|

दार्चुला : सातवर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा राष्ट्रिय सडक सञ्जालमा जोडिने दार्चुलावासीको आशा निराशामा परिणत भएको छ।

सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, आवश्यक वस्तु चीनबाट सहजै आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुग्न सकिने र समग्र दार्चुलाले काँचुली फर्ने जिल्लावासीको सपना थियो। तर सडक निर्माणको जिम्मा पाएका कार्यालय र निर्माण व्यवसायीको लापरबाहीका कारण सडकले गति लिन नसकेको हो ।

एक सय ४० किलोमिटर सडक सात वर्षमा जम्म १८ किलोमिटर मात्रै खुलेको छ। सो ट्रयाकसमेत गाडी गुड्ने अवस्थामा छैन। आर्थिक वर्ष २०६६\६७ मा सरकारले यो सडक निर्माणलाई प्राथमिकतामा राख्दै शुभारम्भ गरेको थियो। आर्थिक वर्ष ०७५\ ७६ सम्ममा एक सय ४० किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तर निर्धारित समय सकिन दुई वर्ष बाँकी रहँदा १८ किलोमिटर मात्र ट्रयाक खुलेको छ।

दार्चुला–तिंकर सडक निर्माणका लागि बिनियोजित बजेट पनि खर्च भएको छैन। दार्चुला–तिंकर सडकका लागि विगतका चार आर्थिक वर्षमा सरकारले ७० करोड ९४ लाख ८१ हजार रुपैयाँ विनियाजन गरेको छ। तर खर्च भने २२ करोड ९३ लाख ८० हजार रुपैयाँ मात्रै भएको छ। चार वर्षमा यो आयोजनाका लागि विनियोजित रकममध्ये ४८ करोड एक हजार रुपैयाँ फिर्ता भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.