साहित्य

'बा' ईश्वर हुन्, आदर्श हुन् (संस्मरण)
SHARES

भदौ ५, २०७४

    ‘बा’ कति प्यारो, मीठो र भरलाग्दो शब्द। हुनत व्याकरणले बालाई एउटा अर्थपूर्ण शब्दको रूपमा मात्र मान्ला तर मेरालागि यो एउटा ब्रह्माण्ड नै हो र मैले होस सम्हालेदेखि ‘बा’ भन्ने शब्दलाई एउटा सम्पूर्ण वाक्य, अझ भनौँ सम्पूर्ण विश्व अटाउने र अत्यन्तै भरपर्दो छतको रूपमा ग्रहण गरेको हुँ। 

    आज झन् त्यो वाक्य यस्तो भएको छ कि अब मैले त्यो बा नाम गरेको विश्वसँग, बा नाम गरेको त्यो ब्रह्माण्डसँग सपनामा बाहेक, तस्बीरमा बाहेक र स्मृतिमा बाहेक कहिल्यै साक्षात्कारसमेत गर्न पाउने छुइनँ। बा हुनुहुन्थ्यो भनेर प्रमाण दिनका लागि म, मेरा भाइहरू र बहिनीहरूलाई नै देखाउनु जरुरी हुन्छ। अझै मेरी कान्छी फुपू हुनुहुन्छ र उहाँलाई त हामीलाई देख्दा आफ्नो दाजुको तिर्सना मेटिन्छ रे! 

    महाभारतको वन पर्वमा युधिष्ठिरलाई जब यक्षले पिताको परिचय सोध्छन्, युधिष्ठिरले पितालाई आकाशको रूपमा र मातालाई धर्तीको रूपमा परिभाषित गरेका हुन्छन्। आज पनि त्यही परिभाषा विश्वव्यापी रूपमा प्रचलनमा छ, चर्चित छ। पिताका  बारेमा सामान्य रूपमा दिएको जस्तो लाग्ने त्यो उत्तर आज आएर पो म बुझिरहेको छु कि आकाश के रहेछ? वास्तवमा आकाश नै हो रहेछ पिताको परिभाषा। धरती नै हो रहेछ आमाको परिभाषा। 

    अहिले जब बा पनि हुुनुहुन्न र आमा पनि हुुनुहुन्न, लाग्छ, पृथ्वी र आकाश नभएको मेरो संसार यसैगरी चलिरहेको छ, चल्दोरहेछ। तर म आफैँले भने त्यो छतको, आकाशको उत्तरदायित्व निर्वाह गर्न सकेको जस्तो पटक्कै लाग्दैन किनकि म पनि सन्ततिको पिता, बा, बाबा, पितामह भइसकेको छु। लाग्छ, बा जस्तो मेरालागि अपनत्वबोधक शब्द कतै फेला पार्न सकेको छुइनँ। 

    मलाई मात्र हो कि अरूलाई पनि हो, पिताजीका लागि भनिने त्यो ‘बा’ नै मेरालागि फराकिलो, चौडा र पटाङ्गिनी जस्तै शब्द लाग्छ। हुनत मलाई ब्रह्माण्ड जस्तै लागेको शब्द ‘बा’ सिङ्गो  वाक्य जस्तै किन लाग्यो? त्यो भन्न सक्दिनँ। त्यसको आधार पनि थाहा छैन मलाई। 

    सम्भवतः ‘आमा’ भन्ने सम्पूर्ण शब्दको थालनीपश्चात नै बा भन्ने ब्रह्माण्ड वाक्यको शब्दोच्चारण मैले गरेँ हुँला। यो कुरा आमालाई पनि त्यति याद थिएन कि मैले पहिले बा भनेँ वा आमा? तर बाल मनोविज्ञानका आधारमा भन्नचाहिँ सकिन्छ कि मैले आमा पछि बोलेको शब्द पक्कै नै बा नै हुनुपर्दछ। तर आडभरोसका लागि भने बाको नै धाक धक्कु लगाउने र सबैभन्दा ठूलो, बलियो र पैसा भएको मान्छेमा बालाई नै मैले आफ्नो महानायकको रूपमा पहिचान लिएँ, जुन प्रभाव अब झन् गाढा हुँदै जाँदै छ।

