छान्न केन्द्रीय सभासद (पार्षद्) ले मतदान गर्ने व्यवस्था छ।

नेपाल पत्रकार महासंघका जिल्ला, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाले केन्द्रीय नेतृत्व चयनमा मताधिकार पाउँछन्। जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसियट संस्थाबाट अध्यक्ष र १० जना साधारण सदस्य बराबर छानिएका एक पार्षदले महासंघको केन्द्रीय नेतृत्व छान्न मतदान गर्छन्। विदेशमा रहेका शाखाहरूका अध्यक्षले मतदान गर्ने अधिकार पाउँछन्। साविकको केन्द्रीय समितिका सबै सदस्यले स्वतः मताधिकार पाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.