|

विराटनगर : ‘धर्तीमा जन्मिएपछि केही राम्रो त गर्नैपर्छ’ कलाकार सीताराम कट्टेल धुर्मुसले विराटनगरमा आफ्नै सम्मानमा आयोजित कार्यक्रममा भने, ‘यो देश निर्माण गर्न कुनै विदेशीलाई गुहार्नु पर्दैन हामी आफैं सक्षम छौं।’

शुक्रबार विराटनगरमा उद्घोष दैनिकको १३ औं वार्षिकोत्सवको अवसरमा कलाकार धुर्मुसले धेरैलाई भावुक बनाए। झण्डै २० मिनेट मन्तव्य राखेका धुर्मुसले देश निर्माण गर्न सबैले योगदान गर्नुपर्ने बताए। ‘धुर्मुस सुन्तली फाउन्डेसनमा १ लाख ७४ हजार रुपैयाँ रकम हुँदा ५ करोडको योजना बनाएँ,’ उनले पहिलो वस्ती निर्माण गर्दाको क्षण सम्झिए, ‘कुरा काट्ने राष्ट्रिय पेशा बनाएकाहरुले आलोचना पनि गरे बहुला पनि भने, तर योजना पूरा भएको छ, समयमै पूरा गरेर वस्ती हस्तान्तरण गरियो।’

फाउन्डेसनले गर्न लागेको चौथो योजना अनुरुपको नमूना नेपाल निर्माण गर्ने अभियानमा सबैलाई सहयोग गर्न आह्वान गर्दै उनले आफ्नो आमा–बुबा र छोरीलाई पटक–पटक सम्झिए। ‘५ अर्बको योजना बनाएपछि मैले पहिलो पटक बुबालाई बुबा मैले यस्तो योजना बनाएँ, आशिर्वाद दिनोस्, भन्दा भक्कानिएको मलाई ताजै छ,’ उनले आफू गरीबको छोरो भएको सम्झदै भावुक भएर भने, ‘तर मैले बुबालाई भनेँ म जस्ता छोरा अघिल्लो पुस्तामा जन्मिएका थिए र यस खाले काम गर्ने चुनौती मोलेका भए अहिलेका पुस्ताले मैले जस्तो जोखिम लिनुपर्ने थिएन।’

अहिलेको डुबानको समस्या नेपालको संरचना निर्माणको त्रुटीको कारण भएको बताउँदै धुर्मुसले संरचनागत सुधार नगरेसम्म पटक पटक वस्ती डुबानमा पर्ने र गरीबहरु मरिरहनुपर्ने बताए। विकास निर्माणमा जिम्मेवारहरु कर्तव्य बोध गरेर काम गर्ने हो भने देश बन्ने पटक पटक दोहोर्‍याएर र सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

धुर्मुसको मन्तव्य पछि आफ्नो धारणा राखेका विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे भने उद्योगी नवीन रिजालले पनि १ लाख नगद फाउन्डेसनलाई सहयोग गर्ने बचन दिएका छन्।

धुर्मुसलाई १ लाख १ हजार १ सय ११ को सम्मान

कार्यक्रमका अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहेका सिताराम कट्टेल (धुर्मुस) लाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ। उद्घोष दैनिकको वार्षिकोत्सवको अवसर पारेर धुर्मुसलाई दिब्यराज दाहाल स्मृति सामाजिक सम्मानबाट सम्मानित  गरिएको हो। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले धुर्मुसलाई खादा र सम्मान पत्रका साथ सम्मान गरे।

सोही कार्यक्रममा राजेश्वर रेग्मी गजल पुरस्कारबाट इलामका साहित्यकार विवश वलीभद्र कोइरालालाई प्रदान गरिएको छ। यसको राशी नगद २५ हजार रुपैयाँको छ। यस्तै समाज सेवामा सक्रिय रहेको युथ फर ब्लडलाई पनि नगद १० हजार सहित सम्मान गरिएको छ भने सोही दैनिकका सम्वाददाता हरि अधिकारीलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको छ।

धुर्मुसद्वारा सहयोग रकम हस्तान्तरण

बाढीले बगाएर मृत्यु भएका विराटनगर १९ का अरलीया ऋषिदेव र बुढीगंगगा गाउँपालिका–१ का उमेश नेपालको परिवारलाई हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले प्रतिघरपरिवार २५/२५ हजार राहत सहयोग गरेका छन्।

मृतकको घरमा पुगेर धुर्मुसले धुर्मुस सुन्तली फाउन्डेसनको तर्फबाट उक्त रकम प्रदान गरेका हुन्। सिंघिया खोलामा आएको बाढीले बगाएर नेपाल र ऋषिदेवको शनिबार मृत्यु भएको थियो। धुर्मुसले विराटनगरको बाढी प्रभावित क्षेत्रको निरीक्षणसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.