विचार

जीवन एक खेल हो, यसरी खेलौँ
SHARES

भदौ २, २०७४

    जीवन जिउने दुई तरिका छन्, कि तपाईं सबै चिजलाई अत्यन्तै गंभीर रूपमा लिनुहुन्छ कि सबै चिजलाई सामान्य रूपमा लिनुहुन्छ। कसरी बाँच्ने हो तपाईंकै हातमा छ। 

    गंभीर भएर बाँच्दा जिन्दगी दुःखपूर्ण हुन्छ। गंभीर मान्छेहरूका लागि सामान्य केही पनि छैन। दुर्घटना, असफलता, अवहेलना अनि जन्म र मृत्य मात्रै होइन, उसका लागि खेल पनि गंभीर छ। गीतसंगीत, हाँसोठट्टा, नाचगानसँगै समग्र दिनचर्या नै गंभीर छ। के रमाइला कृत्यलाई गंभीर रूपमा लिएपछि रमाउन संभव हुन्छ? के गंभीर भएर आनन्दित हुनु संभव छ। गंभीर मानिसका लागि सबै कुरा गंभीर छन्। तर अगंभीर मानिसका लागि सबै कुरा सामान्य छन्। उसका लागि जन्म सामान्य छ, मृत्यु सामान्य छ। जिन्दगीका हरेक भोगाइहरू सामान्य छन्। शोकलाई पनि ख्यालख्यालमा लिए भने के पीडा संभव हुन्छ? आँसुलाई सामान्य रूपमा लिएपछि रुनु पनि आनन्ददायी हुन्छ। 

    कसरी बाँच्ने, छनोट हाम्रै हातमा छ। तर किन धेरैका लागि जिन्दगी गंभीर छ? नचाहँदा नचहँदै कयौँका लागि जिन्दगी गंभीर छ। कष्टदायक छ। हामीले बाँच्ने कला हाम्रै अग्रजबाट सिक्यौँ। सिक्नु नराम्रो होइन तर कसबाट सिक्यौँ र के सिक्यौँ भन्ने सवाल अर्थपूर्ण छ। हामीलाई तिनीहरूले जिउने कला सिकाए, जो आफैँ हातास थिए। निराश थिए। दुःखी थिए। हामीले बाँच्ने कला उनीहरूबाट सिक्यौँ, जसले जिन्दगीमा खुसी भएर बाँच्नै जानेनन्। जसले जिन्दगीलाई केवल अन्धकारपूर्ण देखका छन्।

    बालककालका केही समयसम्म जिन्दगी हाम्रालागि पनि महोत्सव थियो। जबसम्म जिन्दगी जिउने सवालमा केही कुरा सिकेका थिएनौँ, जिन्दगी उत्सव थियो। होसपूर्ण भएर हेरौँ, बच्चाहरूका लागि जिन्दगी जादूमय छ, आनन्ददायक छ। तिनका पलपल हर्षोल्लासपूर्ण छ। जिन्दगीको त्याही भोगाइबाट हामी आजसम्म आइपुग्यौँ तर कुन्नि आनन्दित भएर जिउने कुन मन्त्रलाई हामीले बिर्सियौँ! 

    के कुरा थियो त्यो, जसले जिन्दगीलाई आन्नददायक बनाएको थियो। ठूला मानिस र बच्चामा के भिन्नता छ, होसपूर्ण भएर हेरौँ। आयु बढ्दै जाँदा हामीले के सिक्यौँ, जसले हामीलाई यति गंभीर बनाएको छ, जाँचौँ।

    बालकहरू खेल्छन् तर वयष्क मानिसहरू काम गर्छन्। जब हामी ठूला हुँदै आयौँ, हामीले खेल्न भुलेका छौँ। हाम्रालागि खेल्नु असहज भएको छ। किन हामी खेल्न सक्दैनौँ त? हामी काम गर्दछौँ। दिनरात नभनी खटेका छौँ। किन काम गर्दा हामी सहज महसुस गर्दछौँ त? खेल्नु र काम गर्नुबीचमा अवश्य केही मनोवैज्ञानिक भिन्नता छन्।

    खेलको कुनै उद्देश्य हुँदैन। खेल्दै गरेको बच्चालाई यदि हामीले किन खेल्दै छौँ भनेर सोध्यौँ भने त्यसको उत्तर आउँदैन। उसले भन्ने छ कि म खेल्दै छु, त्यसैले खेल्दै छु। खेलको परिणाम भविष्यमा होइन, तत्क्षण नै आउँछ। प्रवृत्तिगत रूपमा खेल समयविहीन छ। आनन्दको क्षण त्यही क्षण हो, जुन पलमा भूतको संझना र भविष्यको चिन्ता हुँदैन, केवल वर्तमानको हरेक पलमा हामी सम्पूर्ण रूपमा उपस्थित भएका हुन्छौँ। सम्पूर्ण रूपमा बाँचेका हुन्छौँ अनि महोत्सवको समय त्यही समय हो, जुन बेला कोही ठूलो र सानो हुँदैन। जब ठूलो र सानो हुँदैन, त्यहाँ अहं हुँदैन। मानसिकस्तरमा अहं नभएको संसारमा विभाजनका पर्खालहरू हुँदैनन्। सबै स्वत्रन्त्र हुन्छन्। त्यसैले खेलमा सबै स्वतन्त्र हुन्छन्। यसको विपरीत काम निश्चित प्रतिफलको आशामा गरिएको हुन्छ। 

