|

एजेन्सी : बाढीका कारण दक्षिण एशियाभर १ करोड ६० लाख मानिस प्रभावित भएको आईएफआरसीको प्रतिवेदनले देखाएको छ। नेपाल, बंगलादेश र भारतमा आएको बाढीका कारण झन्डै ५ सय मानिसले ज्यान गुमाइसकेका छन्। 
इन्टरनेशल फेडेरेशन अफ रेडक्रस एन्ड रेड क्रिस्सेन्ट (आईएफआरसी) ले यस विपत्ती पछिल्ला वर्ष दक्षिण एशियाली क्षेत्रमा देखिएको ठूला विपत्तीमध्ये एक रहेको जनाएको छ। बाढीपछि खाद्यान्न अभाव र स्वास्थ्य समस्या बढेको बताइएको छ। बाढीका कारण हजारौं मानिस घरबारविहीन भएका छन्।

आईसीआरसीका सहायक क्षेत्रीय निर्देशक मार्टिन फलारका अनुसार बंगलादेश र नेपालको एक तिहाई भूभाग बाढीका कारण प्रभावित बनेको छ। त्यस्तै उत्तरी भारतका ४ राज्यका झन्डै १ करोड १० लाख मानिस प्रभावित भएका छन्। 

‘यो छिट्टै नै यस क्षेत्रको गम्भिर मानवीय संकट बन्दैछ। विगतका धेरै वर्षमा नदेखिएको संकट पैदा हुँदैछ। बाढीबाट प्रभावित दशौं लाख मानिसका समस्या समाधानका लागि तत्काल काम सुरु गर्नुपर्ने आवश्यकता छ,’ फलारले निकालेको विज्ञप्तिमा भनिएको छ,‘नेपाल, बंगलादेश र भारतका दशौं लाख मानिस खाद्यान्न अभाव र प्रदूषित पानीका कारण फैलिएको महामारीको चपेटामा छन्।’

बंगलादेशमा यसपटकको बाढीको क्षति इतिहासकै सर्वाधिक ठुलो हो। आगामी दिनमा अझै क्षति बढ्न सक्नेछ। सेभ द चिल्ड्रेनका निर्देशक मार्क पाइर्सले यस अवस्थालाई निकै दुर्भाग्यपूर्ण भनेका छन्। ‘निरन्तरको पानीका कारण समुदायमा पुग्न समेत अफ्टेरो भएको छ,’ उनले भनेका छन्। 

नेपाल रेडक्रस सोसाइटीले बाढीका कारण अन्नवालीहरु नस्ट भएको जनाएको छ। नेपालको तराई क्षेत्रमा रहेको खेतीयोग्य जमिनमा बाढी पसेका कारण भविष्यमा खाद्यान्न संकट उत्पन्न हुने खतरा रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

सेभ द चिल्ड्रेनका भारतस्थित म्यानचेजर मुरली कुन्दुरुले रोयटर्ससँगको कुराकानीमा भनेका छन्,‘मनसुनमा बाढी सामान्य हो। तर यस वर्ष यो निकै क्रुर बन्योे।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.