फिचर

'पार्टी काममा यसरी डुबिएछ कि, बिहे भन्ने कुरा त मनमै आएन'
SHARES

भदौ २४, २०७४

    काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्य तथा सांसद जयन्ती राई, ५४ पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष हुन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेकी उनी २०५४ सालको स्थानीय निकायको चुनावमा भोजपुर जिल्ला विकास समितिको उपसभापति हुँदा देशभरी एकमात्र महिला उपसभापति थिइन्। पञ्चायत शासन विरुद्ध भूमिगत रुपमा आन्दोलन गरेकी सांसद राईसँग उनको राजनीतिक र व्यक्तिगत जीवनबारे गरिएको कुराकानीको सारसंक्षेप :

     

    सानो छँदा मञ्जुल, रामेश लगायतका जनवादी कलाकार हाम्रो गाउँको एकजना दाइको घरमा आउर गीत गाउनुहुन्थ्यो। गीत सुन्न जाने क्रममा जनवादी गीतबाट नै कम्युनिष्ट पार्टीप्रति प्रभावित भएँ। उहाँहरुले गाउने गीत अहिले पनि सम्झना छ। 

    हो–हो दाजु ठीकै भन्यौं चित्त बुझ्यो मेरो 

    सामन्तीलाई मास्नलाई लगाउ अब फेरो !!

    विक्रम सुब्बाले गाएको गीत भने यस्तो थियो :-

    याङ्टाङ खोला चाइने जो फनक्कै घुमेको

    गरिब दल्ने चाइने जो जाल कल्ले बुनेको ?

    त्यो बेला छोरी मान्छे स्कुल जान हुँदैन भन्‍ने मान्यता थियो। तर मेरो सौभाग्य, मैले पढ्न पाएँ। बुवा आर्मी हुनुहुन्थ्यो, उहाँकै आग्रहमा म स्कुल जान पाएँ। स्कुल पढ्दादेखि नै राजनीतिमा सक्रिय भएँ। पञ्चायती शासन व्यवस्थामा दलहरु प्रतिबन्धित भएकाले हामी लुकी-लुकी संगठन गर्न जान्थ्यौं। घरमा सम्झाउन पनि गाह्रो थियो, सबै काम भ्याएर बुवाआमालाई खुसी पारेर पार्टीको काम गर्न जान्थेँ। 

    १५ दिनसम्मका लागि हामी पार्टीको काममा जान्थ्यौं। घरमा त्यतिञ्जेल पुग्ने घाँस दाउरा, अन्न ठिक्क पारेर जानुपर्थ्यो। खानेपानी पनि टाढा भएकाले पानीको जोहो गर्नुपर्थ्यो। रातभरी धान कुटेर, पिठो पिसेर जान्थ्यौं। पार्टी काममा जाँदा दिनभरी हिँड्ने अनि रातभरी सांस्कृतिक कार्यक्रम गर्ने गरिन्थ्यो। 

    त्यो बेला पुलिसहरु हाम्रो कामको चियो गरिरहेका हुन्थे। घर परिवारलाई पनि दुःख दिन्थे। घरमा बाहिरबाट ताला लगाएर, भित्र भात पकाएर पनि खान्थ्यौं। पुलिसहरु पछि लागेको लाग्यै गर्थे। कार्यक्रम गर्न ठाउँ-ठाउँ गयो, अलिकति बोल्यो अनि भाग्यो।

    मैले पढाइसँगै पार्टीको कामलाई अगाडि बढाउँदै लगेँ। गाउँकै अन्नपूर्ण माविबाट माध्यामिक तहसम्मको पढाइ सकेपछि भोजपुर सदरमुकामको भोजपुर बहुमुखी क्याम्पसमा आईए भर्ना भएँ। स्नातक र स्नातकोत्तर भने पाटन संयुक्त क्याम्पसबाट पूरा गरेँ। 