    जबजब म आफ्नो पहिचान र परिचयको गाढा लेपनमा लिप्त हुन्छु, त्यसबेलामा बाको यत्ति धेरै याद आउँछ कि मेरा आँखा सजल हुन्छन्। मेरी झन्डै सात वर्षकी नातिनी विश्रुता, उसका बहिनीहरू सुदेष्णा, आरुषी, प्रसिद्धीहरूले जबजब बाको तस्बीरनेर गएर बाबाको बालाई प्रणाम भनेर आफ्ना प्रपितामहलाई, प्रमातामहलाई ढोग्नका लागि ती सानासाना हात जोडेर निधारमा पुर्‍याउँछन् अनि झनझन् मलाई बाको सम्झनाले कोक्याउँछ र घाँटीमा एउटा विषादपूर्ण आवाजविहीन आवाजले ख्याप्प पार्छ। किनभने उनीहरू बाका पनातिनीहरू हुन्  र उहाँको वंशवृक्षको चौथो शाखामा पर्दछन्। कोही उहाँकै काश्यप गोत्री हुन्, कोही आत्रेय गोत्री र कोही शाण्डिल्य गोत्री हुन्। हुन् त उहाँकै पनातिनीहरू।  

    उनीहरूकै  माध्यमले बा यो संसारमा अमर भइरहनु हुनेछ, म पनि, मेरो छोरो पनि र मेरा छोरीहरू पनि। त्यसले बालाई नचिनेर पनि प्रणाम गरिरहँदा र बाबाको बा भनेर सम्बोधन गरिरहँदा मलाई हुने स्वर्गीय अनुभूतिको कुनै सीमा नहुने रहेछ किनभने ती सन्तति तन्तु नै हाम्रो विवाहका अभीष्ट पनि हुन् र जीवनको परिक्रमा भनेको नै फेरिफेरि जन्मनुमा छ। फेरि जन्मनु भनेको पुनरुत्पादन नै हो, जो क्रमबद्ध हुँदोरहेछ। 

    मलाई लाग्थ्यो, मेरो बालाई कुनै पनि कालले लान सक्दैन अर्थात् मेरा बाको निधन मैले सपनामा पनि कल्पना गर्न सक्दैनथेँ। तर बा बेला मौकामा भन्नुहुन्थ्यो रे कि त्यो म मरेपछि मात्र आउनेछ। अलिअलि ज्वरो आउँदा पनि आमालाई कराउँदै भन्नुहुन्थ्यो रे कि त्यसलाई छिटो बोलाइदे। आमाले बुझ्नुभएको थियो कि यो ज्वरो एक दुई दिनमा सन्चो भइहाल्छ, किन छोरालाई काठमाडौँदेखि हतारहतार गरी बोलाउनु? तर बालाई ०६१ सालको भदौको ३१ गते राती १२ बजे यसरी अचानक टाउको दुखेछ कि उहाँले आमालाई समेत टाउको दुख्यो मात्र भन्न भ्याउनुभएछ र सदाका लागि हामीलाई छोडेर जानुभएछ। 

    बारम्बार मलाई भन्नुभएको थियो– हेर छोरा, अठार पुराणको अन्तमा व्यासले भन्नुभएको छ कि अठार पुराणको निष्कर्ष भनेको परोपकार पुण्य हो अनि अर्कालाई पीडा दिनुचाहिँ पाप हो। यही हो तँलाई मेरो उपदेश वा सन्देश। मैले थाहा पाएसम्म एकै समयमा लगातार १८ पुराण लगाएको बाले नै हो, जुन मैले आजसम्मको हाम्रो सामयिक समाजमा देखेको, सुनेको हुँ।