    हामीले अज्ञानतामै महत्त्वाकांक्षी बन्न सिक्यौं। जिन्दगीलाई उद्देश्यपूर्ण बनाउन सिक्यौँ। जब उद्देश्य बोकेर बाँच्यौँ, तबदेखि हामीले हरेक कुरामा उपयोगिता खोजेका छौँ। हाम्रो उद्देश्यमा सहायक नहुने कुनै पनि कुराको हाम्रो जिन्दगीमा महत्त्व नै छैन। अनि चिजहरूको उपयोगिताको मापन गंभीर भएर गर्न जरुरी पनि हुन्छ। हामीलाई लाग्छ, भविष्यका लागि हामीले हाम्रो अहिलेको समय उपयोग गर्न जरुरी छ।

    काम गर्नुका पछाडि उद्देश्य हुन्छ। कामले प्रतिफलको लागि केही समय लिन्छ। काम अहिले गरिन्छ तर त्यसको प्रतिफल भविष्यमा आउँछ। काममा सरोकार राख्नेबीच तह र तप्का हुन्छ। मालिक, हाकिम, मजदुर र पिउन हुन्छ। जहाँ तह र तप्का हुन्छ, त्यहाँ अहं हुन्छ। त्यहाँ आदेश र बन्देज हुन्छ। त्यहाँ मापदण्ड र सीमा हुन्छ।

    हामीले अज्ञानतामै महत्त्वाकांक्षी बन्न सिक्यौं। जिन्दगीलाई उद्देश्यपूर्ण बनाउन सिक्यौँ। जब उद्देश्य बोकेर बाँच्यौँ, तबदेखि हामीले हरेक कुरामा उपयोगिता खोजेका छौँ। हाम्रो उद्देश्यमा सहायक नहुने कुनै पनि कुराको हाम्रो जिन्दगीमा महत्त्व नै छैन। अनि चिजहरूको उपयोगिताको मापन गंभीर भएर गर्न जरुरी पनि हुन्छ। हामीलाई लाग्छ, भविष्यका लागि हामीले हाम्रो अहिलेको समय उपयोग गर्न जरुरी छ।

    भविष्यमा हाम्रो निहित लक्ष्य भेट्टाउने सन्दर्भमा सहायक हुन नसक्ने मानिसको संगत हाम्रो लागि कामको हुँदैन। हामीलाई लाग्छ, भविष्यमा उपयोगी नहुने सीप सिक्नु भनेको, भविष्यमा काम नलाग्ने ज्ञान आर्जन गर्नु भनेको केवल समयको बर्बादी हो। त्यसैले हाम्रो लागि खेल केवल समयको बर्बादी हो। 

    खेल मात्रै होइन, प्रयोजनविनै हाँस्नु, नाच्नु, मजाक गर्नु, उफ्रनु, यी सब कुरा हाम्रालागि समयको बर्बादी मात्रै हुन्। हामी केवल काम गर्न जान्दछौँ किनकि हामी सम्पूर्ण रूपमा भविष्यकेन्द्रित छौँ। तर भविष्य अज्ञात छ। हामीले त्यसको रूपरेखा कोर्न खोजे पनि भविष्य अज्ञातै हुन्छ। भविष्यको ठूलो भारी बोकेर बाँचिरहँदा वर्तमान कष्टपूर्ण भएकोमा हाम्रो होस गइरहेकै हुँदैन। 

    बालबालिकाहरूले खेल्ने खेलमा जीतहार हुँदैन। प्रतिष्पर्धा पनि हुँदैन। त्यो त ठूला मानिसहरू हुन्, जसले हरेक चिजमा प्रयोजन देख्छन्। हामीले खेललाई पनि आपूmअनुकूल बनाएका छौँ। खेल खेल्नुमा ठूला मानिसलाई मजा आउँदैन, उसले मजा पाउने चिज त प्रतिष्पर्धा हो, जित्नुको उद्देश्य हो। उपाधि प्राप्त गर्दाको सम्मान र प्रतिष्ठा हो। आज खेल विश्वजगतलाई आनन्दप्राप्तिको माध्यमभन्दा पनि प्रतिष्ठाको विषय भएको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा खेल राष्ट्रकै प्रतिष्ठाको विषय बन्दै छ। हामीले खेललाई पनि अस्वस्थ बनाएका छौँ।

