पूरक परीक्षामा पास नभए आफै अगाडि बढ्ने

|

ललितपुर : काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार रञ्जु दर्शना र किशोर थापाले नगर प्रमुख विद्यासुन्दर शाक्य एक सय दिनमै फेल (असफल  भएको दावी गरेका छन्। विवेकशील साझा पार्टीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नगर प्रमुखमा निर्वाचित एमाले उम्मेदवार शाक्य हनिमुन पिरियड (१०० दिन) मा जनतासँग बाचा गरे जसरी काम नगरेर फेल भएको मूल्यांकन गरेका हुन्।

काठमाडौं महानगरपालिकाको अवस्था दिनदिनै बिग्रदै गएको र वातावरण प्रदुषणका कारण स्वास्थ्यका दृष्टिले बस्न लायक नभएको दर्शनाले बताइन्। उनले काठमाडौं महानगरपालिका प्रमुख शाक्यले काठमाडौंलाई बस्न लायक सहर बनाउन कुनै पनि कदम नचालेको आरोप लगाइन्। '१०० दिनमा १०१ काम गर्छु भनेर जुन बढी बाचाहरु आए', उनले भनिन्, 'आफूले जति गर्न सक्ने हो त्यति गरेको भए यतिधेरै आलोचना हुने थिएन।'

नगर प्रमुख शाक्यले जनचासोका र आफूले गरेका बाचाहरु बिर्सेर मोबाइल फोन किन्ने र करौडौंको गाडी किन्ने निर्णयले जनतामा निराशा पैदा भएको दर्शनाले बताइन्। उनले भनिन्, 'कुनै पनि काम नभएको अवस्थामा र बाटोमा खाल्डाखुल्डी जस्ताका त्यस्तै रहेको अवस्थामा करोडौंको गाडी किनेकोमा जनतामा वितृष्णाको बीऊ रोपिएको छ।'

उनले सय दिनसम्म केही गर्ने आशा गरेर चुप लागेको तर केही नभएको बताइन्। सहकार्य गरेर अगाडि बढ्ने बाचा गरेको तर आफूहरुलाई नबोलाएको रञ्जुको गुनासो थियो। उनले नगर प्रमुख शाक्यले सयौं सम्मान थापेको तर १०१ काम गर्ने भनेको कुरा बिर्सेको आरोप लगाइन्। उनले भनिन्, 'स्थानीय शासन ऐन नआएकोले काम गर्न नपाएको गुनासो गर्नुभएको छ तर ऐन नबने पनि गर्न सकिने काम धेरै थिए।'

त्यस्तै तत्कालिन साझा पार्टीबाट नगर प्रमुखको उम्मेदवार रहेका किशोर थापाले विद्यासुन्दरलाई एक सय दिनमा गर्ने भनेका १०१ कामको भारी बोकाइएको बताए। उनले भने, 'निर्वाचन जित्नका लागि विभिन्न समूह, व्यक्ति र पार्टीको सहयोगमा १०१ कामको भारी बोकाइएको हो। यी मध्ये गरेका भन्दा नगरेका कामहरुको लिस्ट लामो छ।'

थापाले आफूहरु विद्यासुन्दरलाई हेरेर मात्रै नबस्ने बताएका छन्। उनले राम्रा काममा सहयोग गर्ने र नराम्रा काममा खबरदारी गर्ने बताएका छन्। उनले काठमाडौंको धुलो सफा गर्ने, सडकपेटी सफा गर्ने र सुधार्ने, यातायात सुविधामा सहजता ल्याउने काम गर्न ऐनले नरोक्ने भए पनि काम नभएको बताए।

रञ्जु दर्शना न्यौपाने विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार बनेर चर्चित भएकी थिइन् र चुनावमा तेस्रो भएकी थिइन् भने पूर्व प्रशासक किशोर थापा रवीन्द्र मिश्रले खोलेको साझा पार्टीबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार बनेका थिए। अहिले दुबै दलबीच एकता भएर विवेकशील साझा पार्टी गठन भएको छ।

हामीले जितेको भए ... 