    अहिले हामी अनुमान गर्न सक्छौँ कि त्यो कडा स्वरूपको मस्तिष्कघात हुनुपर्छ। हामीलाई लाग्थ्यो, बालाई केही भएको छैन। छाकमा झन्डै एक मानाको भात घिउसँग खानै पर्ने उहाँको साढे सात दशकदेखिको चलन थियो। साहुको पहिलो छोरोको रूपमा उहाँको यस धर्तीमा अवतरण हुँदादेखिको खानपानको शोख अन्तिम दिनसम्म पनि उस्तै रह्यो।

    कुनै दिनमा बाले ख्यालख्यालमा भनेजस्तै असोज १ गते दिनको ३ बजेतिर म महोत्तरी जिल्लाको अस्थायी रूपमा बस्न भनेर तयार गरिएको तर बस्दै आइएको निवास सीतापुरको घरमा पुग्दा बालाई घाटमा अन्तिम यात्राको व्यवस्था गरेर माहिलो भाइ हिमालय घरमा आइपुगेको रहेछ। त्यो भाइ पनि ०६९ सालको घोडेजात्राको दिन सडक दुर्घटनामा हामीलाई यहीँ छोडेर बाको सेवामा गयो। 

    जीवन एउटा अनपेक्षित यात्राको अथाह गन्तव्य र परिणामहीन परिणामको पुञ्ज हो रहेछ। सोचेजस्तो पनि नहुने र सोचेर मात्र पनि नहुने। जे हुने हो, भएरै छाड्ने र गणितको शैलीमा सबै आफैँ मिल्ने उत्तरजति। प्रश्नविनाको उत्तर या उत्तरविनाको प्रश्न, जे सम्झे पनि हुने र नसम्झे पनि हुने। 

    बाले गरेको जस्तै भविष्यवाणी पुग्यो– त्यो म मरेपछि मात्र किरिया गर्न आइपुग्छ। नभन्दै त्यस्तै भयो। वि.सं. १९७६ साल हली तिहारका दिन यस पृथ्वीमा आउनुभएका मेरो बा २०६१ सालको हरितालिकाका दिन अर्थात् तीजका दिन निर्वाण प्राप्त गर्नुभयो वा महाप्रस्थानमा निस्कनुभयो। पहिले पहिले घरबाट साइत हेरेर निस्कने मेरो बा बाहिर जाँदाका प्रस्थानमा बा सधैँ फर्कनुहुन्थ्यो तर यस पटकको घरभित्र नै सबैले देख्ने गरी भएको आफू यहीँ बसेर गर्नुभएको महाप्रस्थानमा फेरि कहिल्यै फर्कनुभएन।

    त्यो महायात्राबाट फर्कनु पनि हुन्न पक्कै। सायद त्यसैले महाप्रस्थान भनिएको हो मृत्युलाई। आजसम्म पनि त्यो पत्याउने गाह्रो छ र सपनामा भेटिँदा त्यही रमाइलो र गर्विलो आवाजले मलाई बिहान उठ्दा लाग्छ, बासँग फेरि भेट पक्कै हुन्छ बिपनामै। नभए पनि सपनामा। त्यो पनि साइत हेरेर भेट हुने रहेनछ। 

    जीविकोपार्जनका लागि गरेको संघर्षका ती दिनहरू र जीवनलाई सहजताका साथ सामान्यीकरण गर्न भोगेका ती संघर्षका गाथाहरू भन्दा बाको मृत्यु धेरै गहु्रँगो हुँदोरहेछ। सबै दुःख दर्द एकातिर र बाको कमी अर्कोतिर। त्यो नै भारी रहेछ। 

    भन्नै पर्ने हुन्छ कि कसैलाई पनि बाआमाको मृत्यु भोग्नुपर्ने दिन नआओस् तर फेरि यो पनि ध्रुवसत्य हो कि त्यो दिनचाहिँ भोग्नै पर्छ। ती जीवित देवताको अनुहार सम्झँदा जहिले पनि गर्वले आँखाभरि आँसु आउँछ र वेदनाले मुटु भक्कानिन्छ। गर्व यस कारणले लाग्छ कि म उहाँको छोरो हुँ र मुटु यस कारणले भक्कानिन्छ कि अब यो जुनीमा मैले बालाई कहिल्यै भेट्नेछैन।