    मैले सुरुमा सांस्कृतिक समूह हुँदै अनेरास्ववियुमा काम गरेँ। पछि पार्टीको महिला संगठन अखिल नेपाल महिला संघमा काम गरेँ। प्रमाणपत्र तहको पढाइ पूरा भएपछि २०३७ सालमा अनेरास्ववियु छाडेर अनेमसंघको इलाका र क्षेत्रीय कमिटीमा रहेर काम गरेँ। प्रगतिशील कलाकारको संगठनमा पनि जिल्लास्तरमा काम गरेँ। बहुदल आइसकेपछि २०४७ सालमा पार्टीको जिल्ला कमिटीसँगै अनेमसंघको जिल्ला अध्यक्ष पनि भएँ।  

    राजदोह्रको मुद्दा 

    कम्युनिष्ट राजनीति गरेकै कारण ३ वर्ष राजकाज मुद्दा पनि खेपेँ। २७ दिन पुलिस कष्टडीमा बिताएँ। पार्टीको बैठकबाट हामी सबै ११ जना पक्राउ पर्‍यौं। धेरै जना भएकाले कष्ट भने भएन। सरस्वती भन्ने साथी र म मात्रै थियौं महिला। पक्राउ गरेर भोजपुरबाट हामीलाई विराटनगर लगियो। हामी ११ जनालाई संघसंस्था ऐन अन्तर्गत अञ्चल अदालत धरानमा मुद्दा लगाइएको थियो। त्यो बेला बाटोघाटो र मोटरको सुविधा थिए। हरेक महिना हिँडेरै तारेख धाउन जानुपर्थ्यो।

    त्यो बेला पार्टीको प्रचारप्रसार गर्न पनि साह्रै गाह्रो थियो। अहिलेको जस्तो प्रविधिको सुविधा थिएन। पत्रपत्रिका भन्ने कुरा धेरै टाढाको विषय थिए। कुनै काम गर्न इच्छाशक्ति भएर वा आफूले गर्छु भनेर 'कन्भिन्स्ड' भइसकेपछि केही कुराले नरोक्दो रहेछ। शुरुमा भूमिगत राजनीति गर्नेमा महिलाहरु धेरै कम थिए। सुशीला श्रेष्ठ, यशोदा अधिकारी लगायतका केही महिलाहरुमात्र थियौं। 

    मारे उतै संसार, मरे आफ्नै भनेर हिड्यौं

    राजनीति गर्दा मर्न परे मर्छु भनेर हिड्नुपर्थ्यो। मर्नदेखि डराउनु हुँदैनथ्यो। 'मारे उतै संसार मरे आफ्नै भनेर हिड्थ्यौं।' आमाबुबालाई त डर हुन्थ्यो, उहाँहरु सुतिसकेपछि रातिमा घरबाट भागेर पार्टी काममा हिड्थ्यौं। 

    अहिले बुबा ९३ वर्षको हुनुभयो। ब्रिटिस सेनामा ७ वर्ष जागिर खाएर नाम काटेर आउनुभएको हो। त्यसपछि नेपाल आर्मीमा भर्ती भएर जम्दारबाट पेन्सनमा निस्कनुभयो। आर्मीका मान्छेहरु जागिर (मलाइ) लाइदिन्छु। राजनीति नगर भन्थे तर मैले म जागिर खान गइन। मैले एक वर्ष भने स्कुलमा पढाएँ। पछि होलटाइमर भएर पार्टीमै काम गरेँ।

    त्यो फलामे अनुशासन !

