|
फाइल फोटो

काठमाडौं : राप्रपा विभाजन हुँदा पशुपति शम्शेर राणालाई साथ दिएका तीन जना केन्द्रीय सदस्यले निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरको सूचीबाट नाम हटाउन माग गरेका छन्। केन्द्रीय सदस्यहरु प्रल्हाद शाह र डा. भीमसेन गुरुङले मंगलबार आयोगलाई पत्र लेखी आफ्नो नाम हटाउन माग गरेका छन् भने सविना कुमारी सिंह शाहले आफ्नो हस्ताक्षर नै नक्कली भएको दावी गरेकी छन्।

राणाले राप्रपा प्रजातान्त्रिक गठनका लागि साउन २२ गते निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउँदा प्रल्हाद शाह र डा. भीमसेन गुरुङको हस्ताक्षर पनि संलग्न थियो। तर उनीहरुले साउन ३१ गते नै दल विभाजनमा आफूहरुको समर्थन छैन भनी आयोगमा निवेदन दिए पनि भदौ ५ गते सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिक दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिँदा आफूहरुको हस्ताक्षरलाई पनि प्रमाणको रुपमा लिएको उल्लेख गरेका छन्। शाह र गुरुङले आयोगलाई दिएको निवेदनमा भनिएको छ 'अत २०७४/४/२२ मा दिएको पशुपति शम्शेर जबरालाई दल विभाजनका लागि समर्थन गर्ने व्यहोरा उल्लेख भएको सूचीबाट मेरो नाम हटाइ उक्त निवेदन समर्थकको गणनामा मेरो नाम समावेश नगरी उक्त निवेदन खारेज गरिपाउँ।'

त्यस्तै केन्द्रीय सदस्य सविना कुमारी सिंह शाहले भने दल विभाजनमा समर्थन गर्दै निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर कीर्ते भएको दावी गरेकी छन्। उनले मंगलबार आयोगलाई बुझाएको पत्रमा भनेकी छन् ' ‍...जबराले म निवेदकको समेत नाम गैरकानुनी रुपमा मेरो सही छाप कीर्ते गरी निर्वाचन आयोगमा निवेदन संलग्न गरेको जानकारी हुन आयो' उनले भनेकी छन् 'मैले मेरो नाम राख्न कुनै सहमति नदिएको हस्ताक्षर नगरेको अवस्थामा मेरो सहमति विना फर्जी हस्ताक्षर गरी पठाइएकोमा मेरो घोर आपत्ती छ।'

साउन २२ गते पशुपति शम्शेर जबराले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा केन्द्रीय सदस्यहरु प्रल्हाद शाह र डा. भीमसेन गुरुङ निर्वाचन आयोगमा नै उपस्थित भएर हस्ताक्षर गरेका थिए। तर उनीहरुले साउन ३१ गते दल विभाजनमा सहमति नभएको जनाएका थिए। केन्द्रीय सदस्य सविना कुमारी सिंह शाह भने साउन २२ गते निर्वाचन आयोगमा उपस्थित भएकी थिइनन्। उनले आफ्नो हस्ताक्षर कीर्ते गरेको दावी गरेकी छन्।

हेर्नुस् प्रल्हाद शाह, डा. भीमसेन गुरुङ र सविना कुमारी सिंह शाहले मंगलबार निर्वाचन आयोगमा बुझाएको पत्र : 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.