|

  • मिलन विश्वकर्मा-

पाल्पा : बेथल बोर्डिङ्ग स्कुल तानसेन पाल्पा ब्रिटिस काउन्सिल इन्टरनेसनल स्कुल अवार्ड (आइएसए) हात पार्न सफल भएको छ। विद्यालयले राम्रो गतिविधि गरेबापत नेपाल सरकार शिक्षा मन्त्रालयको समर्थनमा ब्रिटिस काउन्सिले सम्मानस्वरुप यो अवार्ड दिएको हो।

यो अवार्ड पाउनको लागि विद्यालयका विद्यार्थीहरुले विभिन्न रचनात्मक काम गरेर देश तथा विदेशका सयभन्दा बढी विद्यालयसँग प्रतिस्प्रर्धा गरेका थिए। ११ वटा काम तथ्यसंगत ढंगले गरेर प्रतिस्पर्धा गरेको विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले बताए। झण्डै एक वर्षसम्म हात धुने तौरतरिका देखि परम्परागत संस्कृतिको समेत विद्यार्थीले अध्ययन अनुसन्धान गर्नुका साथै अन्य उत्कृष्ट रचनात्मक काम गरेका थिए।

विद्यार्थीहरुले जिल्लामा पुरानो संस्कृति झल्कने कौडा भाका र नाचको महत्व, नेपालमा मनाइने दशै र भारतको पञ्जावमा मनाइने दशैको बारेमा अध्ययन अनुसन्धान गरेका थिए, यस्तै पहिरो किन जान्छ ? यसको रोकथाम गर्न के गर्नुपर्छ भन्नेबारे स्थलगत अवलोकन गरेका थिए भने उनहिरुलाई बुटिक तालिम पनि दिइएको थियो।

तालिम पश्चात गाउँगाउँमा पुगेर उनिहरुले सर्वसाधारण नागरिकलाई सिप सिकाउने काम पनि गरेका थिए। फालिएका कागज र प्लाष्टिकका बोतललाई पुनः प्रयोजनमा ल्याउन सकिने तौरतरिकाबारे उनिहरुले उत्कृष्ट गतिविधि गरेकाले अवार्ड पाउन सफल भएको कार्यक्रम कोर्डिनेटर तथा शिक्षक महेन्द्र पोख्रेलले जानकारी दिए।

यस्तै नेपालको रेडक्रस, पाल्पाको रेडक्रसले गर्ने कामको बारेमा अध्ययन गरेर विदेशका विद्यार्थीहरुलाई जानकारी गराएका थिए।आफूहरुले गरेका गतिविधि बारे विदेशका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जस्ताको तस्तै देखाउने गरेको कक्षा आठमा अध्ययनरत छात्र संगम बश्यालले बताए। उनले विदेशका विद्यार्थीहरुले गरेका गतिविधिबारे आफुहरुलाई पनि जानकारी गराएको सुनाए। यसरी अनुभव आदानप्रदान गरेर विदेशको रहनसहन र त्यहाँका गतिविधि थाहा पाउँदा अतिरिक्त ज्ञान प्राप्त भएको बताए।

 पाठ्यक्रममा आधारित कनेक्टीङ क्लास रुम परियोजना अन्तर्गतको इन्टरनेसनल स्कुल अवार्डको लागि विद्यालयले विस्तृत परियोजना कार्य प्रस्तुत गरेको थियो। उत्कृष्ट प्रस्तावको आधारमा वेथल बोर्डिङ स्कुलले यो परियोजना प्राप्त गरेको प्रिन्सिपल सारुले बताए। उनका अनुसार यो अवार्ड स्कुललाई दिने गुणस्तरीय अंक हो।

यसले स्कुलहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षणको लागि सहयोग गर्नुको साथै विद्यार्थी तथा शिक्षकहरुलाई विश्यव्यापी समाजमा अन्य देश, अर्थतन्त्र र संस्कृति तथा नविनतम शिक्षण पद्धती अपनाउन सहयोग गरेको प्रिन्सिपल सारुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.