सरकारले वास्ता नगरेपछि धार्मिक गुरुको शरणमा पुगे स्थानीय

|

  • सविता जिसी-

सुर्खेत : ‘पछिल्लोपटक भट्टेघारीमा २४ असार ०७४ मा सामान्य आगलागी भयो। स्थानीय गोविन्द सुनारको घरमा लागेको उक्त आगो स्थानीयवासीको  सक्रियतामा निभाइयो, त्यसैले धेरै क्षति हुन पाएन। १४ माघ ०७३ का दिन पहिलोपटक उक्त रहस्यमय आगलागी सुरु भएको थियो। सुरुआती चरणमै उक्त रहस्यमय आगलागी करिब १ महिनासम्म चल्यो।’

सुन्दा पनि अपत्यारिलो लाग्ने उक्त रहस्यमय आगलागीको घटना सुर्खेत बराहताल गाउँपालिका-८ को सत्य घटना हो। समय समयमा रहस्यमय ढंगबाट हुने आगलागीको घटनाबाट साविकको कुनाथरी गाविस वडा नम्बर ९ भट्टेघारी गाउँमा बस्दै आएका करिब १ सय ५० घर परिवारमा अझै पनि त्रास कायमै छ।

१० साउन ०६४मा आएको बाढीबाट घरबारबिहीन बनेर उक्त स्थानमा बस्दै आएका उनीहरुलाई त्यहाँबाट पनि थप सास्ती भएको छ। अधिकांश विपन्न र दलित परिवार बस्दै आएका, उनीहरुले १५ दिनसम्म पनि उक्त रहस्यमय आगलागीको घटना नरोकिएपछि प्रहरीमा खबर गरेका थिए। त्यतिबेला घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्य लगायतको टोली उक्त घटनास्थल पुगेर स्थलगत अवलोकन गरेर फर्किएको थियो।

तर, उक्त टोलीले स्थलगत अनुसन्धान गर्दासमेत यकिन कारण पत्ता लाग्न सकेन। आगलागी सिंगो बस्तीका बीचमा फरकफरक घरमा हुन्थ्यो। अकस्मात आगलागी निस्किन्थ्यो जसले गर्दा आगलागीको घटना थप रहस्यमय भएको अनुगमनमा गएको सरकारी सुरक्षा टोलीले निष्कर्ष निकालेको थियो।

भूतप्रेत भए पनि कारण अरु नै

अधिकांश स्थानीयवासीको आशंका छ, उक्त स्थानमा भूतप्रेत छ, जसले गर्दा बस्तीलाई निरन्तर रुपमा सास्ती थपिरहेको छ। यद्यपि, बस्तीमा भूतप्रेत बसेको कुरामा स्थानीयहरु पनि ढुक्क छैनन्, त्यसैले भन्छन्, ‘हाम्रो आशंका भूतप्रेत भए पनि कारण अरु नै हुन पनि सक्छ।’

घरमा भएको भएको सबै सम्पत्ति आगलागीबाट जलेर खरानी भए पनि आपूmहरु बाध्य भएर खुला चौरमा समेत रात बिताएको अनुभव सुनाउँदै स्थानीय चन्द्रा टमटाले भनिन्, ‘तत्कालै राहत कतैबाट पनि आएन, आगलागी भएको महिना दिन बित्नै लाग्दा रेडक्रसको पहलमा खाद्यान्न र पाल आएको थियो।’  चन्द्राले थपिन्, ‘रहस्मय आगलागीको घटना नरोकिएपछि हामीले प्रहरीलाई खबर गर्‍यौं, त्यसपश्चात अनुगमन पनि भयो तर, कारण पत्ता लागेन, बस्तीभरी आगलागी हुँदैन, छुट्टाछुट्टै घरमा आगलागी हुन्छ, कतिबेला आगो बल्छ भनेर डर लागिरहन्छ।’

२ वटा मन्दिर निर्माण गर्न सहयोग गरिदिनुस्

स्थानीय रामबहादुर हमालले भने, ‘हामी हैरान भइसक्यौं, हाम्रा लागि सरकारबाट कुनै पहल होला भनेर पर्खिंदा पनि कुनै पहल भएन, हाम्रो भोटबाट निर्वाचित जनप्रतिनिधिहरुले चुनावका बेलामा राखेका एजेन्डा पनि बिर्सिए, पहिलो बैठकबाट भट्टेघारीका पीडित बस्तीको व्यवस्थापनका लागि निर्णय गरौँला भनेका थिए तर, त्यसो भएको छैन। हामीलाई राहतको आशा पनि मर्न थालिसक्यो।

