डडेल्धुरा : अमरगढी नगरपालिका ३ का महेशराज बोहरा कृषि व्यवसायमा लागेको ४ वर्ष भयो। उनले ८ रोपनी जमिन भाडामा लिएर कुखुरापालन, तरकारी खेती र माछापालन गर्दै आएका छन्। कुखुरा, माछा र तरकारी बिक्री गरेर एक वर्षमा पाँच लाख भन्दा बढी आम्दानी गर्छन्।
गाउँमै कृषि व्यवसाय गर्नुअघि बोहराले दुई पटक विदेश जाने प्रयास पनि गरे। तर विदेशमा चित्तबुझ्दो काम नपाइने थाहा पाएपछि आफ्नै गाउँमा केही गर्ने सोँच बनाए। ५ वर्षअघि विदेश जान राहदानी (पासपोर्ट) बनाएर केही म्यानपावर समेत धाएका उनी अहिले कृषि पेशामा लागेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल छन्।
२०६१ सालमा डडेल्धुरा सदरमुकामको महेन्द्र उच्च माविबाट एसएलसी पास गरेका बोहराले उच्च मावि पनि त्यहीँ पढे। तर घरायसी कारणले पढाइ अघि बढाउन सकेनन्। पढाइ छाडेर घरकै काममा व्यस्त भए। घरमा कृषि पेशा गरेर गुजारा नचल्ने देखेपछि उनले विदेश जाने सोँच बनाए।
विदेश जान भनेर उनले काठमाडौंको म्यानपावरमा पासपोर्ट बुझाए र अन्तर्वार्ता पनि दिए। अन्तर्वार्ताकै क्रममा विदेशमा गर्नुपर्ने कामबारे थाहा पाएपछि उनलाई जान मन लागेन। 'विदेश जाने भनेर दुई चोटी काठमाडौं गएर अन्तर्वार्ता दिएँ’ बोहराले भने, 'विदेशमा गएर चर्पी पनि सफा गर्नुपर्छ भन्ने थाहा पाएपछि मेरो मानसिकता परिर्वतन भयो।’ विदेशमा गएर शौचालय सफा गर्नु भन्दा आफ्नै माटोमा केही गर्ने अठोट लिएर डडेल्धुरा फर्किए।
काठमाडौं आउँदा जाँदा उनले चितवनमा कुखुरा फार्म देखेका थिए। काठमाडौंबाट डडेल्धुरा फर्किँदा एक पटक त्यसबारे बुझ्ने इच्छा भयो। ‘त्यहाँ कुखुरा पालेर आफ्नै देशमा धेरै आम्दानी गरेको देखेँ, चितवनका मन्छेले गर्न सक्छन् भने मैले किन सक्दिन जस्तो लाग्यो,’ बोहराले भने, 'मैले यो कुखुरापालन गर्ने प्रेरणा चितवनबाट पाएको हुँ ।’
त्यसपछि २०७० सालदेखि उनले कुखुरापालन नै सुरु गरे। व्यवसाय सञ्चालन गर्नको लागि सुरुमा कृषि विकास बैंकबाट पाँच लाख ऋण लिए। त्यसपछि एक पछि अर्को गर्दै तरकारी खेती र माछापालन पनि सुरु गरे। अहिले उनको खोरमा एक हजार कुखुरा छन्। एउटा माछापोखरी छ। तीन रोपनी जमिनमा दुई पोलीहाउसभित्र काउली, गोलभेडा, भान्टा, सिमला खुर्सानी, काँक्रा आलु लगायतका तरकारीहरु लगाएका छन्।
उनले उत्पादन गरेको माछा घरबाटै बिक्री भएर सकिन्छ। माछा पोखरी नजिकै माछा किन्नेहरुको भीड नै लाग्छ। तरकारी र कुखुरा पनि घरमा नै लिन आउँछन्। बोहराले पालेका कुखुरा सुदूरपश्चिम पहाडी जिल्लाहरु डोटी, बैतडी, अछाम र बझाङसम्म बिक्री हुन्छ।
तरकारी किन्नको लागि बागबजारका व्यापारीहरु उनको घरमा नै पुग्छन्। गाउँका मानिसहरुले पनि उनको घरबाट तरकारी किनेर लैजान्छन्। ‘अहिले वार्षिक १८ देखि २० क्वीन्टलसम्म टमाटर उत्पादन गर्छु,१०/१२ क्वीन्टल आलु फलाउँछु,’ बोहराले भने, '५ देखि ७ क्वीन्टल वार्षिक रुपमा काउली उत्पादन हुन्छ।'
विदेश गएका साथीहरु भन्दा आफ्नो आम्दानी राम्रो भएपछि हिजोआज उनी खुशी छन्। बोहराले आफूले मात्र आम्दानी गरेका छैनन्। दुई जाना लाई रोजगारी समेत दिएका छन्।
बोहरालाई जिल्ला कृषि विकास कार्यालयले प्लाष्टिक घर, बीउ, बेर्ना तथा माछामा लाग्ने रोगहरुको विषय जानकारी दिने गरेको छ। विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी हुने उनी बताउँछन्। आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवाहरु विदेश पलायन हुनु नपर्ने उनको निश्कर्ष छ। तर जे काम गरे पनि राम्रोसँग बुझेर र लगनशील भएर गर्न सुझाव पनि छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।