|

विराटनगर : भारतले बाढीले क्षतिग्रस्त बनाएको जोगवनीको रेल्वे लाइन मर्मत युद्धस्तरमा अघि बढाएको छ। केही दिनअघिदेखि बाढीले क्षतिग्रस्त जोगवनीदेखि ४ किलोमिटरसम्मको रेल लाइनमा ६ सयबढी मजदुर खटाएर निर्माण र मर्मतको काम तीब्र पारेको हो।

बाढीका कारण भारतको जोडवनीसम्म आउने रेल अहिले बन्द छ। बीचबीचमा रेलको लिकमुनि भ्वाङ परेको छ भने कतिपय स्थानमा लिक झुण्डिएको अवस्थामा छ।

नेपाली सीमासम्म चल्ने नर्थ इस्ट रेल्वे अन्तर्गतका रेल सेवा सञ्चालन हुने ठाउँको लिक, कल्भर्ट र पुल नै बगाएको छ। बथनाहा र त्यस दक्षिणको भारतीय बजार फारबिसगञ्जसम्म धेरै ठाउँमा रेल्वे ट्राक बिच्छाइएको बाँध नै बाढीले भत्काएर फलामको लिक र त्यसलाई अड्याउन जोडिएको पक्की पिलर खाल्डोमाथि झुन्डिएका छन्। रेल लाइन निर्माणमा खटिएका मजदुरका अनुसार अबको १५ दिनभित्र रेल सेवा विस्तार हुनसक्ने छ ।

जोगबनी रेल्वे कार्यालयका अनुसार नेपाली सीमाबाट भारतको राजधानी दिल्लीका लागि दैनिक एउटा वातानुकुलित सीमाञ्चल एक्सप्रेसले सेवा दिँदै आएको छ भने कलकत्ताका लागि हप्तामा तीनवटा र कटिहारका लागि दैनिक ५ वटा रेल जोगबनी आउने गरेका थिए। रेल्वे सेवा बन्द हुँदा नेपालतर्फ ल्याइने औद्योगिक कच्चा पदार्थ र अन्य उपभोग्य वस्तुको आयातसमेत रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.