सरकारी पक्षबाट न्याय हुने नदेखिएपछि हामी अर्चना बाबा (धार्मिक गुरु) को शरणमा पुग्यौ। आफ्नो क्षमताले पुग्ने जति सामान तयार पारेर पूजाआजा पनि गरेका थियौं, अर्चना बाबा (धार्मिक गुरु)को शरणमा पुगेपछि बस्तीमा आगलागी हुन कम भएको छ।’

हमालले भने, अब २ वटा मन्दिर बनाउनुपर्ने भनेका छन्। तर, हामीसँग साँझ बिहान हात जोर्न पनि मुस्किल छ झन् मन्दिर निर्माणका लागि खर्च कसरी जुटाउने हमालले सरकारबाट अब आफूहरुले अर्चना बाबाको निर्देशनअनुसार भैरव र कालीको मन्दिर निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेको बताए।

सबैतिर समस्यै समस्या

सुन्दा अपत्यारिलो लाग्ने उक्त घटनाको वास्तविक पीडा आपूmहरुलाई मात्रै थाहा भएको पीडितहरुको भनाइ छ। बाढीपीडित बनेर उक्त स्थानमा बस्दै आएका उनीहरुलाई समयसमय हुने अस्वाभाविक आगलागीका कारण झनै पीडा थपिदिएको छ। पहिरोका कारण ९ वर्षअघि सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा पर्ने साविकको तरंगा गाविस वडा नम्बर ६ सिम्लेपानीबाट विस्थापित भएर आएका भट्टेघारी बासी आगलागीले घर जलेपछि झनै समस्यामा परेका हुन्।

आगलागीबाट उनीहरुका टहराका घरसँगै घरमा भएको अन्नपात, लत्ताकपडा र गोठसमेत जलेर आँखैअगाडि खरानी बनेका थिए। २४ माघ ०७३ मा सुरु भएको रहस्यमय आगलागीको घटना सम्झँदै स्थानीयहरु भन्छन् भन्छन्, ‘पहिला बाढीले बस्ती उठायो अहिले आगलागीका कारण समस्यामा छौँ। कतिबेला कताबाट आगो सल्किन्छ भन्ने चिन्ता त छँदै छ, बिहान साँझ के खाने भन्ने चिन्ता पनि भट्टेघारी बासीबाट टाढा हुन सकेको छैन।’

बाढी पहिरोबाट घरबार गुमाएका करिब २ सय बस्ती सुर्खेतस्थित राजनीतिक दल र सरकारी निकायको आग्रहमा भट्ट्ेघारीमा बस्न पुगेका थिए। बस्तीका अधिकांश पुरुषहरु गुजाराका लागि कमाइ गर्न भारतका विभिन्न स्थानमा छन्। घरमा महिला, बालबालिका र वृद्धवृद्धाबाहेक कोही पनि छैनन्। त्यसैले असुरक्षा त छँदै छ, बालबालिकाहरुलाई कक्षा ५ भन्दा माथिको शिक्षाका लागि दैनिक ४ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता पनि छ।

संसद्ले पनि सुनेन आवाज

भट्टेघारी सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिका ८ मा पर्छ। बराहताल गाउँपालिका सुर्खेतका ३ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा पर्छ। ०७० मा भएको संविधानसभाको निर्वाचनबाट विजयी भएर सुर्खेत क्षेत्र नम्बर ३ को प्रतिनिधित्व गर्ने सांसद हुन्, तप्तबहादुर विष्ट।

उनले पछिल्लो ४ महिनाको अवधिमा मात्रै भट्टेघारीमा भएको उक्त रहस्यमय आगलागीको घटनाको विषयमा व्यवस्थापिका संसदमा २ पटक कुरा उठाइसके। सांसद विष्टले उक्त कुरा गम्भीरतापूर्वक लिएर तत्कालै आवश्यक पहलका लागि व्यवस्थापिका संसदमा उठाए पनि उनीहरुको उद्धार र सहयोगका लागि सरकारले कुनै चासो देखाएको छैन। २ पटक सम्म एउटै विषय उठान गर्दा पनि व्यवस्थापिका ससदले नसुन्दा भट्टेघारी घटना संसदले नसुनेको आवाज बन्न पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.