दर्शना र थापाले आफूले चुनाव जितेको भए अहिलेका प्रमुखले भन्दा बढी काम गरेर देखाउने ठोकुवा गरे। 'म मेयर भएको भए बाचा कम गर्थे, उडन्ते कुरा गर्दैनथे। खाल्डाखुल्डी र धुँवा धुलो नियन्त्रण गर्थे, जसले काठमाडौंको रुप र यहाँका मान्छेको स्वास्थ्य खराब गरेको छ' उनले थपिन्, 'म मेयर भएको भए मेलम्ची खानेपानी र सडक विभागबीच कोअर्डिनेसन गरेर खाल्डो खन्नेलाई नै पुर्न लगाउथेँ।'

उनले आफूले सवारी व्यवस्थापनमा पनि ध्यान दिने बताइन्। आफू निर्वाचित नभएकोले काठमाडौंले पाँच वर्ष विद्यासुन्दरलाई नै प्रमुख मान्नुपर्ने र उनैबाट काम गराउनुपर्ने बाध्यता रहेको बताइन्।

त्यस्तै काठमाडौं महानगरपालिका प्रमुखका अर्का उम्मेदवार किशोर थापाले पनि रञ्जुले जस्तै सडकका खाल्डा पुर्नेदेखि लिएर धुलो सफा गर्ने बताए। उनले भने, 'म मेयरमा जितेको भए रडक पेटीमा ४५ प्रतिशत जनता हिँड्छन् त्यहाँका फुटेका टायल मिलाउथेँ, वृक्षारोपण गर्थे र जेब्रा क्रसिङ सुधार्थेँ।' उनले फोहोर उठाउनका लागि जन आह्वान गर्ने पनि बताए। नागरिकलाई वडा कार्यालयहरुबाट सहज रुपमा सेवा प्रवाह गर्ने योजना भए पनि पूरा गर्न नपाएको बताए। 

विद्यासुन्दरका राम्रा काम!

रञ्जु दर्शना र किशोर थापा काठमाडौंका प्रमुखका १०० दिनको समीक्षा प्रस्तुत गर्दा केही राम्रो काम पनि उल्लेख गरे। थापाले भने, 'क्लिन दी सिटी अभियानको थालनी मलाई मनपर्‍यो। यो साह्रै सह्रानीय काम हो यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ।' उनले अन्य प्रभावकारी काम भने नभेटिएको बताए।

त्यस्तै रञ्जु दर्शनाले नगर प्रमुख शाक्यले जनताको जीवनमा परिवर्तन आउने गरी कुनै पनि काम नगरेको बताइन्। उनले भनिन्, 'ठ्याक्कै सकारात्मक काम भएनन्। आफ्नो लागि करोडौंको गाडी किनियो तर काठमाडौंबासीका लागि त केही भएन।' 

उनीहरु दुबैले आफूहरु काठमाडौं महानगरपालिका प्रमुखका प्रतिपक्षी भएकोले राम्रा काममा सधै साथ दिने तर नराम्रा कामका लागि भने खबरदारी गर्ने बताए। थापाले भने, 'हामीलाई काम दिनुस्, जस तपाई नै लिनुहोला अपजस हामी लिउँला।' उनीहरुले आफूहरु राजनीतिक संस्कार बसाल्नका लागि जितेका उम्मेदवारलाई सहयोग गर्न सधै तत्पर रहेको बताए। 

विद्यासुन्दरको रिजल्ट: फेल!

रञ्जु र किशोरले नगर प्रमुख शाक्य फेल भएको निष्कर्ष सुनाए। १०० मा कति अंक दिनुहुन्छ भन्ने प्रश्नमा रञ्जुले अंक दिन भने मानिनन् तर फेल भएको घोषणा भने उनले नै गरिन्। त्यस्तै किशोर थापाले पनि रञ्जुको भनाइलाई सदर गरे। उनले नगर प्रमुख शाक्यले ३० भन्दा कम अंक ल्याएको बताए।

उनीहरुले नगर प्रमुख शाक्य अझै पास हुने मौका रहेको बताए। भने, 'अबको ३ महिनामा रि एक्जाम दिएर पास हुन सकिन्छ।' यसका लागि निकै धेरै मिहिनेत गर्नुपर्ने रञ्जुको भनाइ थियो। उनले काठमाडौं महानगरपालिका प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई ट्युसन क्लास दिएर भए पनि पास गराउन आफूहरु लाग्ने बताइन्।

थापाले शाक्य रिएक्जाम (पुन परीक्षा) मा पनि पास नभए आफूहरु काठमाडौंका जनतालाई साथमा लिएर अगाडि बढ्ने बताए। उनले आफूहरुलाई ४२ हजार ९ सय ३३ मतदाताले मत दिएकोले उनीहरुको आकांक्षालाई पूरा गर्न अगाडि बढ्ने बताएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.