|

विराटनगर : एक महिना अघिदेखि भारतमा हल्ला चलेको चोटी काट्ने (महिलाको कपालको चुल्ठो काट्ने) हल्ला नेपालको विराटनगरमा पनि आइपुगेको छ। अदृश्य शक्तिले कपाल काटेको, भूतले काटेको, चुँडेलले काटेको वा किराले काटेको हल्ला भारतमा व्याप्त हुँदा विराटनगरमा मंगलबार राती भएको घटनाले यहाँका मानिस तरंगित बनेका छन्।

स्कुल, बजार, पसल तथा चोक–चोकमा कपाल काटेको घटनाको बारेमा बहस भइरहेको छ। विराटनगर–१२ सैनिकटोलकी १४ वर्षीया पिंकी कर्णको मंगलबार राति आफ्ना काका दीपक कर्णको घरमा सुतेकी थिइन्।

सुतेकै अवस्थामा कर्णको कपाल काटिएको घटना फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए। कपाल काटेको घटना सार्वजनिक भएलगत्तै त्यहाँ स्थानीयको भीड लागेको थियो। १९ इन्च लामो पिंकीको केश ९ इन्चमा झरेको छ। ‘मोरङमा पनि नयाँ घटना देखियो,’ मोरङ प्रहरी प्रमुख एसपी बिसीले भन्नुभयो, ‘कसले कपाल काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

कपाल काटिएको भेटिए पनि कसले, किन र केका लागि काटेको भन्ने विषय अनुसन्धानकै क्रममा रहेको बिसीको भनाइ छ। कपाल काटेको घटना सत्य भए पनि अदृश्य रूपमा भएको हो या होइन यसै भन्न नसकिने उनको भनाइ छ। घटनास्थलबाट कपाल काटिएको विषयमा कुनै त्यस्तो अनुसन्धानको आधार फेला नपरेको उनले बताए।

हल्लै हल्लाकाबीच भएको यस्तो घटनाले सबैलाई आश्चर्यचकित र आतंकित बनाएको पिंकीका काका दिपक कर्णले बताए। ‘राती तीन जना दिदी-बहिनी सुतेका थिए,’ उनले भने, ‘बिहान उठ्दा भतिजी छोरी पंकीको कपाल बेड मुनी भुइँमा थियो।’विभिन्न स्थानमा कपाल काटिएपछि बेहोस हुने गरेको भए पनि पिंकी अहिले स्वस्थ्य रहेको उनको परिवारले जनाएको छ। पिंकीले भने कपाल काट्दा आफूलाई केही थाहा नभएको बताएकी छन्। पिंकीले पनि बिहान उनकी काकीले सुतेको ठाउँबाट झरेको कपाल भुइँबाट टिपेर देखाउँदा थाहा पाएकी थिइन्।

के हो घटनाको रहस्य?

अन्तर्राष्ट्रिय न्यूज च्यानल बिबिसीका भारतस्थित रिपोर्टर विकास पाण्डेले २० दिन अघि चुल्ठो काटिएको घटनाको विषयमा लामो रिपोर्ट तयार पारेका थिए। उनले भारतका विभिन्न स्थानमा भएका यसखाले घटनाका पीडित महिलाहरुको बयान लिएका छन्। अहिलेसम्म घटना के कारणले हो यसै भन्न नसकिए पनि कुनै तान्त्रिक या धामी झाँक्रीले यो हल्ला चलाएको हुनसक्ने औंल्याइएको छ। ताकी मानिसमा हल्ला फिंजाएर आफू उपचार गरिदिने र फाइदा लिने तान्त्रिकहरुको हतकण्डा भारतमा थुप्रै हुने गरेको छ।

यस्तै भारतका वरिष्ठ पत्रकार याहिया सिद्दीकीले भने समाजमा व्याप्त भयलाई रोक्न स्थानीय प्रशासनले पहल गर्नुपर्नेमा जोड दिएका छन्। घटना साँचो हुन पनि सक्ने तर्क गर्दै उनले अलौकिक ढंगले नभएर कुने संक्रमणका कारण हुनसक्ने बताएका छन्। त्यसतर्फ सरकारले उच्चस्तरीय मेडिकल टिम चेकजाँचका लागि खटाउनु आवश्यक भएको बताएका छन्।

विराटनगरका पत्रकार तथा जीवशास्त्री रामचन्द्र अधिकारीले भने किराले कपाल काटेको हल्ला सुनेको बताए। ‘पहाडतिर भैंसे किरा भन्थे,’ अधिकारीले भने, ‘यसै भन्न सकिएको छैन, कुनै रोग वा किराका कारण पनि चुल्ठो काटिएको हुनसक्छ, अलौकिक होइन।’ कुनै किराले पनि चुल्ठो काट्न भने सक्ने उनको भनाइ छ।

नेपालमा पहिलो पटक आएको यो हल्लाले मानिसमा त्रास फैलाएको छ। भारतका जानकारहरुले यो घटनाको पछाडि कुनै चमत्कार या अलौकिक शक्ति नभएको दाबी गरे पनि के हो भन्नु कुरा प्रष्ट भएको छैन। यद्यपि घटनाबाट पीडित महिलाहरुमा भने मानसिक रुपमा पीडामा परेको बुझ्न र देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.