कम्तिमा १३ को मृत्यु, १ सयभन्दा बढी घाइते

|

बार्सिलोना : स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा भएको छ। उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। उक्त शक्तिशाली हमलामा परी अरु पनि करिब १०० जना नराम्ररी घाइते भएका बताइएको छ। 

भ्यानबाट भएको आक्रमणमा परी ती नागरिकको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिएका छन्। स्पेनका गृहमन्त्री जोकिम फोर्नले भने,' सो घटना आतङ्ककारी नै हो, यसमा संलग्नहरुको पहिचानको खोजी हामीले गरिरहेका छौँ।'

बिहीबार अपराह्न पाँच बजे सो सहरमा नागरिकको बाक्लो उपस्थिति रहेको स्थानमा भ्यान लगेर ठोक्काई हमला गरिएको थियो। स्पेनमा भएको निकै लामो समयपछिको यो ठूलो हिंसात्मक हमला हो। सन् २००४ पछि स्पेनमा यो पहिलो पटक यस्तो हिंसात्मक हमला भएको हो। 

सो हमलाको जिम्मेवारी कुनै समूह वा व्यक्तिले पनि लिएको छैन। त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

हमलाको सर्वत्र निन्दा 

यसैबीच उक्त हमलाको विश्वव्यापी रुपमा निन्दा गरिएको समाचार छ। उक्त हमलाको निन्दा गर्दै त्यसमा संलग्नहरुमाथि कडा भन्दा कडा कारबाही गर्न विश्वका नेताहरुले माग गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्,'आतङ्ककारी हमला गरी १३ जना नागरिकको ज्यान लिने काम मानवता विरोधी जघन्य अपराध हो।'

उनले यस्तो आतङ्ककारी हमलाको तत्कालै अन्त्य हुनुपर्नेमा जोड दिँदै यसमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन स्पेन सरकार सफल हुने अपेक्षा गरेका छन्। त्यसैगरी क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो आतङ्ककारी हमलाको निन्दा गरेका छन्। 

यसैगरी उक्त आतङ्ककारी हमलाको डेनमार्कका प्रधानमन्त्री लार्स लुक्के रसमुसेनले पनि कडा शब्दमा निन्दा गरेका छन्। रममुसेनले आतङ्कवादलाई विश्वव्यापी रुपमा नै निर्मूल पार्न आवश्यक जस्तोसुकै काम गर्न पनि डेनमार्क तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.