|

तनहुँ : पहाडी जिल्ला तनहुँ सदरमुकाम दमौलीको जग्गा नेपालका ठूला शहरको भन्दा पनि महंगो भएको पाइएको छ। जिल्लामा जग्गाको मूल्याङ्कन निर्धारण गर्ने समितिले पृथ्वी राजमार्गको दायाँ बायाँ पर्ने दमौलीको जग्गाको मूल्य प्रतिरोपनी १ करोड ८० लाख रुपैयाँसम्म निर्धारण गरेको छ। गत असार ३० गते बसेको जग्गाको न्यूनतम मूल्याङ्कन निर्धारण समितिको बैठकले दमौली पोखरा सडकको नक्शा नम्बर साविक फराकचौर ९/ग र ९/घ मा पर्ने जग्गाको प्रतिरोपनी मूल्य १ करोड ८० लाख रुपैयाँ निर्धारण गरेको हो।  

त्यस्तै समितिले दमौलीको व्यास नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सफासडकको जग्गाको प्रतिरोपनी १ करोड ६५ लाख रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ। जिल्ला पशुसेवा कार्यालयदेखि वन कार्यालय हुँदै गणेशमान चोकको शाखा मार्ग र जोडिएका सहायक सडकमा पर्ने जग्गाको मूल्य प्रतिरोपनी ९० लाख रुपैयाँसम्म निर्धारण गरेको छ । 

व्यास नगरपालिकाको सुर्वण मार्गदेखि जलदेवी मार्गको पूर्वी भाग र भोर्लेटार मार्गका शाखा सडक अन्तर्गतको जग्गाको मूल्य प्रतिरोपनी ६० लाख रुपैयाँ निर्धारण गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेलले बताए। जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गाको न्यूनतम मूल्य निर्धारण समिति रहेको हुन्छ।

त्यस्तै समितिको सदस्यमा कर दर्ता सेवा कार्यालयका कर अधिकृत, मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, जिल्ला वन कार्यालय, तनहुँ उद्योग वाणिज्य संघ, वैंकर्स संघका प्रतिनिधि गरी ७ जना हुनेछन्। प्रमुख मालपोत अधिकृत पोखरेलले दमौलीको जग्गाको मूल्याङ्कन भन्दा बढीमा कारोबार भएको पाइएको बताए। त्यसैले गर्दा दमौलीको जग्गा नेपालका मुख्य मुख्य शहरहरुको तुलनामा बढी महंगो भएको उनले बताए ।

दुलेगौंडामा ५३ लाख, डुम्रेमा ४४ लाख

तनहुँकै शुक्लागण्डकी नगरपालिकामा पर्ने दुलेगौँडामा पृथ्वी राजमार्ग दायाँबायाँको जग्गाको मूल्य प्रतिरोपनी ५३ लाख रुपैयाँ निर्धरण गरिएको छ। दुलेगौडाको उदेन ढुंगाको ७/क, ७ ख, ७/ग नक्सा नम्बरको जग्गाको मूल्य ५३ लाख रुपैयाँ निर्धारण गरिएको हो। शुक्लागण्डकी नगरपालिकाको भित्री शाखा मार्गमा भने प्रतिरोपनी २० लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

बन्दीपुर गाउँपालिकाको पृथ्वी राजमार्ग अन्तर्गतमा पर्ने जग्गाको प्रतिरोपनी ४४ लाख रुपैयाँ निर्धारण गरिएको छ। आँबुखैरेनी गाउँपालिकाको बजार क्षेत्रको जग्गाको प्रतिरोपनी १९ लाख रुपैयाँ निर्धारण गरिएको कार्यालयका प्रमुख मालपोत अधिकृत पोखरेल जानकारी दिए।

मालपोतका लेखापढी व्यवसायीहरु मार्फत् जिल्लाका हरेक स्थानको मूल्यको जानकारी लिएर समितिमा छलफल गरी जग्गाको निर्धारण गर्ने गरिएको पोखरेलले बताए। ‘हरेक कित्ताको मूल्य निर्धारण गर्नुपर्ने भए पनि तनहुँमा कर्मचारी, सवारी साधन, बजेटको अभावले हरेक स्थानमा पुगेर निर्धारण गर्न सकिएको छैन,’ उनले भने ‘जहाँ बजार क्षेत्र विस्तार गर्ने ठाउँ हुँदैन, त्यस्ता ठाउँमा जग्गाको मूल्य वृद्धि हुन्छ।’

जग्गा कारोबारबाट साढे २४ करोड

मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७३/०७४ मा २४ करोड ६६ लाख २ हजार ८ सय ८८ रुपैयाँ राजश्व संकलन गरेको छ। कार्यालयले ग्रामीण क्षेत्रबाट ८ करोड ६६ लाख २२ हजार र नगर क्षेत्रबाट १५ करोड ९९ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको मालपोत कार्यालयका नायब सुब्बा कृष्ण गौतमले जानकारी दिए।

कार्यालयले आव २०७३/०७४ मा ग्रामीण क्षेत्रमा ५ हजार ९ सय ५९ र नगर क्षेत्रमा १३ हजार २ सय ५१ वटा गरी १९ हजार २ सय १० वटा लिखत पारित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.