|

काठमाडौं : रियालिटी शो नेपाल आइडलका प्रतिस्पर्धीबारे सार्वजनिक रुपमा जात, धर्म र समुदाय अनुसार समर्थन र विरोध भएकोप्रति नेपाल आइडल आयोजकले विरोध जनाएको छ। मंगलबार विहान आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै नेपाल आइडलले प्रतिस्पर्धीलाई एक जाति वा समुदायको मात्रै सीमित गर्ने अधिकार कसैलाई नभएको बताएको छ।

'अरू पर्दा ठीक, आफू पर्दा बेठीक र आफ्नो जात, धर्म अनि समुदायको हुदा ठीक अरूको हुदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा भएका देशकै आइडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन। यदि कुनै प्रतियोगी वा प्रतियोगीका सम्बन्धितले त्यस्तो गरेमा सो प्रतियोगीको दावेदारी खारेज हुन सक्छ, यदि त्यस्तो हुन गएमा त्यसको जिम्मेवारी कसले लिने?' नेपाल आइडलको आधिकारिक फेसबुकमा लेखिएको छ।

नेपाल आइडलका प्रतिस्पर्धीले पाएको भोट सार्वजनिक नगरेको र निश्चित जाति वा समुदायलाई विभेद गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणीहरु सार्वजनिक भएपछि नेपाल आइडलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। उसले भोटिङको नियम परिवर्तन गर्न नसक्ने पनि प्रष्ट पारेको छ।

कसैको सनक र रोदनको भरमा कार्यक्रमको नियम परिवर्तन गर्न नसकिने भन्दै आयोजकले नेपाल आइडल शोको बारेमा विवाद नगर्न सचेत गराएको छ। 'कसैको सनक र अरण्ड्य रोदनको भरमा Fremantle Media Ltd. ले नेपालका लागि भनेर यसको फरमेट र त्यसले तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शोमा विवादित गराएर यदि ती प्रतिभालाइ असर पर्ने भयो भने यति दुख गरेर सफलताको यो शिखरसम्म पुगेका नेपाल आमाका यी उत्कृष्ट सन्ततिहरुको पीडाको भागीदार को बन्ने?'

नेपाल आइडलका प्रतिस्पर्धीलाई भोट माग्दा समर्थकहरुले जाति र समुदाय अनुसार भोट माग्ने पनि गरेका छन्। त्यसप्रति पनि सचेत गराउँदै आयोजकले आइडलको गरिमालाई कुनै जाति वा समुदायमा नखुम्च्याउन पनि आग्रह गरेको छ। उसले भनेको छ ' AP1 र नेपाल आइडलका लागि सबै प्रतियोगीहरू एकसमान छन् र रहनेछन्।'

नेपाल आइडलको गाला राउण्ड अन्तर्गत अब निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास गरी चार जना प्रतिस्पर्धी बाँकी छन्। एक जना प्रतिस्पर्धी आफ्नो प्रस्तुतिमा दर्शकबाट पाएको भोटको आधारमा बाहिरिनेछन् भने बाँकी तीन जना फाइनल राउण्डमा जानेछन्।

एपीवान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो नेपाल आइडलमा पहिलो हुनेले २० लाख, फस्ट रनर अपले १५ लाख र सेकेण्ड रनर अपले १० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। नेपाल आइडलको ग्राण्ड फिनाले भने कतारको दोहामा हुने भएको छ।

हेर्नुहोस् नेपाल आइडलले के लेखेको छ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.