|

उदयपुर :  उदयपुर सिमेण्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेमा दायित्व पूरा नगर्ने नगर्ने अधिकृतसहित ८२ कर्मचारीको जागिर गएको छ। उद्योगमा नआईकनै तलब खोज्ने, मादक पर्दाथ सेवन गरेर आउने कर्मचारीले जागिरबाट हात धुनु परेको हो।

प्रशासन विभागका रामबहादुर जिसीका अनुसार कारबाहीमा परेपछि ७९ जनाले राजीनामा दिएका छन्। १३ जनाले भने सेवासुविधा पाएनन्। ‘अधिकृतसहित ड्राइभर, जुनियर मेकानिकल इन्जिनियर लगायत कर्मचारीले उदण्डताकै कारण जागिर गुमाउनु परेको छ,’ जिसीले भने। अहिले कार्यालय नआउने, मादक पदार्थ सेवन गरेर आउने र बाहिर उद्योगको बदनाम हुने काम गर्ने कर्मचारी कारबाहीमा पर्ने क्रम बढेको उनले बताए।

नेपाल सरकारी स्वामित्व रहेको उसिउलि जलजलेमा ०७० सालअघि कर्मचारीको चरम लापरवाही थियो। लारवाही गर्ने कर्मचारीलाई उद्योगको कर्मचारी ऐनअनुसार नै निकालिएको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलेले बताए। ‘उद्योगलाई काम चाहिएको छ,’ महाप्रबन्धक पौडेलले भने, ‘काम दिन नसक्ने कर्मचारी उद्योगले पाल्नुको अर्थ छैन।’

पौडेलका अनुसार केही जुनियर अधिकृतसमेत दुई महिनासम्म कार्यालय नआउने र एकै दिनमा आएर सबै हाजिर गरेर तलब माग्ने प्रवृत्तिका थिए। ‘कसैको रोजीरोटी खोस्नु रहर होइन तर,’ पौडेलले भने, ‘ड्युटीमा आएर हाजिर गरेर गएपछि कहाँ गएको भन्ने थाहा नपाइने कर्मचारीका कारण कारबाहीको विकल्पै थिएन’

कार्यालयको समयमा कार्यालय नआउने, आउँदा मादक पर्दाथ सेवन गरेर आउने कर्मचारी निकाल्न मजदुर युनियन  संगठनले समेत साथ दिएको थियो। ‘जुन अधिकृत भएपनि के गर्नु, जुन तहको भएपनि काम नै नगर्ने भएपछि युनियनले केही गर्न सक्दैन,’ मजदुर नेता चक्रबहादुर कार्कीले भने।

कारबाहीमा परेका कर्मचारी
जिसीका अनुसार मनोज साह र इलेक्ट्रिनिक सिनियर इन्जिनियर र जुनियर इलेक्ट्रिनिक इन्जिनियर मेघनाथ चाम्लिङ कारबाहीमा परेका हुन्। दुवै कार्यालय नआउने र आएका बेला साना तहका कर्मचारीलाई धाकधम्की देखाउने गर्थे।

 ‘निकाल्नु पर्ने भएपछि सकेसम्म सेवासुविधा दिएरै निकालिएको हो’ महाप्रबन्धक पौडेलले भने। अटेर गर्नेलाई जबर्जस्ती राजीनामा गर्न पनि बाध्य बनाइएको उनले स्वीकारे। उद्योगमा अहिले ४ सय ३ कर्मचारी छन्। ‘उद्योगलाई आवश्यकता तीन सय ५० जना मात्र हो,’ पौडेलले थपे, ‘अनावश्यक कर्मचारी उद्योगमा पालेर राख्ने प्रवृत्ति अन्त्य गर्न खोज्दैछु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.