    मलाई देवता वा ईश्वरका बारेमा खासै जानकारी छैन, विश्वास पनि कति गर्ने, थाहा छैन र त्यो दर्शनप्रति मेरो त्यति विश्वास पनि छैन तर बा ईश्वर हो भन्ने कुरामा म विश्वस्त छु कि म उहाँको सृष्टि हुँ, जसलाई उहाँले पाल्नुभयो, पोस्नुभयो र दीक्षित गराउनुभयो। यो सन्सारसँग मिलेर बस्न सिकाउनुभयो। नीतिका कुरा गरेर नैतिकताको पाठ पढाउनुभयो।

    बारम्बार मलाई भन्नुभएको थियो– हेर छोरा, अठार पुराणको अन्तमा व्यासले भन्नुभएको छ कि अठार पुराणको निष्कर्ष भनेको परोपकार पुण्य हो अनि अर्कालाई पीडा दिनुचाहिँ पाप हो। यही हो तँलाई मेरो उपदेश वा सन्देश। मैले थाहा पाएसम्म एकै समयमा लगातार १८ पुराण लगाएको बाले नै हो, जुन मैले आजसम्मको हाम्रो सामयिक समाजमा देखेको, सुनेको हुँ। दीक्षित हुन सोमयज्ञ गरेको सुनेको हुँ तर अठार पुराण लगाएको मैले अन्त थाहा पाएको छैन। उहाँले लगाउनुभयो २०२३ सालदेखि २०२६ सालसम्ममा। 

    उहाँ बारम्बार एउटा कहानी सत्यझैँ सुनाउनुहुन्थ्यो, देउरालीटारकी कुनै राउतनी आमैको कथा। सधैँ छोरो राउतले आमालाई नेपाल भनेको काठमाडौँ जानलाई पैसा, चामल, घिउ, राडी, चिउरा, गुन्द्रुक र कुराउनी भनेर हैरान गर्दोरहेछ रे! लक्का जवान सेनामा जागिर खान जान लागेको होला। तर आमासँग यो देऊ, जान्छु जागिर खान भनेर हैरान पार्दोरहेछ। एक दिन आमाले छोरालाई चुलेसी लिएर आइज भनेर भनेपछि छोराले चुलेसी ल्यायो अनि आमाले आफ्नो बुढेसकालको झोलिएको स्तन चोलाबाट बाहिर निकालेर त्यही चुलेसीले काट्न खोजिछन् अनि छोराले हत्तनपत्त चुलेसी खोसे आमालाई यसो किन गरेको भनेर आत्तिँदै सोधेछ। आमाले मार्मिक कुरा भनिछन्, यो क्षत्रिनीको दूध खाएर हुर्केको छोराले जागिर खान जानका लागि के खोजेका घरबाट? जाने, कर्म गर्ने, जागिर खाने, कमाउने, जहान छोराछोरी पाल्ने। राम्रो काम गर्ने, नाम कमाउने। जा आजैबाट त्यसो भए। म केही पनि दिन्नँ। अनि ती राउत नेपाल गएर ठूलो पदमा पुगेका थिए रे! वास्तवमा यो कथा बाले हामीलाई सुनाउनुको कारण थियो, आफ्नो बाटो आफैँले तय गर्ने। कर्मयोगी हुने भन्ने आशय थियो। 

