|

लहान : आफ्नै ओछ्यानमा सुतेको, काम विशेषले हिँडेको समयमा मात्र होइन, शौचालय गएको समयमा पनि चुल्ठो काटिने क्रम बढेको भन्दै विशेषतः सामाजिक सञ्जालमा तस्बिर र स्ट्याटसले भरिन थालेपछि मधेसका महिलाहरुमा मानसिक आतंक सिर्जना भएको छ।

सिरहाको मुख्य बजार मानिने लहान नगरपालिका-५ मा शनिबार दिउँसो ३५ वर्षीया महिला र १० वर्षीया बालिकाको गरी दुई जनाको कपाल काटिएपछि त झन् महिलाहरु त्रसित भएका छन्। काम विशेषले आफन्तको घरबाट शनिबार दिउँसो फर्किएपछि घर पुगेर छिमेकीले ‘कपाल काटिएछ’ भन्दै देखाएपछि ३५ वर्षीया भुली भनिने शवनम खातुन बेहोस भएकी थिइन्। उनकै छिमेकी घरकी १० वर्षीया सकिना खातुन दिउँसो आफ्नै ओछ्यानमा कोल्टे फर्केर सुतिरहेका बेला पछिल्तिरको केही कपाल काटिएको भेटिएको गाउँलेहरु बताउँछन्।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दासका अनुसार शनिबार दिउँसो सिरहा नगरपालिका–१४ खिरौनाकी करिब २६ वर्षीया महिलालाई पनि बेहोस अवस्थामा सिरहा अस्पतालमा ल्याइएको जानकारी दिए।

डा. दासले बेहोस महिलाकी आफन्तलाई उद्धृत गर्दै शौचालय जाने क्रममा बेहोस भएको र घरका मानिसले उठाएर ल्याउँदा केही कपाल काटिएको भन्ने सुनाएको बताए। ‘चिकित्सा विज्ञानको आधारमा हिँड्दा हिँड्दै वा सुतेको समयमा कपाल काटिने गरेको भन्ने विषयले महिलामा परेको मनोवैज्ञानिक भय हटाउन जरुरी छ’ डा. दासले भने।

भारतमा महिलाको कपाल अज्ञात व्यक्तिले काट्ने गरेको हल्ला फैलिएपछि सिरहामा पनि त्यसको असर परेको देखिएको छ। आफ्नो कपाल काटिनबाट जोगाउन पछिल्लो समयमा प्रायः हरेकले अरुको आँखा नलागोस् भन्दै घरको ढोकामा लसुन, खुर्सानी, निमको पात, कागती झुन्ड्याउन थालेको स्थानीय बताउँछन्।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले कपाल काटिन्छ भन्ने महिलाहरुमा परेको मनोवैज्ञानिक त्रासले आतंक फैलिएको सुनाए। परिवारका सदस्य, आफन्तजनले त्यसको विषयमा महिलालाई परामर्श दिनुपर्ने प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

महिलाको कपाल काट्ने घटनामा कसैको हात हुन सक्ने अनुमान पनि गर्न थालिएको छ। कुनै ठाउँका महिला स्वयंले आफ्नो कपाल काटेर आतंक फैलाउन खोजेको हुन सक्ने आशंका गरिएको भए पनि त्यसको पुष्टि भने हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.