|
फाइल फोटो

चीन र भुटानको सीमा क्षेत्र  डोकलाममा रहेका सेना नहटाएको भन्दै भारतसँग असन्तुष्ट देखिएको चीनले फेरि चेतावनी दिएको छ। मंगलबार चीनले भारतलाई चेतावनी दिँदै भनेको छ, ‘हाम्रो सेना भारत घुस्यो भने उथलपुथल मच्चन्छ।’

चीनको विदेश मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गर्दै भनेको छ, ‘यदी हामीले पनि भारतले जस्तै सीमानामा बनेका पूर्वाधार बेइजिङका लागि खतरापूर्ण छन् भन्ने बहाना बनाएर भारतमा छिर्‍यौं भने हंगामा मच्चिन्छ,’ विदेश विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘डोकलाममा चीनले सडक बनाउँदा नयाँ दिल्लीलाई खतरा छ भन्ने भारतको तर्क बेतुकको र निन्दनीय छ।’

गत जुन १६ तारिखदेखि डोकलाम सेक्टरमा भारत र चीनबीच सीमा विवाद बढेको छ। चीनले डोकलाम क्षेत्र आफ्नो भएका कारण यस क्षेत्रबाट भारतले सेना नहटाएसम्म वार्ताको कुनै संभावना नरहेको बताउँदै आएको छ।

चीनको विदेश विभागले निकालेको पछिल्लो विज्ञप्तिमा आफ्नो सम्प्रभुता जोगाउने मामिलामा चीन सजग रहेको बताइएको छ। ‘चीनलाई कुनै व्यक्ति तथा राष्ट्रको अतिक्रमण सह्य छैन,’ विज्ञप्तिमा भनिएको छ। भारतीय सेनाले गैरकानूनी तरिकाबाट सीमा उल्लंघन गरेको चीनको आरोप छ।

३० सालपछिको सबैभन्दा ठूलो विवाद

१६ जुनमा भारतीय सेना डोकलाम क्षेत्रमा प्रवेश गरेपछि सुरु भएको यो विवाद पछिल्लो ३० वर्षयता भारत र चीनबीच देखिएको सबैभन्दा ठूलो सीमा विवाद हो। १९८७ मा अरुणान्चल प्रदेशको चू घाटीमा पनि दुई देशका सेनाहरुबीच यस्तै लामो विवाद चलेको थियो।

भारतलाई तर्साउँदै

चीनको जनमुक्ति सेना (पीएलए) ले सीमा विवादकै दौरान यस क्षेत्रमा सैन्य अभ्यास गरेको छ। पछिल्ला ४५ दिनमा चीनले दोस्रो पटक विवादित क्षेत्रमा अभ्यास गरेको हो।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार यस सैन्य अभ्यासमा पीएलएका १० युनिट सहभागि थिए। यसमा उड्डयन यूनिट तथा सैन्या दस्ता समेत सहभागि थिए। चीनले यस अभ्यासको ५ मिनेटको भिडियो पनि सार्वजनिक गरेको छ। यसअघि चीनले तिब्बतमा पनि यस्तै अभ्यास गरेको थियो।

चीनको एक पत्रिकार द लियान्हे जाओबाओले पीएलएले भारतलाई तर्साउने उद्देश्य राखेर अभ्यास रहेको समाचार छापेको छ। भारत र चीनका सेना डोकलाममा आमने–सामने बसेको २ महिनाभन्दा बढी समय भइसकेको छ।

कसरी सुरु भयो विवाद ?

विवादको पहिलो कारण चीनले डोकलाम सेक्टरमा बनाएको सडक हो। यस इलाकामा चीन र भूटानको सिमाना छ। भारतको सिक्किम पनि यही जोडिन्छ। त्यसैले भारत र भूटानको आरोप छ कि चीनले भूटानको सीमाना मिचेर सडक बनाउन सुरु गरेको छ। चीन यस कुरालाई मान्न तयार छैन। उसले नियम विपरीत भारतीय सेना आफ्नो भूभागमा छिरेको आरोप लगाउँदै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.