|

कालिकोट : आर्थिक वर्ष ०७४/७५ मा कालिकोट, जुम्ला, मुगु र हुम्लाबाट करिब १ अर्ब रुपैयाँ बराबरको स्याउ उत्पादन हुने अनुमान गरिएको छ। कर्णाली जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब १ अर्ब रुपैयाँ बराबरको स्याउ उत्पादन अनुमान  गरिएको हो।

कालिकोटमा करिब १५ सय हेक्टर जमिनमा गरिएको स्याउ खेतीमा ८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने बजारमा ४० देखि ५० रुपैयाँका करिब ३५ करोड रुपैयाँ बराबरको स्याउ बिक्री हुने आँकलन गरिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागबानी अधिकृत भक्तिराम शर्माले बताए। ‘जिल्लामा स्याउ राम्रो उत्पादन भएको छ।’ उनले भने, ‘स्याउ बिक्रीबाट करिब ३५ करोडदेखि ४० करोड रुपैयाँ भित्रिने अनुमान गरेका छौं।’

गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही कमी आएको भए पनि स्याउको राम्रो बजार मूल्य भएका कारणले स्याउ निर्यात आम्दानी वृद्धि भएको शर्माले बताए। ‘गत वर्षभन्दा स्याउ उत्पादन घटेको छ।’ उनले भने, ‘तर, स्याउको बजार मूल्य राम्रो भएको कारणले किसानको आम्दानीमा वृद्धि हुनेछ।’

जुम्लामा ८ सय ५० हेक्टर जमिनमा लगाइएको खेतीबाट ४ हजार ५ सय ५० मेट्रिक टन स्याउ उत्पादन हुने र २५ करोड रुपैयाँ बराबरको स्याउ निर्यातबाट आम्दानी बढ्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताए।

 ‘गएको वर्षको तुलनामा यो वर्ष परिपक्व दाना, स्वादिलो र रङले भरिएको छ, गुणस्तर पनि राम्रो छ, यसले राम्रो बजार पाउने अपेक्षा गरिएको छ।’ उनले भने,–‘किसानले प्रतिकेजी ४५ मा मात्र बिक्री गरे पनि जुम्ला जिल्लालाई २५ करोड रुपैयाँ आम्दानी हुने प्रारम्भिक अनुमान गरिएको छ।’

कर्णालीको स्याउको बारीमा नै प्रतिकेजी ५० रुपियाँभन्दा कममा स्याउ बिक्री नहुने देखिएकाले आम्दानी अझ बढ्ने सक्ने कर्णाली कृषि तथा खाद्य सरोकार समूह कालिकोटका अध्यक्ष कालीबहादुर मल्लले बताए। ‘गतवर्ष व्यापारीले किसानको स्याउ बगैँचामा पुगेर प्रतिकेजी स्याउको ६५ हालेका थिए।’ उनले भने, ‘अहिले नै किसानबाट प्रतिकेजी ५५ देखि ६० रुपैयाँमा खरिद व्यापारीहरुले खरिद गर्ने गरेका छन्।’

मुगु जिल्लामा पनि यस आर्थिक वर्ष स्याउको उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अघिल्लो वर्ष ९ मेट्रिक टन स्याउ उत्पादन भए पनि ४ मेट्रिक टन मात्र निर्यात भएको कार्यालयले जनाएको छ।

यो आर्थिक बर्षमा स्याउको उत्पादनमा वृद्धि भई २८ मेट्रिक टनसम्म पुग्ने अपेक्षा गरिएको यो वर्ष स्याउको उत्पादनमा वृद्धि भई २८ मेट्रिक टनसम्म पुग्ने अपेक्षा गरिएको र कार्यालयले व्यवस्थित रुपमा स्याउ जिल्ला बाहिर निर्यात गर्न स्याउ किसानका लागि ५ हजार कार्टुन वितरण गर्ने तयारी गरेको जिल्ला कृषि विकास कार्यालय मुगुका बागवानी अधिकृत तेजविक्रम मल्ल बताए। ‘गत बर्ष जिल्लामा उत्पादन भएको स्याउ निर्यात नै हुन सकेन्’ उनले भने,‘यो बर्ष स्याउ निर्यातबाट करिब १० लाख रुपैयाँ किसानले आम्दानी लिने अनुमान गरिएको छ।’

हुुम्लामा १ सय ९५ हेक्टर जमिनमा स्याउ खेती गरिएको र त्यसबाट किसानहरुले १० लाख रुपैयाँभन्दा बढी आम्दानी लिन सक्ने अनुमान २ सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत वक्तबहादुर रोकायाले बताए।

‘स्थलगत अवलोकनका क्रममा स्याउ राम्रो फलेको पाइएको छ।’ उनले भने,–‘त्यसबाट किसानले राम्रो आम्दानी लिने आशा गरिएको छ।’सडक संजालले नछोएको हुम्ला स्याउ राम्रो उत्पादन हुने गरेको भएपनि त्यसका बिक्रि बितरणमा समस्या भएको स्याउ किसान रामबहादुर रोकायाले बताए। ‘स्याउ राम्रो उत्पादन हुने गरेको छ।’ उनले भने, ‘स्याउ उत्पादन भए पनि बिक्री गर्न निकै ग्राहो हुने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.