    त्यो बेला राजनीति गर्न अहिले जस्तो खर्च थिएन। हामी पनि खर्चालु थिएनौं। अहिले पो विकृति छ राजनीतिमा। त्यो बेला जनताले पनि हामीलाई माया गर्थे। जे पाक्छ, त्यही खान्थ्यौं। हामीले घरायसी काम पनि सघाइदिन्थ्यौं। त्यसरी नै आर्थिक व्यवस्थापन हुन्थ्यो। खर्च गर्ने धेरै ठाउँ पनि थिएन। जनताले जे दियो त्यही खाएर हिन्थ्यौं। 

    त्यो बेला पार्टीभित्र फलामे अनुशासन थियो। भूमिगत वा अर्ध भूमिगत राजनीति गर्दा पनि कसैबाट पनि मैले हिंसा वा छुद्र व्यवहार भोग्नुपरेन। धेरै जना पुरुष साथीहरुसँग हिँड्दा उहाँहरुले एकदमै सम्मान गर्नुभयो। मैले कुनै दुर्व्यवहार भोग्नुपरेन। गाउँ, समाजले पनि कहिले पनि नराम्रो भन्नुभएन। म आफू पनि हरेक ठाउँमा बलियो रुपमा नै प्रस्तुत हुन्थेँ। 

    राजनीतिको यति लामो यात्रामा मैले भने कुनैपनि खाले अभद्र व्यवहार भोग्नुपरेन। धेरै साथीहरु हुनुहुन्थ्यो, उहाँहरु सबैले सहयोग नै गर्नुभयो। त्यो बेला भएको कडा अनुशासनकै कारण पनि हुन सक्छ। 

    पार्टीले हामीलाई 'आठ कुरा, तीन नियम' सिकाएको थियो। त्यसमा जनतासँग नम्र भएर बोल्ने, सियो धागो समेत फिर्ता दिने, बालीनाली नकुल्चिने, जनतालाई सधैं सम्मान गर्ने, महिलालाई कहिले पनि नराम्रो व्यवहार नगर्ने जस्ता कुराहरु थिए। ती नियम कडा रुपमा पालना गराइन्थ्यो। 

    त्यो भयानक रात

    पार्टी कामको क्रममा धेरैजना हिँड्दा पुलिसले थाहा पाउने हुनाले राति एक्लै पनि हिँड्ने गर्थ्यौं। पार्टीले मलाई आर्थिकको जिम्मा दिएको थियो। एक दिन साथीहरुसँग छुट्टिएर बैठकमा जान हिँडे। लगभग एक घण्टाको बाटो थियो। जेठको महिना। टर्च (लाइट) पनि के भएर बिग्रियो। निकै ठूलो पानी पर्‍यो।

    चारैतिर अध्याँरो छायो। डरलाग्दो जंगल थियो म त जंगलमै रुमल्लिएँ। ४/५ घण्टासम्म पनि बाटो पत्ता लगाउन सकिएन। अरु त केही डर थिएन। पुलिसले भेट्छ कि भन्ने मात्रै डर थियो। ८ बजे भेट्ने भनेको १२ बजे मात्र बैठकस्थलमा पुगेँ। ज्यान लथ्रक्कै भिजेको थियो। खै के ले अल्मलायो थाहै भएन।  

    आएन जनताको दिन

    लामो संघर्षपछि राजनीतिक परिवर्तन त आयो। परिवर्तन पनि भएकै छ तर, हामी जुन आदर्शले राजनीतिमा लागेका थियौं, त्यो स्थापित गर्न सकेनौं। हामीले तल्लो वर्गको अधिकार स्थापित गर्छौ, सबैखाले विभेदहरुको अन्त्य र कोही पनि धनी, गरिब, ठूलो सानो भन्ने हुँदैन, सबै जनताहरु समान हुन्छन् र उनीहरु समान हकको भागीदार हुन्छन् भन्ने थियो। सबैले पढ्न पाउँछन्। सबैले रोजगारी पाउँछन्। त्यो ढंगको समाजको परिकल्पना गरेर आदर्श बोकेर हामी लागेका थियौं।

    तर अहिले बहुदल आइसकेपछि पनि जनताको छोराछोरी माथिल्लो ठाउँमा त पुगे। हामी पनि सांसद भयौं, महिला राष्ट्रपति पनि भएका छन्। विभेदहरु पनि हिजो जस्तो छैन। केही कुराहरुमा त अलिकति परिवर्तन आएको छ नै। तर तल्लो तहका जनताको जीवनमा भने परिवर्तन ल्याउन सकिएन। त्यस कुरामा चाहिँ दुःख लाग्छ। 

