|

काठमाडौं : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्न सरकारलाई फेरि ताकेता गरेको छ। आयोग पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भदौ ३ गतेसम्म निर्वाचन मिति घोषणा गरिदिन आग्रह गरेका छन्।

आयोगले निर्वाचन कानुनहरू र क्षेत्र निर्धारण आयोग प्रतिवेदनसमेत एक साताभित्र माग गरेको छ। मंसिर पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने प्रस्ताव आयोगको छ। त्यसकै तयारीका लागि प्रमुख निर्वाचन आयुक्तसहितका आयुक्तले पटकपटक प्रधानमन्त्रीलाई भेटिसकेका छन्। तर आयोगले गरेको आग्रहअनुसार सरकारबाट काम भएको देखिन्न।

आयोगले सुरुमा साउन १६ र त्यसपछि भदौ १ सम्म जसरी पनि निर्वाचन मिति घोषणा गरिदिन आग्रह गरेको थियो। तर सरकारले क्षेत्र निर्धारण आयोगको म्याद नै भदौ १५ सम्म बढाएपछि झस्किएको आयोगका पदाधिकारी फेरि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्।

आयोगले सुरुमा असोज ३० मा प्रदेशसभाको चुनाव मिति प्रस्ताव गरे पनि अब नभ्याइने बताइसकेको छ। सरकार र आयोगबीच दुवै निर्वाचन एकै दिन गर्ने विषयमा छलफल चलिरहे पनि टुंगो लागिसकेको छैन।

‘प्रधानमन्त्रीज्यूले दुवै निर्वाचन एकैपटक गर्नुपर्ने भनिरहनुभएको छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘त्यसका लागि कानुनी र प्राविधिक कठिनाइ छ। पहिला त्यसलाई सम्बोधन गरिनुपर्छ।’ उनले दुवै निर्वाचनमा एक–एकवटा मतपत्र र एक–एकवटा मतपेटिका मात्र सम्भव रहेको बताए। उनले त्यहीअनुसार कानुनी व्यवस्था भए आयोगले त्यस विषयमा छलफल गर्न सक्ने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.