|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–४ का कृष्णबहादुर सापकोटालाई अहिले घर बनाउने चटारो छ। सरकारी मापदण्डमा रहेर भूकम्पप्रतिरोधि घर निर्माणमा जुटेका उनलाई नगरपालिकामा नक्सापास गर्ने प्रक्रियाले भने कहिल्यै नदिएको सास्ती दिएको छ। 

‘घर त बनाउने भनेर लागियो, नगरपालिकामा अरुले नक्सापास गर्न यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेको सुन्दैमा जाँगर मर्न थाल्यो’ सापकोटाले भने –‘घर बनाउन लागि सरकारले दिएको अनुदानको पहिलो किस्ता त नक्सापास गर्दैमा सकिने रहेछ।’

चौतारा साँगाचोकगढी नगरपालिकाका ज्ञानबहादुर श्रेष्ठले बासको जाहो गर्न लागेको दुई वर्ष बितिसक्दा आँट गर्न सकेका छैनन्। भन्छन्,‘पहिले पहिलो किस्ताले अल्झायो, अहिले दास्रो किस्ता कसरी लिने भन्नेमा लागेको छु।’

उनले दुई सालको झरी र चिसो हिउँद टहरामा काटे। ‘अहिलेसम्म घरको जग राख्न सकेको छैन’, उनले भने, ‘जग राख्न लाग्दा अब नक्सा पासले झुलाउने रै’छ।’ मापदण्डविपरीत घर बनाउँदा अरु किस्ता नपाइला भन्ने डर त छँदैछ।

जनप्रतिनिधि र सिडियो भन्छन् नक्सापास सहज हुन्छ
जनगुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र चौतारा साँगाचोगढी नगरपालिकाका नगर प्रमुख अमानसिंह तामाङले नक्सापास प्रक्रियालाई रुपमा सहज बनाउने बताएका छन्। 

‘भूकम्पपीडितलाई घर बनाउन नक्सापास प्रक्रियाले समस्या बनाइराखेको रहेछ, नगरप्रमुखलाई नक्सापास सहज बनाउन भनेको छु’ प्रजिअ तामाङले भने। ‘नागरिककै भोटबाट यो स्थानसम्म आउन सफल हौं, हामीले जनअनुरुप काम गर्नुपर्छ’, नगरप्रमुख तामाङले भने, ‘प्रक्रियालाई सहज बनाउन लाग्छौं।’ नागरिकका काम सहज बनाउने सबै वडाध्यक्षलाई निर्देशन दिने उनले बताए।’

गति लिँदैछ पुननिर्माणले, बन्दैछन् १६ हजार घर
भूकम्पको गएको महिनापछि सिन्धुपाल्चोक जिल्लाका ४ सय ५७ तेस्रो र ९ हजार १ सय ८३ भूकम्पपीडित परिवारले तेस्रो किस्ता पाएको सहरी तथा भवन डिभिजन कार्यालयले जनाएको छ। सरकारी मापदण्डमा रहेर घर निर्माण गरेका पीडितहरूको सिफारिश गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख युवराज पौडेलले जानकारी दिए। 

सिन्धुपाल्चोकमा १६ हजार ९ सय ३९ घर बन्दै गरेका र ५ हजार ६ सय २० घर निर्माण सम्पन्न भइसकेको छ। ७५ हजार ३ सय ४ घरधुरीले अनुदान सम्झौता गरेको भएपनि ७५ हजार १ सय ९१ जनाले पहिलो किस्ता लिएका थिए। ८२ हजार ७ सय ८८ जना लाभग्राही सूचीमा परेका तंथ्याक छ।

‘पछिल्लो सयम सिन्धुपाल्चोकको पुनर्निर्माणले गति लिएको छ। अहिले दोस्रो किस्ताको लागि आउने धेरै छन्। सरकारी मापदण्ड पूरा नभएका घरलाई सिफारिश गरेका छैनौँ। जसले गर्दा पुनर्निर्माण अघि बढेको नदेखिएको हो’, प्रमुख पौडेलले भने।

निर्माण सामग्री अभाव 
सिन्धुपाल्चोकमा सबैतिर पूननिर्माणको लहर चलेको हुनले निर्माण समाग्रीको भाउले आकाश छोएको छ। महंगो मूल्य तिर्दासमेत सहज रुपमा निर्माण सामाग्री पाउन नसकेको पीडितको गुनासो छ। 

घर निर्माणको लागि आवश्यक पर्ने बालुका, इटा, गिट्टी र रडलगाएतको सामान पाइँदैन। लहरको रुपमा सबैले जग बसाउन थालेको भएकाले जनशक्तिको अभाव उस्तै छ। ग्रामीण बस्तीमा घर निर्माण धेरै गर्नुपर्ने भएकाले निर्माण सामग्री पुर्‍याउन समस्या परेको छ। वर्षाले सडक पूरै भत्काएको हुनाले हिउँदमा सडक पुननिर्माणपश्चात् मात्र ग्रामीण भेगका बस्तीमा पुननिर्माणले गति लिनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.