|

काठमाडौं : नेपाली कांग्रेसले व्यवस्थापिका संसदको सोमबारको बैठकमा अनुपस्थित भएका ३ सांसद्लाई स्पष्टिकरण सोध्ने भएको छ। संसद्‍मा संविधान संशोधन प्रस्तावका विषयमा मतदान हुँदा कांग्रेसका ३ सांसद् उपस्थित भएनन्।

२ सय ७ सांसद् सदस्य रहेको नेपाली कांग्रेसले सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन व्हिप जारी गरेको थियो। तर डोटीकी सांसद् कल्पना सोब, मोरङकी कविता कुमारी सरदार र चितवनकी गीता वाग्ले उपस्थित भएनन्।

'तीनै  जनालाई व्हिप उल्लंघन गरेकोमा स्पष्टिकरण सोधिनेछ। उहाँहरुको व्यवहार गैर जिम्मेवारपूर्ण छ,' कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने।

किन आएनन् ?

डोटी गएकी सांसद् कल्पना सोब पार्टीको सम्पर्कमा आउन नचाहेको चिनकाजी श्रेष्ठले बताए।

त्यस्तै कविताकुमारी सरदार विदेश भ्रमणमा गएको भन्ने जानकारी आएको श्रेष्ठले बताए। गीता वाग्लेले श्रीमान् बिरामी भएकाले आउन नसकेको जानकारी गराएकी छिन्।

३९ जना अनुपस्थित

संविधन संशोधन विधेयकको पक्ष\विपक्षमा भएको मतदानमा ३९ जनाले भाग लिएनन्। ६ सय १ जना सांसद् रहेको वर्तमान संसद्‍मा ९ जनाको संसद् सदस्यता (मृत्यु\राजीनामा र नियुक्त हुन बाँकी) रिक्त छ। अहिले सांसद् सदस्य ५ सय ९२ छन्।

यसमध्ये ३९ जनाले मतदान गरेनन्। भर्खरै राप्रपाबाट फुटेर निर्माण भएको पशुपति शम्शेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका १८ सांसद् (जो अझै संसद‍मा राप्रपाकै सांसद् छन्), मालेका ५ सांसद् र परिवार दलका २ सांसद्सँगै सत्ता पक्ष र विपक्षका अन्य केही सांसद् पनि मतदानमा सहभागि भएनन्। नेकपा मालेका महासचिव सिपि मैनालीले आफ्नो पार्टीले 'संशोधन विधेयक' का सम्बन्धमा हुने मतदान बहिष्कार गर्ने घोषणा गरेका थिए। 

संविधान संशोधन विधेयक पारित हुनका लागि ३ सय ९५ मत चाहिने भएपनि ३ सय ४७ मतमात्रै विधेयकको पक्षमा खस्यो। २ सय ६ मत विपक्षमा खस्यो। त्यसपछि सभामुख ओनसरी घर्तीमगरले संशोधन विधेयक अस्विकृत भएको घोषणा गरिन्।

विधेयक फेल भएपछि एमालेका सांसद्‍हरुले खुसी मनाउँदै टेबुल ठोकेर खुसी मनाए।

' देशको हित विपरित जबर्जस्ती ल्याइएको यो विधेयक असफल हुनु थियो, भयो। विगतमा संसद् बहिष्कार गर्ने र विरोध गर्ने दलहरु पनि यो विधेयकको छलफलमा भाग लिनुभयो। जून यसको सकारात्मक पक्ष हो,' एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङले भने। उनले विधेयक फेल भएपछि सरकारमाथि गम्भिर नैतिक प्रश्‍न उठेको टिप्पणी गरे। 

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले विधेयक फेल हुनु 'अस्वभाविक' रहेको बताए। उनले सरकारले पर्याप्त तयारी नै नगरी संविधान संशोधन विधेयक पेश गरेका कारण यस्तो अवस्था सिर्जना भएको आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.