|

काठमाडौं : प्रदेश २ मा २ असोजमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगाउन बसेको बैठक टुंगोमा पुग्न नसकेपछि कार्यकर्ताको दबाब छल्न नेपाली कांग्रेसले बैठक स्थल नै परिवर्तन गर्न थालेको छ।

टिकट टुंगो लगाउन भन्दै एक सातादेखि बसेको बैठक स्थलमा नेता तथा कार्यकर्ताको भीडले चाडो टुंग्याउन दबाब दिएपछि टिकटको अन्तिम टुंगोको जिम्मेवारी पाएका नेताहरू बैठकस्थल परिवर्तन रणनीतिमा जुटेका छन्। पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारको टुंगो लगाउन भन्दै प्रदेश २ का केन्द्रीय सदस्यदेखि क्षेत्रीय सभापति र उम्मेदवारका आकांक्षीसम्मलाई राखेर बैठक गरिए पनि सहमति जुट्न सकेको छैन।

प्रतिस्पर्धी दलले उम्मेदवार टुंगो लगाएको भन्दै कांग्रेस नेतृत्वमा चर्को दबाब परेपछि दबाब छल्न आइतबारसम्म धेरैपटक बैठकस्थल परिवर्तन भएका छन्। एक साताभित्र उम्मेदवार छनोट सक्न भन्दै बसेको बैठक पार्टी कार्यालयदेखि टोखास्थित महामन्त्री शशांक कोइराला निवास हुँदै सानेपामा रहेको मोक्ष रेस्टुरेन्टसम्म पुगेको हो। कांग्रेस स्रोतका अनुसार बैठकस्थलमा नेता तथा कार्यकर्ता र आकांक्षी उम्मेदवारहरूको भीड लाग्न थालेपछि नेताहरू बैठक स्थल नै परिवर्तन गर्न बाध्य भएका हुन्।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनअघि नै टिकटको टुंगो लागेको र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा राजधानी फर्किएलगत्तै नाम सार्वजनिक हुने बताएका थिए। तर उम्मेदवारको अन्तिम नाम टुंगो लगाउने आधिकारिक जिम्मेवारी पाएका नेताहरू नै आफ्ना पक्षका उम्मेदवारहरूको नाममा लबिङ गर्न थालेपछि नेताहरू स्थान फेर्दै बैठक बस्न थालेका हुन्। कांग्रेसले उम्मेदवारको छिनोफानो गर्ने अधिकार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई दिएको छ।

शनिबार र आइतबार बिहान भएका बैठकमा महामन्त्री कोइराला असन्तुष्टि राखेर बैठकबाट बाहिरिएपछि भने पुनः बैठक बस्न सकेको छैन। महामन्त्री कोइराला कार्यक्रम भन्दै आइतबार उपत्यकाबाट बाहिरिएपछि उम्मेदवार टुंगो लगाउने विषय थप जटिल बनेको छ।

कांग्रेस नेता तथा प्रदेश २ बाट केन्द्रीय सदस्य निर्वाचित रमेश रिजालले केही स्थानीय तहमा प्रमुख टुंगिए पनि केहीमा उपप्रमुखमा विवाद देखिएको बताए। उनका अनुसार केही स्थानीय तहमा भने प्रमुख र उपप्रमुख नै टुंगिन सकेको छैन। बारा, पर्सा, धनुषा जिल्लाका धेरैजसो स्थानीय तहमा कांग्रेसलाई उम्मेदवार टुंग्याउन हम्मेहम्मे परेको छ। पर्साको वीरगन्ज महानगरपालिकामा उपप्रमुखमा विवाद छ।

प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये कांग्रेसले आठ स्थानीय तहमा प्रमुख र उपप्रमुख टुंगो लगाउन सकेको छैन। यस्तै, १४ तहमा तालमेल गर्ने सम्भावना रहेका कारण केहीमा प्रमुख टुंगिएको छ भने केहीमा उपप्रमुख टुंगो लगाउन बाँकी छ।

बाराको जितपुर सिमरा उपमहानगरमा प्रमुख र उपप्रमुख नै टुंगिएको छैन भने कलैया उपमहानगरमा पनि दुवै पदमा टुंगो लागेको छैन। यस्तै निजगढ नगरपालिकामा पनि दुवै पद टुंगिएको छैन। सर्लाहीका केही स्थानमा दुवै पदमा टुंगो लागेको छ भने केहीमा विवाद कायम छ।

यस्तै धनुषा, सिरहा र सप्तरीमा समेत केहीमा बाँकी छ। केहीमा एक पदमा टुंगो लागि सकेको छ। नेता र गुटैपिच्छे नै भाग खोज्न थालेपछि निर्णय हुन नसकेको कार्यकर्ताहरूले गुनासो गरेका छन्। यसअघि कांग्रेसले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनका क्रममा भएका गल्तीबाट पाठ सिक्दै समयमा नै उम्मेदवार टुंगो लगाउने प्रतिबद्धता जनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.