|
अर्जेन्टिनाका मेसी र उरुग्वेका सुआरेज

काठमाडौं : उरुग्वेसँग बराबरीमा रोकिएपछि साविकको उपविजेता अर्जेन्टिनालाई आगामी विश्वकपमा छनोट हुन थप मुस्किल पर्ने देखिएको छ। विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो।

क्याटलान जाइन्ट बार्सिलोनाका दुई स्टार लियोनल मेसी र लुइस सुआरेज एकअर्काविरुद्ध मैदान उत्रिए पनि दुवैतर्फबाट गोल हुन सकेन। मेसीलाई जसरी पनि रोक्ने रणनीति बनाएको उरुग्वे अर्जेन्टिनासँग १ अंक बाँड्न सफल भयो।

१० टोली सहभागी छनोट चरणमा १५ खेल खेलेको अर्जेन्टिना ६ मा जित र ५ मा बराबरीसहित अंक तालिकाको पाँचौं स्थानमा छ। विश्वकपमा सिधै छनोट हुन शीर्ष ४ भित्र पर्नुपर्छ। सबै खेलको समाप्तिमा पाँचाैं स्थानमा रहने टोलीले प्लेअफ खेल्नुपर्छ। अंकतालिकाको शीर्ष स्थानमा ब्राजिल, दोस्रोमा कोलम्बिया, तेस्रोमा उरुग्वे र चौंथो स्थानमा चिली छन्।

अब अर्जेन्टिनाले भेनेजुएला, पेरु र इक्वेडरसँग एक-एक खेल खेल्न बाँकी छ। बाँकी खेलमा पनि यसैगरी अंक गुमाउने हो भने अर्जेन्टिनाको विश्वकप यात्रा छनोटमै टुंगिने खतरा बढेको छ। विश्वकप आगामी वर्ष रसियामा हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.