|

लहान : साउनको अन्तिम हप्ताको अविरल वर्षा र बाढीपछि सिरहाका विभिन्न ठाउँमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। सिरहा जिल्ला सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा दैनिक ४० देखि ५० भाइरल ज्वरोका बिरामी आउने गरेको बरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा.चुमनलाल दासले जानकारी दिए।

उनका अनुसार बाढी रोकिएसँगै बढेको गर्मीका कारण जिल्लाको दक्षिण पश्चिम र पूर्वी भेगका सबै उमेर समूहका भाइरल ज्वरोका बिरामीहरु अस्पतालमा जाँचका लागि आउने गरेका छन्। 

५० शय्याको सिरहा जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीहरुको चाप बढेपछि आइतबारसम्म भुइँमै राखेर पनि उपचार गरिएको डा. दासले बताए। ‘मौसम परिवर्तनका कारणले भाइरल ज्वरोका बिरामीको संख्या बढेको हो’ डा. दासले भने ‘पानी उमालेर पिउने, सरसफाइमा ध्यान दिने, मास्क लगाउँदा अर्कोमा नसर्न सक्छ।’

सिरहाको जिल्ला अस्पतालसहित लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल, एक सय चार स्वास्थ्य चौकी, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, चार वटा शहरी स्वास्थ्य क्लिनिक र एउटा सामुदायिक स्वास्थ्य इकाइ गरी प्रायः सबै सरकारी स्वास्थ्य संस्थामा फाट्टफुट्ट भाइरल ज्वरोका बिरामीहरु आउने गरेको स्वास्थ्य कार्यालय सिरहाका प्रमुखसमेत रहेका डा. दासले बताए। 

एकीकृत जनस्वास्थ्य अभियान गरिंदै
अविरल वर्षात्पछि आएको बाढीले विभिन्न गाउँ डुबानमा परेको भए पनि अहिलेसम्म सिरहामा झाडापखालाको प्रकोप भने नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। यद्यपि पानीजन्य र सरसफाईको कमीले झाडापखालाको प्रकोप फैलिन सक्ने भएकाले जिल्लाका सबै स्वास्थ्य संस्थालाई पूर्ण सतर्कतामा राखिएको जनाइएको छ। 

स्वास्थ्य कार्यालयक प्रमुख डा. दासले सिरहाको अति बाढी प्रभावित औरही, इटारी प्रसाही र लगडीगदियानीमा ‘एकीकृत जनस्वास्थ्य अभियान’ सञ्चालन गर्ने तयारीमा रहेको बताए। अभियान अन्तर्गत व्यक्तिगत सरसफाइ ध्यान दिन लगाउने, स्वास्थ्य जाँच, औषधि वितरण र बालबालिकालाई सर्वोत्तम पिठो बाँडिने जनाइएको छ। 

‘झाडापखालाले मृत्यु भएको छैन’
सिरहाको औरही गाउँपालिका ५ औरहीमा भदौ २ गते स्थानीय रामभरोस साफीकी १८ महिने छोरी भारती साफीको झाडापखालाले नभई अन्य कारणले मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.दासले भदौ १ गते ज्वरो आएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएकी नाबालिकालाई ज्वरो कम भएपछि घर लगिएको थियो।

राति १ बजेतिर पातलो दिसा र बान्ता भएको भोलिपल्ट बिहान ९ बजेसम्म सामान्य भइसकेकी नाबालिका एक्कासी बेहोश भएपछि अभिभावकले पुनः स्वास्थ्य केन्द्रमा जाँचपछि सिरहा आएर निजी क्लिनिकमा छोरीलाई देखाएका थिए। सञ्चो नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.