|

भक्तपुर :  ऐतिहासिक एवम् साँस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा संकटमा परेको छ। आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा संकटमा परेको हो।

नवदुर्गा गण नाचको लागि आवश्यक विभिन्न देवी देवताहरुको १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न छन्। उनको परिवारका सदस्य समेत यो पेशाबाट विमुख हुँदै गएका छन्। पूर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने हो यसको उत्तर कसैसँग छैन।

मुकुण्डो नभए नवदुर्गा नाच समेत प्रभावित हुन्छ। प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने मुकुण्डो तयार नभए नवदुर्गा नाच समेत बन्द हुन सक्छ। भक्तपुरको सबैभन्दा महत्वपूर्ण नाचको रुपमा रहेको नवदुर्गा नाचको मुकुण्डो बनाउन नयाँ कालिगढ तयार गर्ने सम्बन्धमा कसैको ध्यान जान सकेको छैन।

नवदुर्गा देवगणको १३ वटा मुकुण्डो तीन महिनामा तयार गर्नुपर्छ। घण्टाकर्ण चतुर्दशीका दिन मुकुण्डो बनाउने कार्यको शुभारम्भ हुन्छ। मुकुण्डो वडादशैंको महानवमीको दिन प्रदर्शन गर्न तयारी अवस्थामा राख्नुपर्छ।

मुकुण्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ्ग, सुन, मैदा, मटितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायतका सामाग्री आवश्यक पर्छ। हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदार समेत पाउन मुश्किल रहेको चित्रकार बताउँछन्।

यसरी बनाइन्छ मुकुण्डो

मुकुण्डो बनाउन पहिला माटोलाई धुलो बनाएर चाल्ने, त्यसपछि मैदाको माड बनाई धुलो माटो हाल्दै मुछ्ने र डल्ला डल्ला बनाई राखिन्छ। सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनुपर्छ। अनिमात्र मकुण्डो बनाउने कार्य शुरु हुने चित्रकारले बताए। 'मुकुण्डो बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनुपर्छ। एउटा मुकुण्डो सुकाउन कम्तिमा दुई हप्ता लाग्छ' उनले भने।

मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुन्डो बनाउनलाई माटोको पुजा गर्नुपर्छ। यसरी माटोलाई पूजा गर्न आउने बाजागाजा सहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ।

नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले वर्षेनी मुकुन्डो बनाउनका लागि अक्षयकोष वा उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गरेका छन्। मुकुण्डो बनाउन आवश्यक रकमको जोहो भए मात्र नयाँ पुस्ता तयार हुन सक्ने उनले बताए।

मुकुण्डो बनाउन कामदारको ज्याला, आवश्यक सामाग्री खरिद र आफ्नो ज्याला समेत जोड्दा वर्षेनी दुईलाख भन्दा बढी खर्च हुने गरेको उनले बताए। मुकुण्डो बनाउन दुईवर्ष अघिदेखि नियमित रुपमा गुठी संस्थानले १५ हजार र संस्कृति मन्त्रालयले ५० हजार दिने गरेको उनले बताए। 'अन्य स्रोत सहयोग दातासँग मागेको चन्दा हो', उनले भने, 'आम्दानी भन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुण्डो नबनाउन दवाब दिने गरेको छ।'

गुठी संस्थानले २०५२ सालमा वार्षिक ६ सय रुपैंयाबाट बढाएर १५ हजार पुर्‍याएको हो भने मन्त्रालयले दुईवर्ष यता वार्षिक ५० हजार रुपैयाँ दिन थालेको हो। उनले रकम नपुग भएको विषयमा गुठी संस्थानमा पटक पटक गुनासो लिएर गए पनि हुन्छ हुन्छ भन्ने तर सहयोग भने नगर्ने गरेको गुनासो गरे। उनले भने, 'गुठीका हाकिम वर्षदिन नपुग्दै सरुवा हुन्छ र अर्को आउँछ। कति ताकेता गर्नु? आश्वासन बाहेक केही पाइएन।'

गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले मुकुण्डोको बनाउन वर्षेनी १५ हजार दिँदै आएको जानकारी दिँदै सो रकम अपुग भएको स्वीकार गरे। प्रमुख सुवेदीले भने 'गुठीबाट दिइरहेको रकम  अलि अपुग हो तर उनले मागेको रकम गुठीबाट उपलब्ध गराउनु अलि सम्भव छैन। उनको मागलाई  केन्द्रमा पठाएको छु गुठीले बेवास्ता गरेको छैन। उनको माग पुरै पूरा नहोला तर केही केही सम्बोधन भएर आउन सक्छ।'

विसं २०२० सालदेखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आएका चित्रकार अहिले ७१ औं वसन्त पार गर्ने तरखरमा छन्। उनले धर्म संस्कृतिको जगेर्नाको लागि मात्र मुकुण्डो बनाउन नछोडेको स्पष्ट पारे। उनले उमेरले समेत साथ छोड्दै ल्याएकाले आफू पछि कसले मुकुण्डो बनाउँछ भन्ने चिन्ता लाग्न थालेको बताए। सम्बन्धित निकायले चासो दिएर आवश्यक रकमको बन्दोबस्त गरिदिए मुकुण्डो बनाउन नयाँ पुस्ता आकर्षित हुने, नभए आफूसँगै मुकुण्डो बनाउने कार्य लोप हुने भयले सताउन थालेको उनले बताए।

नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी बोक्ने को? यो पेशालाई निरन्तरता दिने कसले? उनको प्रश्न छ। उनले भने, 'अरुको त के कुरा गर्ने मेरो छोराहरुले नै यस कार्यलाई निरन्तरता नदिने भन्छन्। यसको निरन्तरताको लागि सम्बन्धित निकायहरुले आवश्यक आर्थिक सहयोग गर्ने भए यो कार्यलाई निरन्तरता दिने नत्र सकिन्न। नवदुर्गा भगवान् सबैलाई चाहिने, नवदुर्गाको मोहनी (विशेष प्रकारको कालो टीका) सबैलाई चाहिने तर यसको बारेमा कसैले चासो नदिने?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.