|

काठमाडौँ: नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनका लागि अध्यक्षका दुई उम्मेदवार बिहीबार एउटै मञ्चमा आआफ्ना एजेन्डा सुनाउँदै थिए।

'संयुक्त व्यावसायिक र प्रगतिशील गठबन्धन' का तर्फबाट अध्यक्षका उम्मेदवार तीर्थ कोइरालाले आफू स्वतन्त्र उम्मेदवार भए पनि परिस्थितिबस एक पार्टीको सहयोग लिनु परेको बताए।

'महासंघको राजनीति म जान्दिनँ, अहिले स्वतन्त्र उम्मेदवार हुँ’, कोइरालाले भने, ‘परिस्थितिका कारण एउटा माउ पार्टीको सहयोग लिएको हुँ।’ उनले सैद्धान्तिक रुपमा कांग्रेस, माओवादी, एमाले लगायतका सबै पार्टीले सहयोग गर्ने वचन दिए पनि प्राविधिक रुपमा कुरा नमिलेपछि एउटा पार्टीको छायामा पर्नुपरेको बताए।

'लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धन' का तर्फबाट अध्यक्षका उम्मेदवार गोविन्द आचार्यले दुबै जनाले नहार्ने बताए। ‘निर्वाचनमा जसले जिते पनि एक जना अध्यक्ष र अर्को सल्लाहकार हुनेछ’, आचार्यले भने, ‘हामी दुबै हार्दैनौँ। एकजना अध्यक्ष भए अर्को सल्लाहकार हुन्छौँ।’ 

सरकारले पत्रकारलाई पेन्सन दिनुपर्छ भन्नेको विपक्षमा रहेको कोइरालाले बताए। पत्रकार कार्यरत मिडिया हाउसले पत्रकारलाई क्षमता अनुसार पेन्सन दिनुपर्ने उनको भनाई थियो।

आचार्यले पत्रकारको गुणस्तर वृद्धिमा जोड दिनुपर्ने बताए । ‘पत्रकारको संख्यात्मक वृद्धि भए पनि गुणस्तरमा वृद्धि हुन सकेको छैन’, उनले भने, ‘पत्रकारिताको व्यवसायिक वृद्धिका लागि पत्रकारहरूको गुणस्तर वृद्धि गरिनुपर्छ।’ 

अध्यक्षका उम्मेदवार कोइरालाई एमालेनिकट प्रेस चौतारी नेपालको समर्थन छ भने आचार्यलाई कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको समर्थन छ। 

अध्यक्ष पदमा महासंघका वर्तमान महासचिव उजिर मगरले पनि उम्मेदवारी घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.