    प्रकृति ऊर्जाको विशाल भण्डार हो। यसको केही निश्चित स्वभाव हुन्छ। नदी विज्ञहरूको कुरा सुन्नुहोस्, बाँध बाँधिएको नदीले कुनै दिन वितण्डा मच्चाउँछ। प्राकृतिक ऊर्जालाई स्वतन्त्र छोडिदिनुपर्छ। मानिसलाई जीवन दिँदै गरेको ऊर्जा प्राकृतिक ऊर्जा नै हो। 

    प्रयोजनविहीन भएर उफ्रनु भनेको हाम्रो शरीरमा बढी भएको ऊर्जालाई स्वाभाविक र स्वतन्त्र रूपमा बाहिर बग्न दिनु हो। कुनै बाँध नबाँधीकन बग्न दिनु हो। यस्तो अवस्थामा ऊर्जा र मानिस आपसमा सहकार्य गर्दछन्। त्यसैले प्रयोजनरूपी बाँध नबाँधी खेल खेल्नु आनन्ददायक हुन्छ। काममा ऊर्जाको बहाव त हुन्छ तर त्यहाँ बाँध बाँधिएको हुन्छ। काममा ऊर्जालाई आफूअनुकूल निश्चित तरिकाले उपयोग गर्ने प्रयास गरिन्छ। त्यसैले त्यहाँ ऊर्जा र हामीबीच संघर्ष छ। प्रकृतिसँगको प्रतिस्पर्धामा कसैले गुमाउनुपर्छ भने त्यो हामीले नै हो। त्यसैले काम कष्टदायक हुन्छ। 

    हो, खेलका पनि निश्चित नियमहरू हुन्छन् किनकि खेलमा अरू पनि सहभागी हुन्छन्। तर यी नियमहरू पनि खेलकै नियमहरू हुन् भन्ने बोध भयो भने खेलमा मजा हुनुको सीमा हुँदैन। 

    खेलका नियम पालना गर्नु पनि खेल्नु नै हो। खेल जसरी पनि खेल्न सकिन्छ। खेलका नियम पालना नगरी पनि खेल खेल्न सकिन्छ। यसरी खेल्दा खेलको नियम पालना नगर्नु नै खेल हो। खेलको नियम भाँड्नु पनि खेल हो। तर जसरी खेले पनि खेल्नकै लागि खेल्दै छु भन्ने बोध हुनु जरुरी छ।

    प्रयोजनविहीन भएर बाँच्नु नै जीवनलाई खेल बनाउनु हो। काम गर्नु तर फलको आश नगर्नु नै खेल हो। जिउने कला हो। जब यो मन्त्रको बोध हुन्छ, तब खेल्नुको बोध हुन्छ। जब खेल्नुको कला आउँछ, तब जिन्दगी जिउनु पनि खेल हो। हामीले अब कसरी जिन्दगीलाई खेल्ने? हाम्रो हातमा छ। 

    अब भोगी भएर जिन्दगी खेल्ने हो वा सन्यासी भएर खेल्ने, हाम्रै हातमा छ। पैसा गनेर खेल्ने कि जोगी भएर खेल्ने, आफ्नै हातमा छ। समाजिक भएर खेल्ने कि विद्रोही भएर खेल्ने, आफ्नै हातमा छ। विद्रोही भएर खेल्दा जेलनेल हुन सक्छ, जेलनेल त अब खेलका नियम मात्र हुन्। अब जिन्दगीका सबै आयामहरू सामान्य लाग्छ। अब मृत्यु पनि खेल हो। हिन्दू शास्त्रले यो जगतलाई ईश्वरको लीला हो भनेका छन्।

    ईश्वर भनेको सर्वोत्तम ऊर्जाको रूप हो। लीलाको अर्थ केवल खेल हो। यो जगत केवल ऊर्जाको समुद्र हो। यहाँ जे हुन्छ, त्यो सबै ऊर्जाको खेल हो। ऊर्जा सर्वव्याप्त छ। ऊर्जाको सन्दर्भमा मितव्ययी हुनु जरुरी छैन। तर हामी ऊर्जालाई खर्च गर्ने सन्दर्भमा उपयोगिता खोज्दछौँ। 

    ऊर्जा जसरी बग्छ, बगोस्। ऊर्जा जसरी रूपान्तरण हुन्छ, होस्। हामी ऊर्जा खर्च गर्ने सन्दर्भमा मितव्ययी भयौं भने हाम्रो शरीरमा ऊर्जाको आगमन पनि त्यही ढंगमा हुन्छ। अनि मितव्ययी भएनौ भने पनि ऊर्जाको आगमन त्यही ढंगमा हुन्छ। ईश्वरले लीला गर्छन् र लीला गर्ने नै ईश्वर हो भन्नुमा कुनै भेद छैन।

    त्यसैले जसले लीला गर्छ, अर्थात् जसले जिन्दगीलाई खेल सम्झन्छ, ऊ र दैवी शक्ति अर्थात् सर्वोत्तम ऊर्जा एकाकार हुन्छन्। त्यसैले त खेल्दै गरेको बच्चाका आँखामा दैवी चमक हुन्छ। अनुहारमा दैवी चमत्कार हुन्छ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]