    बाको ८५ वर्षको जीवनमा मैले पनि ५१ वर्ष उहाँको प्रत्यक्ष छहारीमा बिताएँ। २०११ साल बैशाख २५ गते जन्मेको म। एउटा मनोविज्ञान पनि होला त्यो, मैले कुनै पनि समय आफूलाई असुरक्षित सम्झिन उहाँको जीवनभर। अहिले लाग्छ, म बाविना कतै सुरक्षित छुइनँ कि! मैले यो आभास आफ्ना सन्ततिलाई गराउन सकेको छैन, यो मेरो स्वघोषणा हो  किनभने उहाँकै छतमा हामी सबैले सुरक्षा महसुस गरिरहेका थियौँ। उहाँकै इच्छाबमोजिम म १३ वर्षको उमेरदेखि घर छोडेर बाहिर पढ्न हिँडेँ। उहाँको चाहना संस्कृत पढोस् र पण्डित बनोस् भन्ने थियो, मैले त्यो पूरा गर्न सकिनँ तर अहिले आएर लागेको छ, मैले त्यसबेलामा संस्कृत पढेको भए अहिले मलाई ग्लानि हुने थिएन, संस्कृत नजानेकोमा। 

    म अहिले महाभारतकालीन शिक्षाको आजको शिक्षामा परेको प्रभावसँग सामाजिक न्यायको बारेमा अनुसन्धान गर्न थालेको छु र संस्कृतको अल्पज्ञानले मलाई अत्यास लागिरहेको छ। 

    त्यसपछि उहाँकै चाहनाअनुसार आफ्नै खुट्टामा टेक्ने काम गर्न थाल्दा उहाँसँग सामान्यतया वर्षका एक पल्ट वा दुई पल्ट मात्र भेट हुन्थ्यो। बाको गुनासो हुन्थ्यो, अरू त बिदामा आउँछन्, तँ पनि आउने गर्नु। म हुन्छ भन्थेँ र खोइ केले केले हो, जानै चाँजो पर्दैनथ्यो। २०६१ सालको जेठमा काठमाडौँ आउनुभयो र यस सालको दशैँ काठमाडौँमा नै मनाउने गरी असारमा जानुभएको थियो। म यसकारणले पुलकित भएको थिएँ कि बालाई यसपटक त काठमाडौँमा नै दशैँ मनाउन मनाएँ। एक पटक सीतापुर पुगेर आउने वाचा त बाले नै गर्नुभएको थियो। म दशैँमा बा आउने गरी दिन गन्न थालेको थिएँ, जस्तो कि पहिले पहिले बा नै म घर आउने दिन गनेर बस्नुहुन्थ्यो घटस्थापनाका दिनदेखि। केटाकेटी घर पुग्थे र त्यसको दुई वा तीन दिनपछि म पुग्थेँ, जनकपुरतिर अलमलिएर, साथीभाइ भेटेर।

    वास्तवमा मेरो पुख्र्यौली अहिलेको काभ्रेपलाञ्चोक जिल्लाको दाप्चामा रहेछ तर मभन्दा चार पुस्ता पहिले नै अहिलेको सिन्धुलीको हैबार, देउरालीटार हुँदै ग्वाल्टारमा बसाइँ सर्दै आएको रहेछ। त्यसैले मेरो बा र मेरो जन्म ग्वाल्टारमा नै भयो र अहिले पनि ग्वाल्टारमा हाम्रो स्थायी बसोबास छ। हुनत हामी अहिले कोही पनि त्यहाँ बसेका छैनौँ। घर छ, गोठ छ, खेत छ, बारी छ। जस्ताको तस्तै छ। हामी ग्वाल्टारका नै हौँ र स्थायी बसोवासका रूपमा त्यहीँ नै हो। अहिले भूकम्पले घरविनाको गाउँ बनेको छ त्यो। 

    सधैँ एकनास कहाँ पो हुँदो रहेछ र! २०६१ साल भदौको ३१ गते राती दर खाएर सुतेका मात्र थियौँ सबै परिवारका सदस्यहरू, करिब २ बजेतिर फोन आयो। बा टाउको दुखेर बेहोस हुनुभएको छ भनेर सीतापुरबाट नचिनेको कुनै केटाको आवाजमा। मैले अनुमान गरेँ र बिस्तारै सबैलाई उठाएर भनेँ कि बा त बिरामी हुनुभएको छ र बेहोससमेत हुनुहुन्छ रे! सबै फोन गर्न थाले र घरमा दर खान आउन नभ्याएको भाइले पनि फोन गरेर त्रासदीपूर्ण तर संभावित धु्रवसत्यलाई अनुमान गर्‍यो। 

