|

ओखलढुंगा :  ओखलढुंगा जिल्ला समन्वय समितिमा कांग्रेसको प्यानलै विजयी भएको छ। शुक्रबार भएको जिल्ला समन्वय समितिको निर्वाचामा ओखलढुंगाका एक नगरपालिकासहित ७ गाँउपालिकाका प्रमुख र उपप्रमुखहरुले मतदान गरेका थिए। एक नगरपालिकासहित ७ गाउँपालिकाका  १६ जना प्रमुख तथा उपप्रमुखहरुले मतदान गरेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो।

जिल्ला समन्वय समिति ओखलढुंगाका लागि  कांग्रेसबाट उम्मेदवार बनेका प्रमुख पदका उम्मेदवार जयबहादुर श्रेष्ठले ९ मत प्राप्त गरी विजयी भए भने एमालेका उम्मेदवार प्रकाश कटुवालले ६ मत पाए। उपप्रमुखमा भने कांग्रेसकै  दिलकुमारी खतिवडा निर्विरोध निर्वाचित भएकी छन्। सदस्यहरुमा विजय लामा, सुन्तला परियार, होमबहादुर विक, वमकुमारी दाहाल, सीता सार्की, नीरबहादुर मगर र रामचन्द्र बोगटी विजयी भएका छन्।

संख्यात्मक रुपमा ओखलढुंगामा नेपाली कांग्रेसका ९, एमालेका ६ र माओवादी केन्द्रको १ मत रहेको थियो। जिल्लामा रहेका ८ स्थानीय तहमा नेपाली कांग्रेसले खिजीदेम्बा, चम्पादेवी, सुनकोसी, र मानेभन्ज्याङ गाँउपालिकामा विजयी हासिल गरेको थियो भने मोलुङ गाउँपालिकामा उपप्रमुख पनि जितेको थियो।

त्यस्तै, एमालेले जिल्लाको लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकामा प्रमुख उपप्रमुख नै जितेको थियो भने मोलुङ गाउँपालिकामा प्रमुख र चिसंखुगढी गाउँपालिकामा उपप्रमुखमा विजयी भएको थियो। ओखलढुंगामा माओवादी भने चिसंखुगढी गाउँपालिकाको प्रमुख पदमा मात्र विजयी भएको थियो।

जिल्ला समन्वय समितिमा निर्वाचित सबै पदाधिकारीहरुलाई  शुक्रबारै शपथग्रहण गराउने मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ। ओखलढुंगामा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.