    बिहे भन्ने कुरा मनमै आएन

    पार्टी काम भनेपछि ज्यान फालेरै काम गर्ने बानी लाग्यो। त्यसैले अहिलेसम्म व्यक्तिगत जीवनको बारेमा सोच्दै सोचिएन। बिहे पनि गरिन। घरपरिवारबाट बिहेको कुरा अहिले पनि आइरहन्छ। उहाँहरुले चिन्ता, चासो व्यक्त गर्नुहुन्छ। पार्टी काममा यसरी डुबिएछ कि बिहे भन्ने कुरा त मनमै आएन। समाज परिवर्तनका लागि केही गरिन्छ भनेर लागेकोले हो कि बिहेतिर ध्यानै गएन। 

    बिहे गर्नुपर्छ भनेर सबैले भने तर म आफैले यसो सम्झिएँ, बिहे गरिसकेपछि मैले जे काम गरिरहेको छु त्यो पनि ब्रेक गर्नुपर्छ। अन्य साथीभाइहरुलाई हेरेर पनि चित्त बुझाए। मसँगै काम गरेका साथीहरु अहिले कोही पनि सक्रिय राजनीतिमा छैनन्। गाउँमा विद्यार्थी कालदेखि सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय हुँदा मेरा ५/७ जना साथीहरु थिए। अहिले उनीहरु कोही पनि राजनीतिमा छैनन्। सबै बिहेबारी गरेर गृहस्थी जीवनमा बिताइरहेका छन्। 

    बुबाआमाले त एकचोटी माग्न आउदा दिइसक्नु पनि भएको थियो। त्यतिबेला म भर्खरै सात कक्षामा पढ्दैथिएँ। तर मैले त्यसलाई अस्वीकार गरिदिएँ। त्यसपछि उहाँहरुले कहिले पनि भन्नुभएन। बुबाआमाले पनि तिम्रो खुसी गर भन्नुभयो। 

    पार्टीले पनि विवाहका लागि प्रस्तावहरु ल्याएको थियो। छोरी मान्छे भनेको अर्काको भरमा बाँच्छन्, आत्मनिर्भर हुँदैनन्, पराधीन हु्न्छन् भनेर मान्छेहरुले भन्थे। उनीहरु समाजमा आफै बाँच्न सक्दैनन् अरुको सहारा चाहिन्छ भन्थे। मलाइ त्यो सुन्दा अति नै रिस उठ्थ्यो। बिहे गरेर मात्रै छोरी मान्छे बाँच्न सक्छन्? भन्ने प्रश्न उठ्थ्यो। 

    त्यो बेला प्रेमपत्र लेखेर विवाह गर्ने चलन पनि थिएन। पार्टीले प्रस्ताव ल्याउँथ्यो, केटाकेटीको कुराकानी मिलेपछि पार्टीले नै गराइदिन्थ्यो। हुनत विवाह भनेको एकदमै व्यक्तिगत मामला हो। पहिलेदेखि नै विवाहका लागि अरुले केटा ल्याइदिने, हेरिदिने मलाइ मन पर्दैनथ्यो। त्यसकारण बरु गर्दिन भनेर विवाह गरिन। 

    हिजोआज एक्लै भए कि भन्ने महसुस त हुन्छ। तर पनि मैले विवाह नगरेर बेठीक गरे भन्ने चाहिँ लाग्दैन। धेरै आफन्तहरु चिन्तित भएको देख्दा कहिलेकाहीँ दुःख लाग्थ्यो। तर विहे गरेका साथीहरु सबैका राम्रा नराम्रा पक्षहरु त छन् होला नै। यो पनि गर्न हुन्न भन्ने मान्यता चाहिँ होइन।

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

Follow @devikamagar

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]