    हामीले सीतापुरमा बासँगै रहेको भाइ हिमालयलाई बालाई जसरी पनि काठमाडौँ लिएर आउनू भन्दा उसले अब औषधि गर्नतिर लाग्नुभन्दा तपाईंहरू नै बालाई भेट्न छिटो आउनू भन्दा मैले त्यतिबेरचाहिँ आकाश खसेजस्तै ठानेँ। सायद त्यसैले हो, युधिष्ठिरले बालाई आकाश मानेको जस्तो लाग्यो। तर आशा बाँकी थियो अझै हुनुहुन्छ कि भन्ने। 

    एकछिनपछि भाइले करिब करिब सङ्केत गर्‍यो कि अब बा हुनुहुन्न। त्यो समयको म अहिले पनि कल्पना गर्न सक्दिनँ, कस्तो भयो मेरो मनमा। वास्तवमा जीवनमा बाको महत्त्व मैले त्यतिबेर अनुभूत गरेँ। अहिले त्यही भाइ पनि सडक दुर्घटनामा पर्‍यो र ०६९ साल चैत २८ गते हामीलाई यतै छोडेर सदाका लागि त्यस्तो ठाउँमा गयो, जहाँ बा पहिले नै पुगिसक्नुभएको छ। भनौँ, बाको सेवाका लागि ऊ नै मभन्दा पहिले गयो। नियमले त बाआमापछि मेरो पालो हो र पनि उसले मलाई र आमालाई नै यतै छोडेर गयो। सायद त्यसैको पीरले पनि हुनुपर्छ, आमा पनि उसको बरखीको केही दिनमा नै हामीलाई छोडेर जानुभयो। बाको कमीको क्षतिपूर्ति खासै नहुने भए पनि आमाको त झन् कसरी खप्ने? अनि बा पनि नहुने र आमा पनि नहुने भएपछि यो संसार साँच्चै नै अकल्पनीय संत्रासयुक्त नै लाग्दोरहेछ। 

    यो कुनै गुनासो गर्न वा बिलौना गर्नका लागि कथेको कथा होइन। मात्र ‘बा’ भन्ने ईश्वरको अवतारको निर्वाणप्राप्तिको एउटा सम्झना मात्र हो। अर्थात् मेरा बा रामप्रसाद उपाध्याय अधिकारीको मोक्षको एउटा सम्झना मात्र हो। न कुनै दम्भ , न कुनै विषाद, न कुनै आकांक्षा, न कुनै छलछाम, ८५ वर्षको आयुसम्मको आफ्नो लामो जीवनयात्रामा। आफ्नो सिन्धुली र रामेछाप अर्थात् पुरानो पूर्व २ नम्बर क्षेत्रमा शिक्षा र सामाजिक कामका लागि दानवीरका रूपमा प्रख्यात बाले २००८ र २०१५ सालमा नै हाइस्कुल सञ्चालनार्थ उसैबेलामा एक हजार रुपैयाँ पटक पटक दिनुभएको रहेछ। ग्वाल्टार, तीनमाने, बतासे, राम्चे, किराँते, फलामे, बाँझे, तीनपाटनमा विद्यालय खोल्दा लाग्ने खर्चसमेत बेहोर्ने मेरा बाले हामीलाई कहिल्यै पनि ती कुरामा घमण्ड नगर्न सम्झाइरहनुभयो। 

    म नियतिले विद्यालय शिक्षक हुनु र शिक्षक शिक्षाका लागि मात्र खोलिएको काठमाडौँ शिक्षा क्याम्पसको संस्थापकसमेत हुनुमा उहाँको त्यही शिक्षाप्रतिको पुरानो लगावले नै मनोवैज्ञानिक काम गर्‍यो कि भन्ने पनि लाग्छ। 

