अस्पतालका निर्देशक भन्छन् : हामीलाई विश्वास गर्नुभयो, खुसी छौँ

|

काठमाडौँ:  सधैँजसो खाली देखिने वीर अस्पतालको भीआईपी उपचार कक्षमा केही दिनदेखि मानिसहरूको चहलपहल र आउजाउ निकै बाक्लिएको छ। गत आइतबार स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल भर्ना भएपछि उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न आउने आफन्त र शुभचिन्तकका कारण भीआईपी उपचार कक्षमा चहलपहल बढेको हो।

१० वर्षअघि पनि मन्त्री पोखरेल वीर अस्पतालको भीआईपी उपचार कक्षमा भर्ना भएका थिए। नेपालकै सरकारी अस्पतालमा भर्ना गरेर उपचार गर्ने पोख्रेल सम्भवत: पहिलो बहालवाला मन्त्री हुन्। मधुमेहका समेत रोगी रहेका मन्त्री पोखरेललाई एक्कासि रुघाखोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन्। उनलाई कडा खालको सिजनल इन्फ्लुएन्जा भएको पुष्टि भएपछि अस्पतालमै भर्ना गरेर उपचार गरिएको हो।

वीर अस्पतालमा राज्यका अति विशिष्ट र विशिष्ट व्यक्तिको उपचारका लागि छुट्टाछुट्टै भीभीआईपी र भीआईपी उपचार कक्ष रहेका छन्। चालु आर्थिक वर्षमा वीर अस्पतालको भीआईपी कक्षमा भर्ना हुने स्वास्थ्यमन्त्री पोख्रेल पहिलो बिरामी भएको अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए।

'सरकारको उच्च ओहदाका व्यक्तिहरूको उपचारको लागि भनेर निर्माण गरिएको यस उपचार कक्षमा ०६२/०६३ पछि त कोही पनि भीभीआईपी र भीआईपीहरू आउनुभएको छैन। भीआईपी कक्षमा भने कहिलेकाहीँ पूर्वमन्त्री, सभासदहरू आउने गर्नुहुन्छ', उनले भने, 'तर बहालवाला मन्त्री भने पहिलो पटक हामीलाई विश्वास गरेर आउनुभएको छ। हामी खुसी छौँ।'

वीर अस्पतालमा मन्त्री पोख्रेलको उपचारका लागि वरिष्ठ फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठसहितको टोली खटिएको छ। मन्त्री पोखरेलले आफ्नो उपचारमा संलग्न चिकित्सकको टिमलाई आफ्नो उपचारमा देखाएको लगावप्रति धन्यवाद दिएका मन्त्री पोख्रेलका प्रेस संयोजक सुनील खड्काले जानकारी दिए।

स्वास्थ्यमन्त्री पोख्रेलले आफूलाई जस्तै अस्पतालमा आउने सबै बिरामीलाई समान व्यवहार गरी सरकारी अस्पतालको सेवाप्रति विश्वास गर्ने वातावरण दिलाउनसमेत चिकित्सकहरूलाई आग्रह गरेका छन्।

मन्त्री पोख्रेल अझै दुई दिन अस्पतालमै

कडा खालको सिजनल इन्फ्लुएन्जासहित निमोनिया र टाइफाइडको समस्या देखिएका कारण मन्त्री पोख्रेल अझै दुई दिन अस्पतालमै रहने निर्देशक डा. बस्नेतले बताए।

उनले भने, 'उहाँलाई कडा खालको सिजनल इन्फ्लुएन्जासहित निमोनिया र टाइफाइड देखिएको छ। यस्तो बेलामा शरीरलाई धेरैभन्दा धेरै आरामको जरुरत पर्छ, बाहिर गएपछि दौडधुपले झन् शरीरलाई अप्ठ्यारो पर्ने हुँदा हामीले अझै दुई दिन अस्पतालमै राखेर उपचार गर्नेछौँ।' बाढीपीडितका लागि महोत्तरीमा सञ्चालित स्वास्थ्य शिविर तथा राहत वितरणमा पुगेर फर्किएलगत्तै मन्त्री पोखरेल बिरामी परेका हुन्।

करिब डेढ वर्षअघि पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल एक साता विशिष्ट कक्षमा बसेका थिए। सांसदहरू कमलादेवी महतो, अम्बिका खवास चौधरी र कमला शर्माले पनि वीर अस्पतालमा उपचार गराएका थिए। केही समय अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी पनि दाँतको उपचारका लागि वीर अस्पताल पुगे पनि भीभीआईपी उपचार कक्षको प्रयोग गरिएको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.