बैतडी : साउन\ भदौको उच्च बहावका बेला पनि महाकाली नदीको तटिय क्षेत्रका नागरिक ज्यानको जोखिम मोल्न बाध्य छन्। नदीमा पुल नहुँदा तल्लोसोराडका बासिन्दा जोखिम मोलेर डुंगामार्फत महाकाली नदी वार–पार गर्छन्।
भारतीय सीमासँग नजिक रहेका उनीहरू विभिन्न कामका लागि भारतीय सीमावर्ती बजार जाने गर्छन्। जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बासिन्दाले जोखिम मोलेर डुंगामार्फत महाकाली नदी वारपार गर्ने गरेको पञ्चेश्वरको कुलाउ माविका प्रधानाध्यापक मोतिसिंह मंगोलाले बताए।
‘तल्लोसोराडका १० भन्दा बढी घाटमा डुंगामार्फत महाकाली पार गर्नुपर्ने बाध्यता छ। तर पनि अहिलेसम्म पुल निर्माणको विषयले प्राथमिकता पाएन,’ उनले भने। नदीको बहाव बढेका बेला घाट बन्द हुने गरेको छ। तर डुङगामा वारपार गर्ने क्रममा रोकिदैँन।
‘वर्षा बढी भएसँगै महाकाली नदीमा पानीको बहाव बढ्छ,’ शिवनाथ गाउँपालिका सनकोटका मानसिंह साउदले भने, ‘भारतको दिल्लीबाट घर फर्किदा मैले डुंगाबाटै नदी तर्नुपर्यो।’
तल्लोसोराडका खैरनी घाट, कुस्मौद घाट, डिम्बर घाट, ढोया घाट, धर्म घाट, नागार्जुन घाट, पञ्चेश्वर घाट, विनायक घाट, हल्दु घाट, बलार घाटलगायत ठाउँबाट डुंगामार्फत नदी तर्ने गरिएको छ। दैनिक उपभोग्य सामग्री किन्न भारतीय बजार जानुपर्ने भएकाले वर्षात्को समयमा जोखिम हुने गरेको स्थानिय बताउँछन्। महाकाली नदीमा यो वर्षको साउन र भदौमा मात्रै २ युवा र एक बालिका बेपत्ता भएका छन्।
भएन पुल निर्माण
महाकालीमा पुल निर्माणका लागि स्थानीयले वषौदेखि माग गरिरहेका छन्। तर अझै पुल बनेन। नदीमा बगेर एक वर्षमा ६ जनाभन्दा बढीले अकालमै ज्यान गुमाइसकेका छन्।
किन बनेन पुल ?
दुई देशको सीमाक्षेत्रमा पर्ने भएकाले पुलि निर्माणको प्रक्रिया पनि दुई देशीय समझदारीपछि मात्रै पुल निर्माणको प्रक्रिया अघि बढ्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए।
‘दैनिक उपभोग्य समानका लागि पनि नागरिक भारतीय बजारमा निर्भर छन्। तर पुल निर्माणको कुराले प्राथामिकता पाउदैन्,’ उनले भने, पक्की पुल नसकिएपनि झोलुङ्गे पुलको टटकारो आवश्यकता छ।’
सीमानाका झुलाघाटमा पक्की पुल निर्माणका लागि एक दशक देखि कुरा उठेको हो तर अहिले सम्म पक्कीपुल निर्माणको प्रक्रियाले सार्थकरुप पाउन सकेको छ्रैन्। जिल्लाको मुख्य सीमा नाकाको रुपमा रहेको झुलाघाटमा नागरिकहरुले डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलमा आवतजावत गर्नुपर्ने बाध्यता छ।
सीमा क्षेत्रमा एसएसबीको दादागिरी
जिल्लाको तल्लोसोराडका विभिन्न घाटहरुबाट गौराका लागि नेपाल फर्किने नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले दुख दिने गरेको छ। मजदुरीका लागि भारतका विभिन्न शहरहरुमा गएका नेपालीहरु अहिले गौरा पर्वका लागि घर फर्किदै छन्।
तर सीमा क्षेत्रमा उनीहरुले चेकजाँचका नाममा एसएसबीबाट सास्ती खेप्नुपरेको छ। एसएसबीले चेकजाँचका नाममा पैसा माग्ने गरेको तल्लोसोराडका रामसिंह साउदले बताए। ‘बढी समान लिएको भन्दै ५ सयदेखि हजार रुपैयाँसम्म माग्छन्,’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।