    आज बाको महाप्रस्थानको झन्डै १३ वर्षतिर आइपुग्दा र आफैँलाई समयसँग फर्केर हेर्दा लाग्छ, के साँच्चै मेरो बा यस दुनियाँमा हुनुहुन्न त? सत्य त त्यही हो, हुनुहुन्न। तर लाग्छ। कतै मलाई बोलाइरहनु भएजस्तो, यसो उभिएर र दाहिने हातको चोरी औँलो यसो उठाएर, मन्दमन्द हाँस्दै यसो भन्दै रहनुभएको त होइन– परोपकाराय पुण्याय पापाय परपीडनम्। यो हेक्का राखेस्। तँ म नै हुँ र म नै तँमा सरेको हुँ। म कतै गएको छुइनँ र पनि तैँले मलाई देख्न सक्दैनस्। म तँलाई देखिरहेको छु। तँ आफ्नो कर्तव्यबाट कतै च्यूत नहुनू। बारम्बार जीवन आउनु र बारम्बार जानु एउटा नियति हो तर मोक्षको लागि गरिने सत्प्रयासचाहिँ अनवरत गरिरहनू। 

    संसारमा विना बा कोही पनि यो संसारमा आएको छैन र आउने पनि सायद छैन। अमर पनि कोही छैन र सबै मरिने कुराबाट जति डराए पनि मरिन्छ भनेर कोही पनि सोच्दैन। भोलि त मर्नु छ भनेर अर्काको अहित गर्न पनि कसैले छोडेको छैन। तर पनि बाको छहारी नभएको जीवनले सिर्जनशीलतालाई अगाडि बढाउन सक्छ र? भन्ने प्रश्न त सधैँ ताजा नै रहनेछ।

    त्यसैले आजको दिनमा ती साँच्चै नै ईश्वरका अवतारलाई सम्झनु नै कृतज्ञ सन्ततिको कर्तव्य हुनजान्छ। सायद त्यसैले पूर्वीय दर्शनमा बालाई सम्झने दिनको पनि व्यवस्था गरेको हो। म पनि मेरा बा र मेरा बा जस्तै जजसका बा हुनुहुन्न, सबैका बाहरूप्रति नतमस्तक हुँदै कृतज्ञता जाहेर गर्छु र उहाँहरूको सम्झनामा शब्द सुमनाञ्जलि चढाउँछु।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • BHATTARAI BANDHU

    बा’ कति प्यारो, मीठो र भरलाग्दो शब्द। हुनत व्याकरणले बालाई एउटा अर्थपूर्ण शब्दको रूपमा मात्र मान्ला तर मेरालागि यो एउटा ब्रह्माण्ड नै हो र मैले होस सम्हालेदेखि ‘बा’ भन्ने शब्दलाई एउटा सम्पूर्ण वाक्य, अझ भनौँ सम्पूर्ण विश्व अटाउने र अत्यन्तै भरपर्दो छतको रूपमा ग्रहण गरेको हुँ। हरिजी मलाइ यहि यथेष्ट लाग्यो | सम्पूर्ण कुरा यसैमा समाविष्ट छन् | पुरै पढ्दै जादा मा पनि भाव विभोर भए | मेरा ९५ वर्षीय "बा"२०७२ साल मंसिरमा काठमाडौँमा परम्पदमालीन हुनु भयो | यहाको जीवन सिटका धेरै कुरा मिल्दाजुल्दा पाए | मैले पनि संस्कृत विद्या विचैमा छोडेर आधारमा अडकिएको जीवन व्यतीत गरी रहेको छु | हामीहरुले उहाको सम्झनामा विभिन्न विद्वानहरुको विचार र दृष्टिकोण समेटेर "कर्मयोगी तिलकराम भट्टराई " वार्षिकीमा प्रकाशित गरेका छौ | जीवन यस्तै रहछ | उहाहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नु मात्र त रहे छ | मा पूर्णत: सहमत छु -बा शव्द जीवित इश्वरलाई जनाउने शव्द हो | ब्रह्माण्ड हो | धन्यवाद यथार्त लेखनका लागि |

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]