|

गोरखा : बन्द रहेको गोरखकाली रवर उद्योग सञ्चालन गर्नेबारे गोरखाको एक प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ। गोरखाका सांसदहरु चीनकाजी श्रेष्ठ, कमला पन्त, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तसहितको टोलीले उद्योग सञ्चालनको वतावरण बनाउन प्रधानमन्त्रीसँग माग गरेको हो।

छलफलमा प्रधानमन्त्री देउवाले एक दुई दिनभित्रै उद्योग मन्त्री नियुक्त गरी रवर उद्योग सञ्चालनको विषयमा ठोस निर्णय लिने जनाएका छलफलमा सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए। अहिलेको मन्त्रिपरिषदमा उद्योग मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवा मातहत नै रहेको छ।

टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योग गोरखकाली रवर उद्योग २०७१ चैतदेखि बन्द छ। उद्योग बन्द भएपछि कार्यरत दुई सय ४७ जना कर्मचारी तथा मजदुरले पनि तलब पाएका छैनन्। कर्मचारीहरु अहिले पनि विहान १० बजे र साँझ पाँच बजे भने उद्योगमा विद्युतीय हाजिर लगाउन लाइन बस्ने गरेका छन्।

प्रधानमन्त्री देउवाले दशैंअघि मजदुरलाई तलब खुवाउने ब्यवस्था मिलाउने पनि जनाएका छन्। नयाँ उद्योग मन्त्री नियुक्त गरी उद्योगलाई नयाँ संरचना र स्वरुपमा सञ्चालनको पहल गर्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले जनाए।

‘एक दुईदिनमै उद्योग मन्त्री नियुक्त हुनेछन्। त्यसपछि पहिले त कर्मचारी र मजदुरको दशैं मनाइदिनुपर्‍यो। अनि उद्योगलाई कसरी ब्यवस्थित रुपमा चलाउनुपर्छ चलाउँछौं’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै थापाले भने ‘सरकारी ढुकुटीलाई आर्थिक भार पारेर उद्योग बन्द गरेर कर्मचारी, मजुदर पालेर मात्र राखेर काम छैन। पुराना कर्मचारी, मजदुरलाई ‘गोल्डेन हाइण्डसेक’को ब्यवस्था गरेर विदा गर्ने, नयाँ ब्यवस्थापनले उद्योग चलाउनुपर्छ।'

रवर उद्योगमा सरकारको एक अर्ब (३८ प्रतिशत) सेयर लगानी रहेको छ। प्रधानमन्त्री देउवाले रवर उद्योगमा विशेष आर्थिक क्षेत्र लागू गर्नेबारे छलफल भइरहेको पनि जानकारी दिए। गोरखा नगरपालिका १४ मझुवामा रहेको रवर उद्योगको नाममा ६०० रोपनी जग्गा छ। ‘त्यही जग्गालाई उपयोग गरी विभिन्न उद्योग पनि विस्तार गर्न सकिने प्रधानमन्त्रीले विकल्प दिनुभएको छ’ छलफलमा सहभागी अर्का नेपाल कारखाना श्रमिक संघका अध्यक्ष ईश्वर परियारले भने।

रवर उद्योगको २४ घण्टामा ६२४ थान ट्रक टायर र नन ट्रक टायर उत्पादन गर्ने क्षमता रहेको छ। विगत एक वर्षमा ५६ दिनमात्र सञ्चालन हुँदा पनि उद्योगले कर्मचारी, मजदुरको ब्यवस्थापन गरेर नाफा कमाउने गरेको थियो।

प्रधानमन्त्रीसंगको छलफलमा सांसदहरु चीनकाजी श्रेष्ठ र कमला पन्त, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, मजदुर नेता ईश्वर परियार लगायत सहभागी थिए। प्रधानमन्त्रीले उद्योग मन्त्री नियुक्त हुने वित्तिकै उद्योगको निरीक्षणमा आएर काम अघि बढाउने बताएको नगर प्रमुख पन्तले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.