लोकप्रियताका लागि मात्रै त नहोला नि?

|

काठमाडौं : के तपाईको घरमा एक्कासी बत्ती जाने, पटक पटक विद्युत प्राधिकरणमा फोन गर्दा पनि समस्या समाधान नहुने भएको छ? महसुल बाहेकको रकम नबुझाएकै कारण तपाईको उद्योगमा बत्ती काटिएको त छैन? महसुल तिर्ने क्रममा कर्मचारीले दुख दिएका छन् कि?

तपाईका यी समस्या एकै फोनका भरमा समाधान गर्ने प्रयास उर्जा मन्त्रालयले गरेको छ। उर्जा मन्त्रालय, विद्युत विकास वोर्ड, नेपाल विद्युत प्राधिकरणबाट उपभोक्ता तथा लगानीकर्ताहरुलाई अनावश्‍यक दु:ख दिएको पाइएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले हटलाइन (सिधै मन्त्रीलाई फोन गर्न मिल्ने) व्यवस्था गरेका छन्। सोमबार उर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरी पैसा लगान्ने नम्बर  ११५१ मा फोन गरेर उजुरी र गुनासो गर्न मिल्ने व्यवस्था गरेको जानकारी दिएको छ। 

मन्त्री महेन्द्रबहादुर शाहीका अनुसार यी समस्या सुन्नको लागि २४ घण्टा नै कर्मचारीको व्यवस्था गरिएको छ। प्रत्येक दिनको एक पटक मन्त्री स्वयंले समस्या र गुनासो सुन्ने र सरोकारवालाहरुको ध्यानाकर्षण गराउने योजना बनाएका छन्। 'सेवाग्राहीलाई तपाईको काम यस कारणले भएको छैन र यति दिनमा हुन्छ भन्ने विषयमा जनकारी गराउने वा तत्काल समस्याको संबोधन गर्ने सरकारको दायित्व हो, यो हामीले गर्छौ' मन्त्री शाहीले भने।  

लोकप्रियताका लागि मात्रै त नहोला नि?

सरकारले सेवाग्राहीको भीड हुने धेरै कार्यालयमाहरुमा यस्ता हटलाइन फोनको व्यवस्था गरेको छ। नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा हेलो सरकारमा पनि गुनासो र उजुरी गर्न सकिन्छ। अहिले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत हटलाइनको व्यवस्था गरेको छ। यसरी हेर्दा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा हटलाइन सेवा सुरु गर्ने धेरै निकाय भइसकेका छन्। 

सामान्यतय तीन अंकको फोन सेवालाई हटलाइन भन्ने गरिन्छ। नेपाल प्रहरीको १००, नेपाल टेलिकमको १९७, १९८, ट्राफिक प्रहरीको १०३ लगायतका नम्बर हटलाइन टेलिफोन हुन्। तर हिजोआज लोकप्रियताको लागि धेरै हटलाइनहरु सुरु भएका उपभोकता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन्। 'सेवा सुरु हुन्छ, २/४ दिन गुनासो थुप्रिन्छ अनि समाधान नभएपछि कसैलाई वास्तै हुदैन' बानियाँले थाहाखबरसँग भने।

हेलो सरकारमा गरिएका गुनासो समेत सम्वोधन हुन नसकेको अवस्थामा अन्य निकायहरुले गर्ने सेवा खासै प्रभावकारी नहुने बानिया बताउँछन्। 'सेवा दिन्छु भन्ने कुरा ठीकै हो तर, सरकारले आधिकारी रुपमा सुरु गरेको हटलाइनबाट गरिएका गुनासो समेत सम्वोधन नभएको अवस्थामा अरु निकायले लोकप्रियताको लागि मात्रै सुरु गरेको जस्तो देखिन्छ' बानियाँले भने।

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर खगेन्द्र शाही एकै निकायलाई सबैतिरका विषयवस्तुको गम्भीर्यता थाहा नहुने हुनाले सरकारी निकायमा पनि छुट्टाछुट्टै हटलाइन सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउँछन्। 'सेवा दिन्छु भन्ने तर नदिने गर्नु सेवाग्राहीलाई झुक्याउने काम मात्रै हो तर एक निकायमा भन्दा फरक फरक क्षेत्रमा यसरी सेवा विस्तार गर्नैपर्छ, विषयको गम्भीर्यता समेत सम्वन्धित निकायमा कर्मचारीले बुझेका हुन्छन्' शाहीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.