उच्च मनोबल र भव्य तयारीका साथ प्रदेश २ मा जाँदै छौँ: नेताहरू

|

काठमाडौँ: स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

सत्तारुढ दलले दुई नम्बर प्रदेशलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कमजोर पकड रहेको क्षेत्रका रूपमा हेरिरहेका बेला एमाले भने सत्तारुढको महागठबन्धनको बीचमा पनि दुई नम्बर प्रदेशमा एक्लै चुनावी मैदानमा उत्रिँदै छ।

चुनावका लागि के छ त एमाले रणनीति? एमाले महासचिव ईश्वर पोखरेल सत्तारुढ दलहरूको गठबन्धलाई निर्वाचनका लागि एमालेविरुद्धको अनौठो महागठबन्धनको संज्ञा दिएका छन्। नेता पोखरेलले सत्तारुढ दलको गठबन्धनका बीचमा पनि एमाले पहिलो पार्टी हुने दाबी गरे। 'अहिले एमालेविरुद्ध महागठबन्धन बनेको छ। अनौठो खालको महागठबन्धनमा देशभित्र मात्र नभएर देशबाहिरका पनि समावेश छन्', पोखरेलले भने, 'यो देशहितविरुद्धको गठबन्धनलाई त्यहाँका जनताले पनि मनपराएका छैनन्। उनीहरूसँग एमाले डटेर प्रतिस्पर्धा गर्दछ र असोज २ गतेपछि पहिलो पार्टी बन्नेछ।'

सत्तारुढ दलले सत्ताको चरम दुरूपयोग गरेको भन्दै उनले तर यसपालि प्रदेश २ का जनताले एमालेलाई नै पहिलो पार्टी बनाउने दाबीसमेत गरे। 'प्रदेश नम्बर २ एमालेको जन्मथलो, कर्मथलो हो, जहाँ एमालेको संगठनात्मक सञ्जाल एकदमै राम्रो छ। जनपरिचालनका हिसाबले पनि एमाले राम्रो भएको क्षेत्र हो यो', महासचिव पोखरेलले भने, 'यसअघिका दुई तहका निर्वाचनमा पनि सत्तारुढ दलले निर्वाचनको चीरहरण गर्दा एमालेले प्रतिवाद गरेको छ। निर्वाचनको सम्मुखमै राजपाका शीर्ष नेताहरू एमालेमा प्रवेश गर्नुभएको छ। यी सबै कारणले एमाले २ नम्बरमा पहिलो बन्दै छ।'

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सम्मुखमा स्थानीय तहको संख्या बढाएर सत्तारुढ दलले अपरिपक्व काम गरेको भन्दै यसले संविधान, कानुन र निर्वाचन आचारसंहिताको खिल्ली उडाएको समेत नेता पोखरेल बताउछन्।

असोज २ गते हुन गइरहेको निर्वाचनमा एमाले आठवटै जिल्लामा प्रभावकारी ढंगले प्रस्तुत हुने बताउँदै उनले वीरगंजदेखि सप्तरीसम्म सबै जिल्लामा बृहत जनसभाको आयोजना गरिनेसमेत बताए।

वीरगंजमा एमालेका उम्मेदवारलाई निशाना गरेर आतंकित बनाउने प्रयास भएको पोखरेलले आरोप लगाए। भने, 'वीरगंजदेखि सप्तरीसम्म हामी बृहत चुनावी जनसभाहरू आयोजना गर्दै छौँ। वीरगंजमा हाम्रा उम्मेदवारलाई टार्गेट गरेर ज्यानको खतरा हुने स्थितीको सिर्जना गरिँदै छ। यो एकदमै गलत, निर्वाचन आचारसंहिताविरुद्ध छ, यसलाई निर्वाचन आयोग र सरकारले ध्यान दिऊन्।'

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले तराईमा रहेको वर्गीय समस्या र सामाजिक विभेदलाई अन्त्य गर्नेगरी निर्वाचनमा जानुपर्ने बताए। यस निर्वाचनमा एमाले ५० प्रतिशत बढी सिट जितेर पहिलो पार्टी हुने रणनीति लिएको भट्टराईले दाबी गरे।

निर्वाचनका सम्मुखमा सत्ता गठबन्धनबाट हुने अनुचित गतिविधिको डटेर सामना गर्ने उनी बताउँछन्। 'चुनावमा राज्यकोषबाट व्यापक दुरूपयोग गरिँदै छ। अनुचित ढंगले भेदभावपूर्ण तरिकाले गरिएका कुनै पनि व्यवहारको डटेर सामना गर्न तयार छौँ, सचिव भट्टराई भन्छन्, 'पहिलो र दोस्रो चरणको निर्वाचन एमालेलाई घेराबन्दी गरेर करिब ४८ प्रतिशत स्थान जितेका छन् तर यस निर्वाचनमा एमालेले त्यस्तो हुन दिँदैन।'

 'यो गठबन्धन गणितमा टिकेको गठबन्धन भएकाले यसको जग बलियो छैन, ढल्ने निश्चित छ। कांग्रेस अरूको बैशाखी टेकेर चुनाव लड्दै छ। यो कांग्रेसको ओरालो गति हो', भट्टराई भन्छन्, 'एमाले प्रदेश २ मा पहिलो भएपछि यी सबै चकित हुन्छन्। हामी उच्च मनोबल र भब्य तयारीका साथ प्रदेश २ मा जाँदै छौँ।'

एमाले प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले एमालेलाई हराउनका लागि प्रदेश नम्बर २ मा गुण्डागर्दी र जालझेल सुरु भएको बताए। 'प्रदेश नम्बर २ मा एमालेलाई हराउनका लागि गुण्डागर्दी र जालझेल सुरु भएको छ। तर गुण्डागर्दी र जालझेलको सामना गरेर एमाले अगाडि बढ्छ', नेता मण्डल भन्छन्, 'हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो। यो निर्वाचनमा एमाले पहिलो पार्टी हुन्छ।'

एमाले सत्तामा हुँदा गरेका काम, राष्ट्रका पक्षमा गरेको काम तथा स्थानीय जनतासँग भएको सद्भाव र प्रेम नै एमाले पहिलो हुने आधार भएको नेता मण्डलको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.