|

सविता जिसी-

सुर्खेतः लिंग पहिचान गरी गरिने गर्भपतनमा न्यूनीकरण गर्ने चर्को बहस चलिरहँदा सुर्खेतमा हरेक वर्ष गर्भपत गर्नेहरूको संख्यामा वृद्धि भएको छ।

गर्भमा रहेको बच्चाको पहिचान गरी छोरी भएको खण्डमा गर्भपतन गर्ने कार्यलाई न्यूनीकरण गर्नका लागि सुर्खेत वीरेन्द्रनगरलाई कार्य क्षेत्र बनाएर काम गरिरहेका दर्जनौँ सरकारी तथा गैरसरकारी संस्थन र निकायको अभियानलाई गलत सावित गर्दै गर्भपतन गर्ने जोडीहरूको संख्यामा वृद्धि भएको सरकारी तथ्यांकले नै देखाएको हो। 

पछिल्लो समय गर्भमा रहेको बच्चाको पहिचान गरी हुने गर्भपतनलाई रोक्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरसहित जिल्लाभर हरेक दिनजसो बहस र छलफलका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। तर जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको तथ्यांकअनुसार गर्भपतन गर्नेको संख्या भने बढिरहेको देखिन्छ।

पछिल्लो एक वर्षको अवधिमा मात्रै जिल्लाभर दुई हजार ४६८ जनाले गर्भपतन गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ जनाले वृद्धि भएको हो। संख्यात्मक हिसाबले ६३ जना वृद्धि भएको देखिए पनि हरेक वर्ष गर्भपतन गर्नेहरूको संख्या वृद्धि हुनु सुखद पक्ष नरहेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त अधिकारीको भनाइ छ। 

अहिले सुर्खेत जिल्लाबाट छवटा सरकारी स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी वसन्त अधिकारीका अनुसार वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत, प्राथमिक स्वास्थ्य चौकी सालकोट, दशरथपुर प्राथमिक स्वास्थ्य चौकी, मेरी स्टोप सेन्टर वीरेन्द्रनगर, छिन्चु स्वास्थ्य चौकी, लेखपर्सा स्वाथ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको छ।

यसरी हरेक वर्ष जन्मिने शिशुहरूको संख्यामा छोराको तुलनामा छोरीहरूको संख्या संख्यात्मक रूपमा कम छ। जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷०७४ मा एक् हजार ८८९ जना छोरा जन्मिएको तथ्यांक छ भने एक हजार ७४० जना मात्रै छोरीले जन्म लिएका छन्।

यता, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको तथ्यांकअनुसार छोराको संख्या एक हजार ७०४ रहेको छ भने छोरीको संख्या एक हजार ४१८ जना मात्रै रहेको छ। 

के भन्छन् सरोकारवाला?
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले बालिकाको सम्मानका लागि वीरेन्द्रनगर नगरपालिकाले पहिलो बैठकबाट नै बालिका वचत कार्यक्रम ल्याएको भन्दै यसको निरन्तरताले पनि केही हदसम्म बालिकाप्रति सम्मान थपेको बताएका छन्। 

नगर प्रमुख सुवेदीले कानुनलाई आड बनाएर कतिपय व्यक्तिहरूले पहिचान गरेरै भ्रुण हत्या गरिरहेको भन्दै व्यक्ति स्वयंले नै छोरा र छोरीप्रति समान व्यवहार गर्नुपर्ने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘छोरीको पहिचान गरेरै गर्भपतन भएको छ, गर्भपतन सुरक्षित असुरक्षित जे भए पनि कहाँ, कसरी र कहिले हुन्छ, कुनै जानकारी हुँदैन। त्यसैले पनि यस्तो काम रोक्न गाह्रो देखिएको हो।’ पहिचानका आधारमा हुने गर्भपतनलाई रोक्नका लागि नगरपालिका रणनीति बनाएर लाग्ने दाबी गर्दै छोरीको भ्रुण हत्या गर्नेहरूलाई कानुनी कठघरामा उभ्याएरै छोड्ने दाबी पनि उनले गरे।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अहिले पनि समाजले महिलालाई विश्वास गर्न नसकेका कारण बालिकाहरू गर्भबाट दिनहुँ मर्नुपरेको भन्दै महिलाहरूको क्षमता बुझ्न नसक्नु समाजको गल्ती भएको बताइन्।

वीरेन्द्रनगर नगरपालिका– १६ का वडा अध्यक्ष नन्दलाल शर्मा समयअनुसार नीति र नियमसमेत परिवर्तन गरेर लैजानुपर्ने आवश्यकता रहेको औँल्याउँछन्। उनले नियम र कानुनको समेत अटेर गरेर गर्भपतन गर्नेहरूलाई कडा कानुनको व्यवस्था हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.