|

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीले सूचना सम्प्रेषण गर्ने माध्यमबाट दुख पाए पनि आफूले सूचनाको हकको सँधै सम्मान गर्ने बताएका छन्। राष्ट्रिय सूचना दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सूचना आयोगको कार्यक्रममा प्रधान्यायाधीश पराजुलीले सूचना दिएकै कारण सूचना सम्प्रेषण गर्ने माध्यमबाट आफूले जीवनभर दुख पाएको बताए। 

'सूचना दिएकै कारण सूचना सम्प्रेषण गर्ने शक्तिहरुबाट जीवनभर दु:ख पाएको छु तर म सूचनाको हकको सदैव सम्मान गर्छु,' उनले भने। सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्ने संस्था अदालत मात्रै रहेको प्रधानन्यायाधीश पराजुलीले दाबी गरे। 'न्यायाधीशले कुनै पनि फैसला लुकाउन मिल्दैन सार्वजनिक गर्नुपर्छ अदालतबाट सूचना लुकाउने काम नभएकै कारण अदालत टिकेको हो,' उनले भने।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि छलफल चलिरहेकाले छिट्टै आयोगसँगको परामर्शमा प्रभावकारी नीति अवलम्बन गर्ने बताए। सूचना आयोगका आयुक्त किरण पोखरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सजायको व्यवस्था कडा बनाउनुपर्ने उल्लेख गरे। 'सूचना नदिएको अवस्थामा सूचना अधिकारी र कार्यलय प्रमुखलाई मात्रै जरिवाना हुन्छ सम्बन्धित शाखा कर्मचारीलाई पनि कारबाही गरिए मात्रै सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ' उनले भने। 

एमाले सांसद तथा विकास समिति सभापति रवीन्द्र अधिकारीले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले नै लोकतन्त्र सुदृढ हुने भएकाले प्रभावकारी कार्यान्वयनका लागि सबै जिम्मेवार हुनुपर्ने बताए। कार्यक्रममा सूचनाको हक सम्बन्धी अभियानकर्ता र प्रभावकारी रुपमा सूचनाको हकको कार्यान्वयन आफ्नो कार्यलयमा गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.