|

कालीकोट : सुर्खेत-जुम्ला कर्णाली राजमार्गको २ सय ३२ किलोमिटर सडकखण्ड आसपासका किराना, घुम्ती तथा चिया पसलहरुमा पेट्रोलीयम पदार्थ बिक्री हुने गरेको छ। कर्णाली राजमार्गमा पर्याप्त पेट्रोल पम्प नहुँदा घुम्ती पसलहरुमा पेट्रोलीयम पदार्थको व्यापार फस्टाएको छ।

यसरी जथाभावी बेचिने गरेको पेट्रोलीयम पदार्थको गुणस्तर भने मापन हुने गरेको छैन। ‘राजमार्गका घुम्ती पसलदेखि खाद्यान्न पसलसम्म पेट्रोलीय पदार्थ पाइने गरेको छ,’ पचालझरना गाउँपालिका –१ हस्तबहादुर खड्काले भने, ‘त्यसको गुणस्तर मापनलगायतका न्यूनतम मापदण्ड पूरा भएका छैनन्।’

खाने पानीको बोत्तलमा राखेर बेचिने पेट्रोलीयम पदार्थ प्रयोग गर्दा सवारीको इञ्जिनमा समेत खराबी आउने गरेको कर्णाली राजमार्गका बस चालक नारायण गिरीले बताए। ‘सवारी त्यस्तो पेट्रोलीय पदार्थ हाल्दा सवारी साधन बिग्रिने गरेका छन्,’ उनले भने। यस्ता पेट्रोलीयम पदार्थमा मिसावट हुने गरेको उनको भनाइ छ।

यसरी पसलमा पाइने पेट्रोलीयम पदार्थ मूल्य पनि दोब्बर पर्ने गरेको मोटरसाइकल चालक मलिम रावत बताउँछन्। ‘राजमार्गका पसलहरुमा पाइने पेट्रोलीयम पदार्थ महङ्गो मूल्यमा बिक्री हुने गरेको छ,’ उनले भने, ‘यसरी बिक्री हुने पेट्रालीयम पदार्थ कसैको चासो गएको छैन।’

पश्चिममा नेपालगञ्जमा मात्र नापतौल विभागको कार्यालय छ। जनशक्ति अभावका कारण पश्चिमका सबै जिल्लामा अनुगमन हुन नसकेको नापतौल विभागको कार्यालय नेपालगञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.