पर्वत : दैनिक सयौं सेवाग्राहीले सेवा लिने जिल्ला विकास समिति पर्वतको कार्यालयको भवन भत्किन थालेको छ। ४० वर्षअघि काम निर्माण गरिएको भवन जीर्ण भई भत्कने अवस्थामा पुगेपछि दुर्घटनाको जोखिम बढेको हो।
सरुवा भएर आएका हरेक स्थानीय विकास अधिकारीले हजारौं रुपैयाँ खर्च गरेर आफ्नो कार्यकक्ष मर्मत गर्दै आएपनि नयाँ भवन निर्माणमा चासो नदिँदा कर्मचारी र सेवाग्राहीले दुर्घटनाको जोखिममा परेका छन्।
भवनको ढुंगाले छाएको छानाबाट पानी चुहिने समस्या रहेपनि जुनसुकै समयमा भत्कने खतरा रहेको जिल्ला विकास समितिका लेखा अधिकृत रामनाथ शर्माले बताए। ‘कार्यालयमा बसेर काम गर्नै खतरा छ’ उनले भने ‘त्रासैत्रासमा काम गरिरहेका छौं।’
जिल्लाकै विकासको चिन्ता लिने जिविसले पहिले आफ्नो कार्यालय भवनको चिन्ता लिनुपर्ने उनी बताउँछन्। ‘दैनिक सयौं सेवाग्राही सेवा लिन आउँछन्, कुनै दुर्घटना भयो भने के हुन्छ?’ उनले भने।
कर्मचारीहरु खतरा मोलेरै कार्यकक्षमा काम गर्ने गरेको बताउँछन्। चर्किएको भवन र छानाबाट पानी चुहिएको देखाउँदै जिविसका राजश्व शाखा प्रमुख चन्द्रबहादुर क्षेत्रीले भने ‘हेर्नुस् यस्तो बिजोग भएको छ, जिल्लाको प्रमुख विकासे अड्डा नै यस्तो अवस्थामा रहनु दुर्भाग्य हो।’
डेढ साताअघि लगातार वर्षाका कारण जिल्ला विकास समितिकै भवनमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको कोठा भासिएपछि जिल्ला विकास समितिका कर्मचारीहरु थप त्रसित भएका छन्।
स्थानीय विकास अधिकारी युवराज पौडेलले जीर्ण भवनमा दुर्घटनाको खतरा रहेपनि नयाँ भवन बनाउन बजेट नभएको बताए। ‘मन्त्रालयमा नयाँ भवनका लागि अनुरोध गरिरहेका छौं तर जवाफ आएको छैन’ उनले भने ‘स्थानीय स्रोतबाट भवन निर्माण गर्नसक्ने अवस्था छैन।’
पुरै भवन भत्काएर नयाँ निर्माण गर्न कम्तीमा पनि १० करोड लाग्ने अनुमान गरिएको छ। ‘१० करोड नभई भवन बन्ने अवस्था छैन, यति ठूलो रकम स्थानीय स्रोतबाट सम्भवै छैन’ पौडेलले भने। भवनमा केही बर्षयता पानी चुहिदै आएपनि गतबर्ष गएको भूकम्पका कारण भवन जताततै चर्किएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।