प्रेम, लागुऔषध, घरेलु हिंसा र दीर्घरोग आत्महत्याका मुख्य कारण

|

र्वत : पछिल्लो समय पर्वतमा आत्महत्याका घटना बढ्दै जान थालेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ७ जनाले आत्महत्या गरेका छन्। गएको आर्थिक वर्षमा जिल्लामा ३१ जनाले देहत्याग गरेका थिए भने यस वर्ष साउनमा मात्रै ७ जनाले आत्महत्या गरेका हुन्। आत्महत्या गर्नेमा युवा युवतीदेखि वृद्धवृद्धा सम्मका व्यक्तिहरु रहेका छन्।

साउन महिनामा मात्रै झुन्डिएर ४ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर १ जना र हामफालेर २ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। पर्वतको जलजला गाउँपालिका वडा नं. ७ का हिमाल परियार, फलेवास नगरपालिका वडा नं. १० का भासबहादुर क्षेत्री, मोदी गाउँपालिका वडा नं. १ का मैतलाल विक र विहादी गाउँपालिका वडा नं. १ का तेजबहादुर गुरुङले झुन्डिएर आत्महत्या गरेका थिए भने विहादी गाउँपालिका वडा नं. १ की शान्तिदेवी क्षेत्रीले विष सेवन गरेर आत्महत्या गरेकी हुन्।

त्यस्तै, ललितपुर महानगरपालिका वडा नं. १५ की मुना राना र सुनसरी धरान उपमहानगरपालिका वडा नं. ११ का अंकिन गुरुङले पर्वतमा रहेको नेपालकै अग्लो कुस्मा ज्ञादी झोलुङ्गेपुलबाट सँगै हामफालेर आत्महत्या गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले युवा युवतीहरु प्रेम र लागुऔषधकै कारणबाट आत्महत्या गर्ने गरेको अनुसन्धानमा पाइएको बताए। कतिपय युवायुवतीहरु प्रेममा धोका पाएपछि र प्रेम सम्बन्धमा जोडिएपछि घरपरिवारले नस्वीकार्ने र अन्तिम विकल्पका रुपमा आत्महत्यालाई रोज्ने गरेको खनालको भनाइ छ। त्यस्तै, वृद्धवृद्धाहरुमा कतिपय दीर्घ रोगी भएका कारण र औषधीले समेत निको नभएपछि छुटकारा पाउन आत्महत्या गर्ने गरेको पाइएको पनि उनले बताए।

महिलाहरुको हकमा घरेलु हिंसा नै आत्महत्याको प्रमुख कारण भएको पाइएको प्रहरी अनुसन्धानमा पाइएको छ। पर्वतमा आर्थिक वर्ष ०७१/७२ मा ३६ जनाले, ०७२/७३ मा २९ जनाले र ०७३/७४ मा ३१ जनाले आत्महत्या गरेका छन्। नेपालमा प्रत्येक औसत २ घण्टामा १ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.